दल

नेपाली राजनीतिमा फेरि 'ज्येष्ठ नागरिक'कै हालीमुहाली

उपेन्द्र अर्याल |
असोज २४, २०७९ सोमवार १०:३८ बजे

काठमाडौँ- उमेरका हिसाबले सबैभन्दा पाका राजनीतिकर्मी हुन्, महन्थ ठाकुर । उनी ८० वर्ष पुगिसकेका छन् । ठाकुर यसपालि पनि चुनावी प्रतिस्पर्धामा होमिएका छन् । उनी महोत्तरी–३ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टी विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । 

ठाकुरले २०१६ सालबाट नेपाली कांग्रेसमा आवद्ध हुँदै आफ्नो राजनीति यात्रा सुरु गरेका थिए । उनी २०४८, २०६४ र २०७४ मा गरी ३ पटक सांसद्, उपसभामुख, मन्त्री बनिसकेका छन् । उनी यसपालि पनि विजयी भएमा सम्भवतः जेष्ठ सदस्यको हैसियत प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्नेछन् र सांसदहरुलाई सपथ खुवाउने छन् ।


उनी मात्र ठूला पार्टीका वृद्ध उमेरका प्रशस्त नेताहरु चुनावी मैदानमा होमिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् । ७६ वर्षीय देउवा यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी भएका थिए । उनले संसदीय चुनावी प्रतिस्पर्धामा पराजयको सामना गर्नुपरेको छैन । उनले २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली–६ बाट पनि जितेका थिए ।

अघिल्लो प्रतिनिधिसभाका सदस्यमध्ये ६० सदस्य उमेरले ६५ माथि नागिसकेका थिए । यसपटक पनि उनीहरुको उम्मेदवारी परेको छ । उनीहरुले दलका आफ्ना युवा उम्मेदवारलाई ठाउँ दिनुभन्दा पनि आफैँ उम्मेदवार बन्न लालयित भएको देखिन्छ । प्रतिनिधिसभा सदस्यका निम्ति २ हजार ४ सय ७३ जनाले आकांक्षा देखाएका छन् । जसमा २२ सय ४२ पुरुष र २ सय ३१ महिला छन् । 

उता, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा– २ बाट प्रतिस्पर्धामा छन् । ६७ वर्षीय दाहाल माओवादी नेतृत्व वृत्तमा निरन्तर छन् । अघिल्लो निर्वाचनमा चितवनबाट लडेका प्रचण्डले यसपटक भने बाबुराम भट्टराईले छाडेको गोरखाबाट चुनाव लडन लागेका हुन् । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनी अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका छन् । ७१ वर्षीय पूर्व प्रधानमन्त्री ओलीलाई हराउन कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी उम्मेदवार भएका छन् । उनीसँगै स्वतन्त्रबाट युग पाठकको पनि उम्मेदवारी परेको छ । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ मा गत निर्वाचनको मतका आधारमा समाजवादी बलियो देखिएको थियो । ७० वर्षीय नेपाल अघिल्लो पटक काठमाडौँबाट उम्मेदवार बनेका थिए । एमाले विभाजनपछि काठमाडौँ असुरक्षित महसुस गरी उनी गृह जिल्ला रौतहट फर्केका हुन् ।

समाजवादीकै सम्मानित नेता झलनाथ खनालले इलाम १ बाट उम्मेदवारी दर्ता गराएका छन् । २०४८ साल यताका संसदीय निर्वाचनमा भाग लिँदै आएका खनाल २०५६ को निर्वाचनमा मात्रै हारेका छन् । ७६ वर्षीय खनाल अघिल्लो निर्वाचनमा पनि इलाम १ बाटै निर्वाचित भएका थिए । 

एमाले नेता ईश्वर पोख्रेलले काठमाडौँ ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । हालसम्म तीन पटक सांसद् बनिसकेका ६९ वर्षीय पोखरेल सक्रिय राजनीतिमै छन् । पोख्रेल २०७४ मा उपप्रधान एवम् रक्षामन्त्री भएका थिए । यसअघि पनि उनी विभिन्न मन्त्रालयमा मन्त्री भएर काम गरिसकेका छन् । पोख्रेललाई यसपालि स्वतन्त्रबाट रञ्जुदर्शदनाले चुनौती दिँदै छिन् । गठबन्धनबाट कांग्रेसका प्रदिप पौडेल उम्मेदवार बनेका छन् । 

यस्तै संविधानसभा सभाध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङले इलाम–२ बाट उम्मेदवारी दिएका छन् । ७० वर्षीय नेम्वाङलाई यसपालि कांग्रेस इलाम जिल्ला सभापति डम्बर खड्काले चुनौती दिँदैछन् । लोकतान्त्रिक समाजवादीका नेता लक्ष्मणलाल कर्णले पर्सा १ बाट उम्मेदवारी दिएका छन् । उनले अघिल्लो निर्वाचनमा पर्सा ४ बाट जितेका थिए । ७६ वर्षीय कर्णलाई हराउन यसपटक जसपाका प्रदीप यादव चुनावी मैदानमा छन् ।  

भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचराधीन रहेकै अवस्थामा कांग्रेस नेता विजयकुमार गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिएका छन् । ६९ वर्षीय गच्छदार सांसद् निर्वाचित भएमा पनि निलम्बनमै रहनेछन्, भ्रष्टाचार मुद्दा छिनोफानो नभएसम्म । गच्छदार २०४८ देखि निरन्तर चुनाव लड्दै आएका मात्र होइनन् कि सँधै जित्ने सीमित पात्रमध्ये एक हुन् ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा लगाएको छ । उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको थियो । उनको प्रतिस्पर्धामा नेकपा एमालेका नेता भगवती चौधरी छिन् ।

यस्तै कांग्रेस नेता प्रकाशमान सिंहले पनि काठमाडौँ १ बाट उम्मेदवारी दिएका छन् । उनले  पछिल्ला तीन संसदीय निर्वाचन जितेर काठमाडौँ १ बाट ह्याट्रिक गरेका छन् ।  प्रकाशमानलाई यसपटक राप्रपाका रविन्द्र मिश्र सहित स्वतन्त्रबाट पुकारबम लगायतको चुनौती छ ।

कांग्रेस नेतृ सुजता कोइरालाले मोरङ–२ बाट उम्मेदवारी दिएकी छिन् । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसका मिनेन्द्र रिजालले जितेका थिए । तर, यसपटक उनको ठाउँमा ६८ वर्षीया कोइरालालाई टिकट दिइएको हो । सभामुख अग्नि सापकोटा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतका कतिपय नेता भने यसपटक चुनावी मैदानमा छैनन् ।


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x