दल

सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्दा समानता र स्वच्छता कायम हुँदैनः आयुक्त भण्डारी

इकागज |
कात्तिक १५, २०७९ मंगलबार १४:२५ बजे

काठमाडौँ- निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ ।

निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्तिको दुरुपयोग साधन स्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो ।


निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरूले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने बताए । सरकारी सम्पत्तिको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहे पनि साधनस्रोत प्रयोगलाई आचारसंहिताले रोकेको जिकिर गरे ।

उनले आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरूको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पत्तिको प्रयोग गर्न आचारसंहितामा नै रोकिएको पनि स्पष्ट पारे ।

निर्वाचन आयुक्त भण्डारीले हरेक व्यक्तिले निर्वाचन आचारसंहिताभित्र रहेर स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने विश्वास आयोगले लिएको बताए । 


Author

थप समाचार
x