दल

काठमाडौँ–१ मा ‘ह्याट्रिक म्यान’ प्रकाशमान कति सुरक्षित ?

उपेन्द्र अर्याल |
असोज ११, २०७९ मगलवार १८:१८ बजे

काठमाडौँ– २०४८ यताका संसदीय चुनावी मैदानमा उत्रँदै आएका कांग्रेस नेता प्रकाशमान सिंह यसपालि काठमाडौँ–१ बाट सर्वसम्मत सिफारिस भएका छन् । काठमाडौँ–१ बाट सिंह पछिल्ला तीन निर्वाचनमा निरन्तर विजयी हुँदै आएका छन् । तीन निर्वाचन जितेका ‘ह्याट्रिक म्यान’ प्रकाशमान सिंहलाई यसपालि विजेता बन्न सजिलो देखिँदैन । उनीसँग भिड्न यसपालि एमाले मात्रै होइन, थुप्रै स्वतन्त्र उम्मेदवारहरू मैदानमा देखा पर्दैछन् ।

सामाजिक अभियन्ता पुकार बमले स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्ह लिँदै लड्ने भएका छन् । उनी चुनावी घरदैलो कार्यक्रम सक्रिय छन् । ‘सडकबाट नागरिकका निम्ति सकेको काम गरेँ,’ पुकारले आफ्नो उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘अब संसद् पुगेर नागरिकका आवाज बोल्छु ।’


पुकारले काठमाडौँमै बसेर थुप्रै अभियानमा काम गरिसकेका छन् । उनले डा. गोविन्द केसीको अभियानमा सुरुवातबाटै काम गरेका थिए । उनले कोरोनाबाट नागरिकको ज्यान जोगाउन सरकारले पहल लेऊ भनेर २०७७ सालमा आमरण अनशन बसेका थिए । काठमाडौँमा थुप्रै अभियानमा संलग्नता कारण पुकार परिचित छन् ।

यही क्षेत्रबाट पूर्वडीआईजी रमेश खरेलले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । खरेलले आफैँ अध्यक्ष रहेको नेपाल सुशासन पार्टीबाट उम्मेदवारी घोषणा गरेका हुन् । डीआईजी खरेलले प्रहरी सेवामा हुँदा नाम र चर्चा बटुलेका थिए । उनले पनि सहरका मतादाताको मनस्थिति हेरेर आफ्नो उम्मेदवारी घोषणा गरेको देखिन्छ ।
अघिल्लो निर्वाचनमा कडा टक्कर दिएका रविन्द्र मिश्र पनि राप्रपा प्रवेश गरेर निर्वाचन लड्ने संकेत गरेका छन् । तर, यकिन भइसकेको छैन । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट रवीन्द्र मिश्रले यही क्षेत्रबाट चुनाव लडेका थिए । उनको उम्मेदवारीले त्यसबेला काठमाडौँ–१ को मात्रै नभई देशभरकै माहोल तातेको थियो । मिश्रले त्यसबेला नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग ८ सय १८ मतले मात्रै हारेका थिए । कांग्रेसका सिंहले १० हजार ९ सय ३६ मत ल्याएका थिए भने मिश्रले १० हजार १ सय १८ मत मात्रै पाएका थिए । मिश्रले नजिते पनि उनले ल्याएको मतले काठमाडौँमा त्यसबेला एक किसिमको तरंग ल्याएको थियो । 

काठमाडौँ–१ मा महानगरपालिकाको वडा १०, ११, २९ र ३१ पर्छ । यो क्षेत्रमा धेरै जसो बाहिरबाट आएर बसोबास गरेका मतदाता रहेकाले यहाँका स्थापित दलले नै मत पाउँछन् भनेर यकिन गर्न कठिन छ ।

गएको स्थानीय निर्वाचनमा काठमाडौँको मेयरमा विजयी भएका स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याएको मत हेर्दा पनि प्रतिनिधि सभा निर्वाचनमा पनि प्रकाशमान सिंहलाई अप्ठेरो पर्न सक्ने अनुमान सहजै लगाउन सकिन्छ । तर, उनले ल्याएको मत प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवारले नै पाउँछन् भन्ने ठोकुवा त गर्न सकिँदैन । तर, यस क्षेत्रका मतदाताको मनस्थिति हेर्दा उनीहरूको रुचि स्थापित दलमा मात्रै छैन भन्ने सहजै बुझ्न सकिन्छ । 

त्यसैले, यसपालि कांग्रेसबाट ‘ह्याट्रिक’ जित निकालेका सिंहलाई स्वतन्त्र उम्मेदवारहरू भारी पर्न सक्छन् । यससँगै एमालेले उठाउने उम्मेदवारलाई पनि नजरअन्दाज भने गर्न सकिँदैन । एमालेबाट विदुर मैनाली, रुपनारायण श्रेष्ठ र टीकाराम भट्टराई सिफारिस भएका छन् ।  तर, केन्द्रबाट कसलाई उम्मेदवार बनाउने भनी टुंगिएको छैन ।

स्थानीय निर्वाचनको वडागत मतको आधारमा हेर्दा एमाले र कांग्रेसको मत लगभग बराबरी छ । यस क्षेत्रमा पर्ने ४ वटा वडामा कांग्रेसले ९ हजार ८ सय ९५ मत ल्याएको थियो भने एमालेले ९ हजार ४१ मत ल्याएको थियो । यस्तै माओवादीले ११ सय ५९ मत ल्याएको थियो । राप्रपाले १३ सय ७६ मत ल्याएको थियो ।

हाल पाँच दलीय सत्ता गठबन्धनले संयुक्त रूपमा चुनाव लड्ने भएकाले अन्य दलको मत पनि प्रकाशमानलाई आउने सम्भावना छ । एमाले पनि राप्रपासँग तालमेल गरे उसको पनि मत बलियो देखिन्छ । तर, मुख्य कुरा यो सहरी क्षेत्र भएका र बाहिरबाट आएका धेरै मतदाता भएको क्षेत्र भएकाले निश्चित दलका मात्रै मतदाता छैनन् । 
उनीहरूले कसलाई मत दिन्छन् भन्ने अनुमान लगाउन मुस्किल छ । यस्तो अवस्थामा प्रकाशमानलाई स्वतन्त्र उम्मेदवार पनि भारी बन्न सक्छन् । उनलाई तीनपटक जितेर पनि आफ्नो क्षेत्रका लागि केही गर्न नसकेको भनी आरोप पनि लाग्ने गरेको छ । त्यसैले प्रकाशमानले स्थानीय निर्वाचनमा आएको मतका आधारमा ढुक्क बन्ने अवस्था छैन । उनले आफ्नो क्षेत्रका दलीय मतमा मात्रै आधार नभइ बाहिरबाट आएका मतदातालाई पनि रिझाउन सकेमात्रै उनको जित सम्भव छ । 

विगतमा प्रकाशमान : दुई हारपछि ‘ह्याट्रिक’ जित

२०४८ सालदेखि हालसम्म पाँचवटा निर्वाचन लडेका प्रकाशमान सुरुका दुई हारपछि निरन्तर विजयी भइरहेका छन् । २०४८ सालमा पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका सिंहले त्यसबेला एमालेकी सहाना प्रधानसँग पराजित भएका थिए । सिंह, त्यसबेला काठमाडौँ–४ बाट उम्मेदवार थिए । प्रधानले २८ हजार ६ सय ८० मत ल्याएर विजयी हुँदा सिंहले भने १९ हजार ५ सय ४ मत ल्याएका थिए । पहिलोपटक हार बेहोरेर २०५१ को निर्वाचनमा दोस्रोपटक उम्मेदवार बनेका सिंहले फेरि हारे ।

दोस्रो पटक काठमाडौँ–३ बाट उम्मेदवार बनेका सिंहलाई एमालेका मनमोहन अधिकारीले हराएका थिए । अधिकारीले १५ हजार ६ सय ९२ मत ल्याउँदा सिंहले ११ हजार ३ सय ७८ मत मात्रै पाएका थिए ।

दुईपटक हार भएपछि उनलाई कांग्रेसले ०५६ को निर्वाचनमा भने उम्मेदवार बनाएन । त्यसपछि उनले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भने जित निकाले । उनले एमालेका उम्मेदवार प्रदिप नेपाललाई हराएका थिए । प्रकाशमानले १४ हजार ३ सय १८ मत ल्याएर जित्दा नेपालले ६ हजार ७ सय ८९ मत मात्रै ल्याएका थिए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि सिंहले माओवादीकी उम्मेदवार रेणु दाहाललाई ठूलो मतान्तरलाई हराएका थिए । प्रकाशमानले १५ हजार १ सय ३८ मत  ल्याउँदा रेणुले ४ हजार ६४ मत मात्रै ल्याइन् । गत निर्वाचनमा भने उनलाई जित निकाल्न हम्मेहम्मे परेको थियो । विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्र सिंहसँग ८ सय १८ मतले मात्रै हारेका थिए । सिंहले यसपटक जित निकाले जितको इतिहासमा एउटा इँटा थपिनेछ । तर, उनी हारे भने संसदीय निर्वाचनमा उनको जित र हारको शृङ्खला बराबरी हुनेछ । अर्थात्, जित र हार दुवैमा उनी ‘ह्याट्रिक म्यान’ भने रहिरहनेछन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x