दल

जनकपुरधाममा ओलीलाई कालो झण्डा देखाइयो

इकागज |
असोज ८, २०७९ शनिबार १४:४ बजे

जनकपुरधाम - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरूले कालो झण्डा देखाएका छन् ।  शनिबार धनुषाको विदेह नगरपालिकास्थित तिनकौरिया चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुरधाम विमानस्थलबाट रेल्वे स्टेशन जाने क्रममा भानु चोक नजिक उनीहरूले ओलीलाई कालो झण्डा देखाएका हुन । 

कालो झण्डा देखाए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले भने कालो झण्डा देखाउने कसैलाई पक्राउ नगरिएको बताए । 


संसद्‍बाट दुई-दुईपटक पारित नागिरकता विधेयक एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको आरोप लगाउँदै जसपा र नेकपा एस निकट विद्यार्थी संगठन तथा नेता कार्यकर्ताहरूले कालो झण्डा देखाएका हुन्। 

लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालाई आफ्नो पार्टीमा प्रवेश गराउन तिनकौरिया चोक जान ओली विमानबाट जनकपुरधाम र जनकपुरधामबाट रेलबाट यात्रा गर्दै महिनाथपुरसम्म र महिनाथपुरबाट गाडीमा तिनकोरिया चोक गएका हुन् ।
 


Author

थप समाचार
x