दल

संघीय निर्वाचन

कतै दिदीबहिनी र दाजुबहिनी उम्मेदवार सिफारिस, कतै बाबुछोरीको घोषणा

इकागज |
भदौ २२, २०७९ बुधबार ९:४ बजे

मकवानपुर - आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिति नजिकिँदै गर्दा मकवानपुरमा चुनावी वातावरण तात्दै आएको छ । राजनीतिक दलहरूले जिल्लाबाट प्रतिनिधि सभा, प्रदेश सभा तथा समानुपातिकको लागि उम्मेदवार बन्ने सम्भावित व्यक्तिहरूको नाम सिफारिस गरिरहेका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आफ्नो घोषणा तथा प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

मकवानपुरमा एकाघरका दिदी बहिनी र दाजु बहिनी उम्मेदवारको लागि सिफारिस भएका छन् । यसैगरी बाबु छोरीले स्वतन्त उम्मेदवारी सिफारिस गरेका छन् ।


राप्रपा मकवानपुरको तर्फबाट प्रतिनिधि सभा सदस्यको  लागि समानुपातिक तर्फबाट दुई दिदीबहिनी इन्दिरा डल्लाकोटी र बालकुमारी डल्लाकोटी सिफरिस भएका छन् । एकै पार्टीबाट डल्लाकोटी दिदीबहिनी सिफारिस भएका हुन् ।

यता नेकपा एमाले र नेपाली काँग्रेसबाट एकाघरका दाजुबहिनीको नाम सिफारिस भएको छ । नेकपा एमालेबाट मकवानपुर १ (१) का लागि आरती पाठकको नाम सिफारिस हुँदा नेपाली काँग्रेसबाट पार्टी सचिवसमेत रहेका इश्वरकुमार पाठक पनि सोही क्षेत्रमा सिफारिस भएका छन् । हाल सिफारिस भएका दुवैजनाले निर्वाचन टिकट पाएमा चुनावी मैदानमा एकै क्षेत्रमा फरक फरक पार्टीबाट दाजुबहिनीको भिडन्त हुनेछ ।

यसैगरी मकवानपुरमा बाबुछोरीले आगामी निर्वाचनको लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

नीति निर्माण तहमा सक्षम युवा भन्ने नाराका साथ मकवानपुरका राकेश कुमार शर्माले प्रतिनिधि सभाको लागि मकवानपुरको क्षेत्र २ बाट उम्मेदवारी घोषणा गरेका छन् । 

शर्माकै छोरी दिपिकाले उहीँ नाराका साथ प्रतिनिधि सभाको लागि मकवानपुरको क्षेत्र १ बाट उम्मेदवारी घोषणा गरेकी छिन् ।
 


Author

थप समाचार
x