दल

माओवादीबाट ह्याट्रिक गरेका रायमाझीलाई एमालेबाट जित्न कति कठिन ?

कमल विष्ट |
असोज १४, २०७९ शुक्रबार १३:६ बजे

काठमाडाैँ । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीबाट आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले पूर्वमाओवादी टोपबहादुर रायमाझीलाई सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस रायमाझीलाई केन्द्रले सदर गर्ने निश्चितप्रायः छ । केन्द्रबाट सदर भए रायमाझी पाँच दलीय सत्तारुढ गठबन्धनको साझा उम्मेदवारसँग भिड्नेछन् । 

रायमाझी अर्घाखाँचीमा १५ वर्षयता एकलौटी जित्दै आएका छन् । उनले माओवादी केन्द्रबाट २०६४, २०७० र २०७४ को निर्वाचनमा लगातार जितेर ह्याट्रिक गरेका छन् । उनले २०६४ सालको चुनावमा नेपाली कांग्रेसका नेता मानबहादुर विश्वकर्मालाई, २०७० र २०७४ सालको निर्वाचनमा कांग्रेसकै नेता डा. रामबहादुर बिसीलाई पराजित गर्दै सांसद बनेका थिए । 


तर, माओवादीबाट ह्याट्रिक गरेका उनलाई यो पटक पहिले झैँ जित्न सहज छैन । पहिलो उनले मूल पार्टी छाडेर एमाले रोजेका छन् भने दोस्रो उनले पाँच दलीय गठबन्धनविरुद्ध एक्लै उभिनुपर्ने छ । त्यसो त एमाले यही वैशाखको स्थानीय निर्वाचनमा अर्घाखाँचीमा पहिलो दल हो । तर, गठबन्धनको संयुक्त मोर्चासँग तुलना गर्दा ऊ पछाडि नै देखिन्छ । यसलाई विस्तृत रुपमा हेरौँ । 

अर्घाखाँचीमा दुई गाउँपालिका र चार नगरपालिका गरी कुल ६ पालिका छन् । छेत्रदेव गाउँपालिका, पाणिनी गाउँपालिका, भूमिकास्थान नगरपालिका मालारानी नगरपालिका र सन्धिखर्क नगरपालिका हुन् । यी ६ पालिकामा ६१ वडा छन् । 

सुरुमा यी स्थानीय तहका प्रमुख र उपप्रमुखमा को अगाडि छ भन्ने हेरौँ । ६ मध्ये ३ को प्रमुख र ५ को उपप्रमुख जित्दै अर्घाखाँचीमा एमाले पहिलो दल बनेको छ । दोस्रो हुने कांग्रेसले २ पालिकाको प्रमुख जितेको छ । त्यस्तै, राष्ट्रिय जनमोर्चाले एकको प्रमुख जितेको छ भने माओवादीले एकको उपप्रमुख जितेको छ । 

अब वडा हेरौँ । कुल ६१ वडामध्ये एमालेले ३० वडा जितेको छ । दोस्रो हुने कांग्रेसले २४ वडा जितेको छ । त्यसैगरी, माओवादी ४ वडा जित्दै तेस्रो बनेको छ भने राष्ट्रिय जनमोर्चा ३ वडा जित्दै चौथो बनेको छ ।

वडागत मतमा पनि एमाले पहिलो स्थानमा छ । सम्पूर्ण पालिकामा एमालेले ४८ हजार २ सय ६३ मत पाएको छ । कांग्रेसले ३६ हजार ८ सय ९७ मत प्राप्त गरेर दोस्रो भएको छ । त्यस्तै, चौथो हुने माओवादीले ८ हजार ३ सय ९३ मत ल्याएको छ भने पाँचौँ हुने जनमोर्चाले ४ हजार २ सय ९४ मत पाएको छ । एकीकृत समाजवादी ३ हजार १ सय ६० मतसहित छैटौँ स्थानमा छ । र, राप्रपा १ सय ५३ मत ल्याएर सातौँमा छ । 

पालिका प्रमुख–उपप्रमुख, वडा र वडागत मतमा एमाले नै शीर्ष स्थानमा छ । तर, गठबन्धनसँग तुलना गरेर हेर्दा भने एमाले पछाडि छ । एमाले गठबन्धनभन्दा ४ हजार मतले पछाडि छ । गठबन्धन घटकका सम्पूर्णको मत जोड्दा ५२ हजार ७ हजार ४४ हुन आउँछ । 

त्यसो त एमालेले राप्रपा र जसपासँग चुनावी तालमेल गर्ने चर्चा पनि चलिरहेको छ । तर, तालमेल भए पनि त्यसले एमालेलाई ठूलो सहयोग हुने देखिँदैन । एमालेले लोसपा र राप्रपाबाट केही मत पाउँछ, जुन गठबन्धनविरुद्ध जित दिलाउन पर्याप्त हुन्छ भन्ने विश्वास गर्न सकिन्न । 

यता, सत्तारुढ गठबन्धनले यस क्षेत्रका लागि साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । मोर्चामा सम्मिलित दलहरूले यो क्षेत्र आफूले पाउनुपर्ने दाबीसहित आआफ्ना उम्मेदवार सिफारिस गरेका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसले उपसभामुख पुष्पा भुसालसहित ५ जनालाई सिफारिस गरेको छ । जसमा उपसभामुख भुषाल, डा. मुक्ति श्रेष्ठ, डा. रामबहादुर विसी, रेवतीप्रसाद भुसाल र लेखनाथ पोख्रेल परेका छन् । 

गठबन्धनको अर्को घटक माओवादी केन्द्रले चक्रपाणी खनाल (बलदेव) र डिलाराम आचार्यलाई सिफारिस गरेको छ । 

कांग्रेस र माओवादीले आफूले पाउनुपर्ने दाबीसहित आआफ्ना उम्मेदवार सिफरिस गरे पनि गठबन्धनको प्रारम्भिक भागबण्डाअनुसार यो क्षेत्र कांग्रेसले पाउने चर्चा छ । स्रोत अनुसार उपसभामुख भुसालले गठबन्धनको साझा उम्मेदवारका रुपमा टिकट पाउने सम्भावना अधिक छ ।

संघीय निर्वाचनमा उम्मेदवार बन्ने चाहना राखेकी भुसाल २०७४ को निर्वाचनमा समानुपातिक सांसद बनेकी थिइन् । भुसाल २०६४ को निर्वाचनमा अर्घाखाँची–२ बाट निर्वाचित भएकी थिइन् भने सोही क्षेत्रबाट २०७० को निर्वाचनमा पराजित भएकी थिइन् ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x