दल

दोधारमा माधव नेपाल : काठमाडौँ र रौतहटमा कुन सुरक्षित ?

उपेन्द्र अर्याल |
असोज ८, २०७९ शनिवार १७:३१ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि तीन ठाउँबाट सिफारिस भएका छन् । उनी रौतहट–१ र ४, काठमाडौँ–२ बाट सिफरिस भएका हुन् । कहिले काठमाडौँ, कहिले रौतहट, कहिले दुवैतिरबाट उम्मेदवार बन्ने नेपाललाई यसपटक भने कहाँबाट चुनाव लड्ने भन्ने सकस परेको छ ।

एमाले विभाजन गरेर नयाँ दल बनाएका नेपालसँग एमाले कार्यकर्ता रुष्ट छन् । एमालेजन माधवलाई हराएर पार्टी विभाजनको बदला लिने दाउमा छन् भने माधव गठबन्धनको साथमा जित निकालेर पार्टीको अस्तित्व बनाउने दाउमा देखिन्छन् । अध्यक्षको हारले पार्टीको असफलताको सन्देश दिने भएकाले पनि उनलाई जित्नु अत्यावश्यक छ । त्यसैले उनले यसपटक अघिल्लो पटक जितेको काठमाडौँबाट भन्दा आफ्नो पुरानै क्षेत्र रौतहटबाट चुनाव लड्ने सम्भावना रहेको नेताहरू बताउँछन् ।


२०५६ साल यताका संसदीय निर्वाचन निरन्तर लडेका नेपालको हारजितको श्रृंखला चलिरहेकै छ । ०५६ को आम निर्वाचनमा रौतहट–४ बाट जितेका थिए, नेपालले । उनले कांग्रेसका उद्धव ढकाललाई हराएका थिए । नेपालले २६ हजार मत ल्याउँदा ढकालले १९ हजार १ सय २५ मत मात्रै ल्याएका थिए । ०५६ को निर्वाचनको उनको जित ०६४ को पहिलो संविधानसभा निर्वाचनमा आएर रोकियो । उक्त निर्वाचनमा रौतहट–६ र काठमाडौँ–२ बाट उम्मेदवारी दिएका उनले दुवै ठाउँबाट हार बेहोर्नुपर्‍यो ।

दुवै ठाउँमा उनलाई नेकपा माओवादीका उम्मेदवारले हराएका थिए । रौटहट–६ मा नेपाललाई माओवादीका देवेन्द्रप्रसाद पटेलले हराएका थिए । पटेलले १० हजार ३ सय ३३ मत ल्याउँदा नेपालले ८ हजार ९ सय ८६ मत मात्रै पाएका थिए । काठमाडौँ–२ मा उनलाई माओवादीकै झक्कुप्रसाद सुवेदीले हराएका थिए । उनले १३ हजार ८ सय ५८ मत ल्याउँदा नेपालले १२ हजार ३ सय २५ मात्रै मत पाएका थिए । उनी दुवै ठाउँबाट हार्दासमेत उनलाई मनोनित गरेर सभासद बनाइएको थियो । 

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनले पुरानो हारको बदला लिए । रौतहट र काठमाडौँ दुई ठाउँबाट उम्मेदवार बनेका उनले दुवै ठाउँमा जित हासिल गरे । रौतहट–१ मा  मधेसी जनअधिकार फोरमका अजय गुप्तालाई हराएका थिए । नेपालले ८ हजार ३ सय ६१ मत ल्याउँदा गुप्ताले ८ हजार २३ मत ल्याएका थिए । काठमाडौँ–२ मा नेपाल २१ हजार ७ सय ४८ मत ल्याएर विजयी हुँदा दोस्रो भएकी कांग्रेसकी प्रतिमा गौतमले १२ हजार ४ सय ७५ मत मात्रै पाएकी थिइन् । 

गत निर्वाचनमा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएपछि माधव नेपालले काठमाडौँबाट मात्रै चुनाव लडेका थिए । काठमाडौँ–२ बाट चुनाव लडेका उनले कांग्रेसका उम्मेदवार दिपकप्रसाद कुइकेललाई १२ हजार बढी मतले हराएका थिए । नेपालले २७ हजार ३ सय ६६ मत ल्याउँदा कुइकेलले भने १४ हजार ९ सय ३ मत मात्रै पाएका थिए ।

वडागत मतमा काठमाडौँभन्दा रौतहटमा समाजवादी बलियो

गत स्थानीय निर्वाचनमा आएको मत हेर्दा नेपाललाई काठमाडौँभन्दा रौतहटमै सहज देखिन्छ । रौतहट–१ मा माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गाभगवती गाउँपालिका, राजदेवी नगरपालिका, गौर नगरपालिका पर्छन् । त्यस्तै, गरुडा नगरपालिकाको एउटा वडा र गढीमाई नगरपालिकाका तीन वटा वडा यही क्षेत्रमा पर्छन् ।

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा रौतहट–१ अन्तर्गतका वडाध्यक्षका उम्मेदवारहरूले पाएको मत गणना गर्दा एकीकृत समाजवादी प्रभावशाली सबैभन्दा ठूलो दल देखिन्छ । एकीकृत समाजवादीले १८ हजार ५ सय २५ मत ल्याएको छ । कांग्रेसले १३ हजार ९ सय ४६ मत ल्याएको छ भने एमालेले ७ हजार १ सय १७ मत ल्याएको छ । माओवादी केन्द्रले ५ हजार ६ सय ९१ मत ल्याउँदा लोसपाले १० हजार १४० र जसपाले ७ हजार ६१७ मत ल्याएका छन् । प्राप्त मतअनुसार गठबन्धन नहुँदै पनि समाजवादी बलियो छ । तर, सत्ता गठबन्धनले संयुक्त रूपमा चुनाव लड्ने घोषणा गरेका कारण नेपालको जित निश्चित जस्तै छ ।

काठमाडौँ–२ मा भने सबैभन्दा बलियो दल एमाले छ । यस क्षेत्रमा शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाका ६ वटा वडा र काठमाडौँ महानगरका दुईवटा वडा पर्छन् ।  एमालेले स्थानीय निर्वाचनमा वडामा १७ हजार ३ सय २० मत ल्याएको छ । कांग्रेसले १४ हजार १ सय २८ मत ल्याएको छ । एकीकृत समाजवादीले भने ७ हजार ९ सय ११ मत ल्याएर तेस्रो दल बनेको छ । वडागत मत हेर्दा काठमाडौँ–२ मा सत्ता गठबन्धन बलियो देखिन्छ । एमालेले राप्रपासँगै गठबन्धन गरेता पनि हराउन सकिँदैन ।

तर, माधव नेपाललाई गठबन्धनका अन्य दलले मत हाल्छन् भन्नेमा विश्वस्त हुने ठाउँ छैन । त्यसैले, नेपाल आफूलाई सुरक्षित स्थानतिर लैजादै यसपटक रौतहट फर्कने सम्भावना धेरै छ । काठमाडौँको सट्टा रौतहटबाट चुनाव लड्दा उनलाई जित निकाल्न सहज देखिन्छ ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x