दल

प्रचण्ड पार्टी कब्जा गर्नका लागि एमालेसँग मिलेको देवी ज्ञवालीको आरोप

इकागज |
भदौ ३०, २०७९ बिहीबार १९:३९ बजे

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन् । उनले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि नेकपा माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनसायले एकता गरेर कम्युनिष्ट पार्टीलाई विभाजित गरेको बताए ।


ज्ञवालीले एमालेका कार्यकर्ताहरू पार्टीले दिएको निर्देशनअनुसार काम गर्न तयार रहेको बताए । उनले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गरे । उनले चिर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा दिए । उनले चितवनजस्तो पवित्र भूमिमा अबका दिनमा छलछाम गर्न नदिने संकल्प गरे ।

नेकपा (माओवादी केन्द्र) का चितवन सह इन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियार लगायत नेता, कार्यकर्ता आज एमालेमा प्रवेश गरेका थिए । 


Author

थप समाचार
x