दल

सांसद अपहरण 'प्रकरण'का योजनाकार अरगरिया एमाले प्रवेश

महेश बस्‍नेतको खुलासा : यसकारण गरिएकाे थियो अढाई वर्षअघि पूर्व राज्यमन्त्री डा. यादवको अपहरण

उपेन्द्र यादवको पार्टीलाई आउँदो निर्वाचनसम्म क्षेत्रीय पार्टीमा सीमित गरिदिन्छौँ,

सुभाष कर्ण |
असोज ११, २०७९ मगलवार १७:२२ बजे

जनकपुरधाम– साढे दुई वर्षअघि तत्कालीन समाजवादी पार्टीका नेता एवं पूर्वराज्यमन्त्री डा. सुरेन्द्र यादवलाई रातारात काठमाडौँ पुर्याइयो । तत्कालीन नेकपाका नेता महेश बस्नेत तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महोत्तरी पुगेर २०७७ वैशाख १० गते सांसद यादवलाई रातारात काठमाडौँ ल्याएका थिए । जुन घटनालाई ‘अपहरण’सँग पनि जोडेर हेरिएको थियो । तत्कालीन समाजवादीका नेता डा. बाबुराम भट्टराई, राजेन्द्र महतोसहितका नेताहरूले प्रहरी परिसर टेकु पुगेर जाहेरी समेत दिएका थिए । 

चुनाव नजिकिँदै जाँदा उक्त घटनाले फेरि चर्चा पाएको छ । ‘सांसद अपहरण’ घटनामा जोडिएका एमाले नेता महेश बस्नेतले यसबारे मुख खोलेपछि उक्त घटनाले फेरि चर्चा पाएको हो । शनिबार धनुषाको विदेह नगरपालिकास्थित तिनकोरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले यसबारे मुख खोलेका हुन् । 


लोसपा प्रमुख सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश कार्यक्रममा नेता बस्नेतले अढाइ वर्षअघि तत्कालीन (सपा) हालको जसपा फुटाउन आफू असफल भएको स्वीकार गरेका हुन् । उनले उक्त घटनाका मुख्य योजनाकार अरगरिया रहेको समेत खुलाए । तर यतिखेर अरगरिया एमाले प्रवेश गरेपछि अब सपना पूरा भएको बताए । ‘माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डसँग तालमेल गरी सपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो तत्कालीन नेकपा पार्टीलाई फुटाएर अलग्गै पार्टी खोल्न लागेको सुँइको पाएपछि सपालाई फुटाएर ध्वस्त पार्ने रणनीतिअन्तर्गत पूर्वराज्य मन्त्री डा. यादवलाई काठमाडौ ल्याइएका थियौं,’ उनले भने, ‘अरगरियाको योजनाअन्तर्गत सांसदहरू रेणु यादव, प्रदीप यादव, कुलदेवी विश्वकर्मा, इस्तियाक राई, रेणु गुरुङ र पूर्व राज्यमन्त्री डा. यादवलाई प्रवेश गराएर कमजोर पार्ने योजना थियो । अरु सबै सांसद राजी भइसकेका थिए, तर पूर्वराज्यमन्त्री डा. यादवले मानेका थिएनन् ।’ 

यादव तत्कालीन प्रधानमन्त्री ओलीसँग कुराकानीपछि मात्रै आउने संकेत देखाएपछि सहमतिमै काठमाडौमा ल्याएको उनले बताए । ‘तर सपाका बाबुराम भट्टराईजी पक्षले अपहरणको हल्ला फैलाएपछि योजना असफल हुन गयो,’ उनले भने, ‘आज उमाशंकर अरगरियाको प्रवेशले हाम्रो सपना अब साकार हुँदैछ । घटनाको दुई दिनअघि ओलीज्यूले ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य चाहिने प्रावधान हटाएर २० प्रतिशतमै पार्टी गठन गर्नको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनुभयो । तर, अपहरणको हल्ला चलेपछि सफल हुन सकेनौँ ।’

तर उनले आफूहरूले यादवलाई अपहरण नगरेको बताए । बर्दिवासमा नास्ता, सिन्धुलीमा बदेलको मासु भात र रक्सी खाँदै आएका मान्छेले आफूलाई अपहरण गरेको आरोप लगाउनु नाजायज भएको उनले बताए । 

अरगरियासहित रुही नाज लगायतका सांसद प्रवेश गरिसकेको र विमल श्रीवास्तवजीसहित सो पार्टीबाट केही प्रदेश सांसदहरू आउन लागेकाले तत्कालीन सपा हालको जसपालाई फुटाउन आफूहरू सफल भएको उनले बताए । आफूविरुद्ध षड्यन्त्र गर्ने उपेन्द्र यादवको पार्टीलाई आउँदो निर्वाचनसम्म राष्ट्रिय पार्टीबाट क्षेत्रीय पार्टीमा सीमित गरिदिने चेतावनीसमेत नेता महेश बस्नेतले दिए ।

तत्कालीन प्रधानमन्त्री ओलीले बेमौसममा पार्टी फुटाउने षड्यन्त्र गरे पनि सफल हुन सकेन । उल्टै मधेश केन्द्रित दलहरू एकजुट भएका थिए । न उनले चाहेजस्तो समाजवादी पार्टी फुट्यो, न त पार्टीभित्र उनी बलियो हुन सके । बरु आफ्नै पार्टी नेकपालाई जोगाउन सकेनन् । उल्टै एमाले समेत विभाजित हुन पुग्यो ।

यस्तो थियो घटना

आफ्नै पार्टी नेकपाभित्र चुलिँदै गएको असन्तुष्टिले कमजोर हुँदै गएका तत्कालीन प्रधानमन्त्री केपी ओलीले सरकारलाई बहुमत पु¥याउन जसपा फुटाएर ‘मधेशी फोरम’ नामको नयाँ दल गठन गर्न एमाले नवप्रवेशी तत्कालीन सपाका नेता एवं लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरियाको सहयोगमा योजना बनाइएको थियो ।

नयाँ पार्टी गठन गर्न ओलीले उमाशंकर अरगरियासहितका ६ जना सांसद सबै काठमाडौंको मेरियट होटलमा राखेका थिए । ७ जनामध्ये समाजवादी सांसद डा. सुरेन्द्र यादव मानेका थिएनन् । अन्ततः प्रधानमन्त्री ओली स्वयंले वैशाख ९ गतेका दिन डा. यादवलाई मन्त्री बनाउँदै मन्त्रालय दिने भनी मनाएको घटनामा संलग्न तत्कालीन सपाका एक नेता बताउँछन् ।

सपा सरकारमा छँदै अध्यक्ष यादवसँग सांसदहरूबीच चिसिएको सम्बन्ध सुधार नभएपछि प्रधानमन्त्री ओलीले उक्त अवसरलाई सदुपयोग गर्न नयाँ पार्टीलाई एक मन्त्री, राज्यमन्त्री र उपसभामुखसम्म दिन सकिने प्रलोभन देखाएर अरगरियाको सहयोगमा सपा फुटाउने रणनीति बनाएका थिए । 

डा. यादवबाहेक सबै सांसद काठमाडांैमै भएको कारण उनलाई जनकपुरबाट काठमाडौं लगिएको थियो । तर काठमाडांै नपुग्दै अपहरणको हल्लाले मध्यरातै समाजवादी र राजपा एकीकरण भएपछि यादवको ‘मुड चेन्ज’ भयो । ‘मधेसी फोरम’ लिगेसीको नयाँ पार्टी बनाउने योजना रातारात तुहियो ।

नयाँ पार्टी गठनको योजनाकार उमाशंकर अरगरिया भए पनि नेतृत्वमा नेतृ रेणु यादवको दाबी रहेको थियो । उनले मेरियट होटलमा आयोजना गरेको असन्तुष्टहरूको भेलामा नेपालगन्जबाट पार्टी सचिव एवं सांसद इस्तियाक राई मधेश प्रदेश मुख्यमन्त्री लालबाबु राउतसँगै हतार–हतार काठमाडौँ पुगेका थिए । 

विभाजनका योजनाकार अरगरिया नेतृ यादवसँगै काठमाडौँमै थिए । त्यहीबाट डा. यादवलाई पनि सहजै ‘कन्भिन्स’ गराए पनि डा. यादवले प्रधानमन्त्रीलाई भेटेर मन्त्रीको आश्वासन लिएर मात्र विभाजनमा हस्ताक्षर गर्ने भनेपछि कोरोना संक्रमणले लकडाउन भएको कारण उनलाई लिन बस्नेत जनकपुर आएका थिए । प्रदीप यादव, कुलदेवी विश्वकर्मा र रेणु गुरुङ पहिलादेखि नै काठमाडौँमा थिए ।

पार्टी एकताको खबरले मेरियट होटलमा बन्दै गरेको नयाँ पार्टीको योजना तुहाइदियो । डा. यादवले अन्तिम समय धोका दिएको असन्तुष्ट पक्षका एक सांसद बताउँछन् । बिहानै समाजवादी पार्टीका नेताहरू होटल पुगेपछि पार्टी गठन गर्न जुटेका सांसदहरू बाहिरिए । उनीहरू नेतृ रेणु यादव निवासमा पुगिसक्दा नसक्दै २०७७ बैशाख ११ गते समाजवादी र राजपा पार्टी एकताको सहमतिसहित जनता समाजवादी पार्टी निर्वाचन आयोग र संसद् सचिवालयमा दर्ता भइसकेको थियो ।

हुन त, असन्तुष्ट पक्षका नेता मोहम्मद इस्तियाक राई पार्टीभित्र लामो समयदेखि असन्तुष्टि रहँदै आएको भए पनि आफू पार्टी विभाजनको पक्षमा नरहेको विभिन्न संचार माध्यममा बताउँथे । अध्यक्ष यादवको गतिविधिले असन्तुष्टिबारे आफूहरूबीच छलफल भएको उनले स्वीकार गरेका थिए । 

किन असन्तुष्ट सपा सांसदहरू ?

रेणु यादव ः सांसद रेणुकुमारी यादव अध्यक्ष उपेन्द्र यादवको अति निकट नेतृ मानिन्थिन् । मधेसी जनअधिकार फोरमको स्थापनाकालदेखि उपेन्द्र–रेणु सँगसँगै थिए । तर पछिल्लो पटक प्रदेश–२ को प्रदेश कमिटी अध्यक्षमा पार्टी नेतृत्वले साथ नदिएपछि उनी रुष्ट भइन् । मतदानमा पराजित भएपछि आफूविरुद्ध अध्यक्ष यादवले प्रदेशका आर्थिक मामिलामन्त्री विजय यादवलाई उतारेको उनको बुझाइ रह्यो । त्यही चित्त दुखाइले नै रेणुलाई नयाँ पार्टी निर्माणको असफल नेतृत्वसम्म ल्याई पु¥यायो ।

इस्तियाक राई ः पूर्वसहरी विकासमन्त्री एवं बाँके–२ का सांसद मोहम्मद इस्तियाक राई सरकारमा छँदै प्रधानमन्त्री केपी ओलीसँग नजिकिए । आफूभन्दा ओलीसँग राम्रो सम्बन्ध देखेपछि अध्यक्ष यादव र राईबीचको सम्बन्ध चिसिँदै गयो । ओलीले मन्त्रिपरिषद् पुनर्गठनमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवको मन्त्रालय कानुनमा सरुवा गरे पनि राईलाई चलाएनन् ।

यादवसँगै ओली सरकारमा जान राजेन्द्र श्रेष्ठ, इस्तियाक राई र रेणु यादवले इच्छा जनाएका थिए । पदाधिकारीले हात उठाएरै मतदान गरेर इस्तियाक मन्त्री बनेका थिए । तर उनले समानान्तर शक्तिसँग साँठगाँठ गरेको भन्दै यादव असन्तुष्ट भए । त्यसमाथि, पार्टी पदाधिकारी भए पनि पश्चिम तराईमा संगठन विस्तार गर्न नसकेको उनीमाथि आरोप लाग्यो ।

उमाशंकर अरगरिया ः पार्टी नेतृत्वसँग अरगरिया असन्तुष्ट हुने मुख्यतः तीन कारण थिए । पहिलो– अध्यक्ष यादवले आफूलाई उपेक्षा गरी गत चुनावअघि पार्टी प्रवेश गरेका डा. सुरेन्द्र यादवलाई राज्यमन्त्री बनाए । दोस्रो– संसद्मा सचेतक बनाए पनि नेतृत्वले आफूसँग कुनै समन्वय गरेन । तेस्रो– आफूसँगै पार्टी प्रवेश गरेका नेता–कार्यकर्ताको कुनै व्यवस्थापन भएन । बारम्बार गुनासो गरे पनि कुनै सुनुवाइ नभएपछि अन्ततः उनी नयाँ पार्टीको डिजाइनमा लागे । डा. यादवलाई नयाँ पार्टीका लागि राजी बनाएर काठमाडौँ ल्याउन सफल भए । तर पार्टी फुटाउन सफल हुन सकेन ।

डा. सुरेन्द्र यादव ः डा. यादव राजनीतिक पृष्ठभूमि नभएका चिकित्सक हुन् । धनुषामा उनको जानकी हेल्थ केयर अस्पताल छ । एमाओवादी परित्याग गरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्तिमा पूर्वप्रशासक र पेसाकर्मीलाई समेट्ने क्रममा जोडिएपछि उनी राजनीति सुरुवात गरेका हुन् । तर गत निर्वाचनको डेढ महिनाअघि यादव समाजवादी पार्टीमा प्रवेश गरी उम्मेदवार भए र प्रत्यक्ष निर्वाचन जितेपछि उनलाई अध्यक्ष यादवले ओली सरकारमा उनलाई स्वास्थ्य राज्यमन्त्रीसमेत बनाए ।

उनी राज्यमन्त्री भए पनि आफूलाई कुनै काम गर्न नदिई भूमिकाविहीन बनाइएको भन्दै उनले निकटस्थसँग असन्तुष्टि पोखिरहन्थे । आफ्नो असन्तुष्टिमा अध्यक्ष यादवले चासो नदेखाएपछि डा. यादवले छुट्टै पार्टी गठनको पक्षमा नभएपछि अलग हुने मनसायमा थिए ।

प्रदीप यादव ः पर्साका सांसद प्रदीप यादव पार्टीभित्र सक्रिय नेताका रूपमा चिनिन्छन् । तर निर्वासित तिब्बती धर्मगुरु दलाई लामालाई भेटेको विषयमा उनी पार्टीभित्रै विवादमा परे । चीनसँग कूटनीतिक सम्बन्ध बिग्रिने भयमा पार्टीले उनलाई ६ महिना निलम्बनमा परेको प्रकरणपछि पार्टी नेतृत्वसँग असन्तुष्ट भई नयाँ पार्टीको पक्षमा उभिए ।

रेणु गुरुङ ः झापाकी रेणुका गुरुङ महिला तथा जनजाति कोटाबाट समानुपातिक सांसद हुन् । नेतृ रेणु यादव निकट रहेको कारण उनी पनि अध्यक्ष यादवसँग असन्तुष्ट थिइन र मन्त्री बन्ने लालचमा उनी पनि सो घटनामा सहभागी हुन गइन् ।

कुलदेवी विश्वकर्मा ः कलुदेवी विश्वकर्मा समाजवादी पार्टीका उपमहासचिव दानबहादुर विश्वकर्माकी श्रीमती हुन् । पार्टी विभाजनमा कलुदेवीको भन्दा उनका पतिको भूमिका रहेको पार्टी स्रोत बताउँछ । तर उनी के कारणले असन्तुष्ट थिए भन्ने चाहिँ अझैसम्म खुल्न सकेको छैन ।
 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x