दल

झापा–२ मा पूर्वसहकर्मी आमनेसामने : कसकाे पल्ला भारी ?

उपेन्द्र अर्याल |
कात्तिक १७, २०७९ बिहिवार १६:४५ बजे

काठमाडौँ– आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापा–२ को प्रतिस्पर्धालाई देशैले नियालिरहेको छ ।

यस क्षेत्रमा दुई पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने भएकाले सबैको नजर यहाँ अडिएको छ । यस क्षेत्रमा एमालेका तर्फबाट देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । उनी एमालेका प्रदेश–१ इन्चार्ज हुन् । उनका प्रतिस्पर्धीको रूपमा गठबन्धनले हरिकुमार रानालाई उम्मेदवार बनाएको छ । राना यसअघि एमालेमा थिए । तर, निर्वाचनको मुखैमा एमाले छाडेर माओवादी प्रवेश गरेर उनी गठबन्धनको उम्मेदवार बनेका छन् ।


राना २०७४ को निर्वाचनमा एमालेबाट अर्जुनधारा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएर स्थानीय विकास निर्माणमा जुटेका कारण स्थानीयबीच लोकप्रिय छन् । तर, टिकटकै लागि पार्टी फेरेको भन्ने आरोप पनि उनले झेल्नुपरेको छ । अर्का नेता घिमिरेको पनि स्थानीय क्षेत्रमा खासै पकड नभएकाले यसपटक कसले जित्छ भनेर दावा गर्न सकिने अवस्था छैन । तर, घिमिरेका लागि भोट माग्न झापा गएका एमाले अध्यक्ष केपी ओलीले भोट मात्रै मागेनन्, विजेता नै घोषणा गरिसेकेका छन् । ओलीले विजेता घोषणा गरे पनि जित हारको निर्णय चुनावी मत परिणामले मात्रै गर्नेछ ।

रानाले जितका लागि गठबन्धनको भर गरेर हुँदैन, पुराना सहकर्मीको समेत मन जित्नुपर्ने छ । घिमिरेले पनि ओलीको घोषणामा ढुक्क नभएर मतदाताको मन जित्नुपर्नेछ ।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट एमालेकी पवित्रा निरौला खरेलले जितेकी थिइन् । उनले नेपाली कांग्रेसका उद्धव थापालाई हराएकी थिइन् । खरेलले ४५ हजार ८ सय १७ मत ल्याएकी थिइन् भने थापाले ३२ हजार ५० मत ल्याएका थिए । उक्त निर्वाचनमा एमाले र माओवादीको बाम गठबन्धनकी उम्मेदवार थिइन्, खरेल । तर, यसपटक एमाले र माओवादीको गठबन्धन छैन । एमालेलाई हराउन कांग्रेस माओवादी सम्मिलित ५ दलीय गठबन्धन बनेको छ । त्यसैले गठबन्धनको मत लिएर जित्ने दाउमा छन्, राना । एमालेले पनि राप्रपा र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । यस क्षेत्रमा राप्रपाको साथमा गठबन्धनलाई हराउने दाउमा एमाले छ । 

वडागत मतमा एमाले बलियो

यो क्षेत्रमा अर्जुनधारा नगरपालिकाका ११ वटै वडा, बिर्तामोड नगरपालिका ९ वटा वडा, बुद्धशान्ति गाउँपालिकाका ३ वटा वडा र कन्काई नगरपालिकाका २ वटा वडा पर्छन् । जम्मा २५ वटा वडामध्ये कांग्रेसले ११ वटा, एमालेले १३ वटा र राप्रपाले एउटा वडा जितेका छन् । वडागत मतका आधारमा हेर्दा यो क्षेत्रमा एमाले बलियो देखिन्छ । एमालेका वडाध्यक्षका उम्मेदवारले ल्याएको मत ३६ हजार ३ सय ९६ छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३२ हजार ६ सय ९० मत ल्याएका छन् । माओवादीका उम्मेदवारले २ हजार ४ सय ३७ मत ल्याएका छन् । एकीकृत समाजवादीका उम्मेदवारले १ सय ७३ मत ल्याएका छन् ।

यस्तै राप्रपाका उम्मेदवारले ९ हजार ५ सय २९ मत ल्याएका छन् । उक्त मतको आधारमा हेर्दा एमाले सबैभन्दा अगाडि छ । दोस्रोमा कांग्रेस छ भने तेस्रो दल राप्रपा बनेको छ । तर, यस क्षेत्रमा गठबन्धन भएको हुनाले गठबन्धनको मत हेर्न आवश्यक छ । यहाँ सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस, माओवादी र एकीकृत समाजवादी सबैको मत जोड्दा पनि एमाले नै अगाडि देखिन्छ ।

यी दलहरूको जम्मा मत ३५ हजार ३ सय हुन्छ । एमाले एक्लैको मत ३६ हजार ३ सय ९६ छ । तर, एमाले र राप्रपाको तालमेल भएकाले यी दुईको मत जोड्दा एमाले अझै बलियो हुन्छ । दुवै दलको मत जोड्दा ४५ हजार ९ सय २५  हुन्छ । त्यसैले स्थानीय निर्वाचनमा आएको मतलाई हेर्दा एमालेको जित निश्चित भएको धेरैको बुझाइ छ ।

तर, यसकै आधारमा एमालेकै जित हुन्छ भनेर दाबी गर्न मिल्दैन । किनकि, दुवै उम्मेदवारका लागि यो पहिलो संघीय निर्वाचन हो । संसदीय निर्वाचनका लागि नौला यी दुई सहकर्मी जसरी हुन्छ आफ्नो जित हात पार्न चाहन्छन् । तर, जितका लागि दुवैलाई ठूलो चुनौती भने अवश्य छ । रानाले जितका लागि गठबन्धनको मतमा मात्रै ढुक्क परेर हुँदैन । उनले आफ्ना पुराना सहकर्मीको समेत मन जित्नुपर्ने छ ।

घिमिरेले पनि ओलीको घोषणामा मात्रै ढुक्क नभएर मतदाताको मन जित्नुपर्नेछ । जसले जिते पनि यी दुई पूर्व सहकर्मीबीचको प्रतिस्पर्धा भने रोचक हुनेछ । राना र घिमिरे जसले जिते पनि पहिलोपटक संसद्‍मा छिर्ने छन् । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x