दल

काभ्रेकाे विकास अनि जनताकाे सेवा गर्न धितै मरेन, त्यसैले दाेहाेरिएँ

किशोर बुढाथोकी |
कात्तिक २१, २०७९ सोमबार १५:२९ बजे

उनको योजना छ काभ्रे एउटा यस्तो गन्तव्य जिल्ला हुनेछ जुन विश्वमै उदाहरणीय कहलियोस्– पर्यटकीय नगरी, उत्कृष्ट शैक्षिक हब, विकासमा अग्रणी, स्वास्थ्यमा अब्बल, गाउँमै रोजगार । यो यत्तिकै सम्भव छैन जसका लागि उत्कृष्ट ‘भिजन’ भएको अभियन्ता चाहिन्छ । यो पनि उनीलाई थाहा छ । र, त काभ्रेलाई समृद्ध बनाउन आफै अघि सरेका छन् । गाउँमै रोजगारीको वातावरण सिर्जना गरी कृषिबाटै आत्मनिर्भर बनाउने उनको अर्को योजना हो । त्यसैले त आफ्नो सपना, योजना अनि लक्ष्य पूरा गर्न अभियन्ता भएर चुनावी मैदानमा उत्रिएका छन् मन्डनदेउपुर नगरपालिका–७ का लक्ष्मण लम्साल ।

बाणिज्यशास्त्रमा स्नातकोत्तर र कानुनमा एलएलबी गरेका लम्साल लामो समयदेखि राजनीति र समाजसेवामा समर्पित छन् । एक कार्यकाल बागमती प्रदेश सभा सदस्य बनेर अनुभव बटुलेका उनी फेरि एकपटक दोहोरिने दौडमा छन् । नेकपा एकीकृत समाजवादीको तर्फबाट काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा 'क' बाट उनी चुनावी  मैदानमा होमिएका हुन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चाकोसमेत साथ छ । उनी कलम चुनाव चिह्न लिएर मैदानमा उत्रिएका हुन्।


उसो त एक कार्यकाल सांसद बनेर आफ्नो क्षेत्रमा विकास नगरेका हैनन् लम्सालले । तर, त्यतिले मात्रै उनको योजना अनि सपना पूरा भएनन् त्यसैले फेरि एकचोटी उनी जनताका ‘लिडर’ बन्न चाहन्छन् र समृद्ध काभ्रे निर्माणको लडाइँमा अगुवा बन्न चाहन्छन् जनताको प्रतिनिधि भएर ।

काभ्रेपलाञ्चोक जिल्लाको विकास निर्माणमा सक्रिय रही नागरिकहरूको समस्या, पिरमर्कामा साथ दिई जिल्लावासीको जीवनस्तर उकास्ने उनको लक्ष्य छ । भू–बनोटको हिसाबले काभ्रेका विकट गाउँहरूमा पुग्न नसकेका सेवाहरू विस्तार गर्ने उनको अर्को योजना हो । 

‘भौगोलिक रुपले जिल्ला निकै ठूलो छ, गाउँवासीको आवश्यकता पहिचान गरेर सेवाप्रवाह गर्न चुनौती छ,’ उनले इकागजसँग भने, ‘र, पनि योजनाहरू बनेका छन्, पहिलो कार्यकालमा गर्न चुकेका कामहरूलाई निरन्तरता दिनेछु ।’

लम्साल अहिले चुनावी अभियान लिएर मतदाताको आँगनमा व्यस्त छन् । यो क्रममा उनले गाउँको समस्यालाई ‘नोट’ गरेका छन् । यसले उनलाई पछि काम गर्नमा सहज बनाउने छ । अभियानकै क्रममा उनी विभिन्न अजेन्डा लिएर गाउँ पसेका छन् । उनले हरेक वस्तीलाई नियालेर चुनावी अजेन्डा बनाएको दाबी गर्छन् ।

विकासको पहिलो खुड्किलो शिक्षा भएकाले उनले चुनावी प्रतिबद्धतापत्रमा नै उल्लेख गरेका छन्, ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षाका लागि नीति निर्माणमा भूमिका खेल्नेछौं। उच्च शिक्षा अध्ययनका लागि बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गर्नेछौँ। एक पालिका एक प्राविधिक विद्यालय स्थापना गर्न पहल गर्नेछौँ।’

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय लम्साल २०७४ को निर्वाचनमा लम्साल वाम गठबन्धनका साझा उम्मेदवार बने र सांसद बने। उनले २७ हजार ६ सय २१ मत ल्याएर बागमती प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । त्यतिबेला वाम गठबन्धनबाट उम्मेदवार भएका उनले कांग्रेसका सुन्दरमणि आचार्यलाई पराजित गरेका हुन् । पहिलेका प्रतिस्पर्धी अहिले उनको सहयात्री बनेर उभिएका छन् ।

गाउँको विकासका लागि अहोरात्र खट्ने लम्सालले पहिलो कार्यकालमा सोचेअनुरूप काम गर्न नपाएकाले फेरि उम्मेदवार बनेको जनाए । त्यसैले त अहिले उनी प्रतिबद्धता गरेका कामहरू अबको पाँच वर्षमा गरिसक्ने अजेन्डा लिएर चुनावी प्रचारमा छन् । उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार रोजगारी, कृषिलाई मुख्य आधार बनाएको बताए ।

‘अबको पाँच वर्षभित्र सबै पालिकामा कम्तिमा १२ श्य्याको अस्पताल निर्माण गरी गाउँमै स्वास्थ्य सेवा प्रवाह गर्ने योजनामा छु,’ उनले भने, ‘स्वास्थ्य बीमाबाट प्राप्त हुने सुविधालाई व्यवस्थित बनाई जनस्तरमा सुविधाहरू बृद्धि गर्ने लक्ष्य राखेको छु ।’ समय–समयमा देखापर्ने महामारीबाट आमजनताको जीवन रक्षाको लागि महामारी प्रतिकार्य सम्बन्धी तयारी गरिन योजनासमेत रहेको उनले बताए । 

बनेपा, पनौती, धुलिखेल (एकीकृत) खानेपानी आयोजनालाई पूरा गरिने लक्ष्यसँगै मण्डनदेउपुर बृहत खानेपानी आयोजनालाई पूरा गर्नुका साथै भुम्लुलगायतका क्षेत्रमा एक घर एक धारा खानेपानी आयोजना कार्यक्रम पूरा गरिने उनको घोषणापत्रमा उल्लेख छ ।

कृषिबाट गाउँवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने उद्धेश्यअनुरुप सबै पालिकाको माटो परीक्षण गरी प्राप्त नतिजा अनुसारको कृषि बाली उत्पादन गर्ने गराउने व्यवस्था मिलाइनुका साथै उत्पादित खाद्य तथा नगदे बालीलाई भण्डारण गर्न भण्डारण केन्द्रको स्थापनार्थ पहल गर्ने योजना रहेको उनी सुनाउँछन् ।

कृषकका लागि अत्यावश्यक मल, बिउबिजन र कृषि औजारको अभावको अन्त्य गरी सहज र सुलभ मूल्यमा उपलब्ध गराउनेदेखि किसानलाई दुधमा अनुदान बढायनेसमेत उनको लक्ष्य छ ।

सहज सवारी आवागमनका लागि काभ्रे जिल्लाका सम्पूर्ण मूल सडकहरू ५ वर्षभित्र कालोपत्रे गरिनुका साथै जिल्लाका सबै सडकको स्तरोन्नति गरी १२ महिना सञ्चालन गर्न व्यवस्था मिलाइने उनी बताउँछन् ।

उनको घोषणापत्रमा छ, ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई स्वदेशमा स्वरोजगार विशेष कार्यक्रम सञ्चालन गरिने छ । अनौपचारिक क्षेत्रका श्रमिकहरूका लागि सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिने छ । धुलिखेल, नगरकोट, बेथानचोक, मूलखर्क भीमसेनस्थान, दोलालघाट, थामीडाँडा र अनैकोट जस्ता पर्यटकीय क्षेत्रमा पर्यटन क्षेत्र विकास समिति बनाई पर्यटन क्षेत्रमा रहेको समस्यालाई निराकरण गर्ने र दीर्घकालीन रुपमा पर्यटन व्यवसायलाई टेवा पुर्‍याइने छ ।’

हाल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेश कमिटीको सचिव पदको जिम्मेवारी सम्हालिरहेका लम्सालले पर्यटनबाटै समृद्धिको मूल नारासमेत बोकेका छन् । काभ्रेका पर्यटकीय स्थानहरूको सुधार गरी होमस्टे सञ्चालन गरी गाउँवासीलाई आत्मनिर्भर बनाउने उनको योजना छ । ‘चण्डेश्वरी, पलाञ्चोक भगवती, उमादेवी, नाला भगवती, ब्रम्हायणीदेवी, धनेश्वर, विन्धवासिनी, आशापुरीमहादेव, लड्केश्वरमहादेव, बेथानचोक नारायणस्थान जस्ता मठमन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रमा व्यवस्थित गरिने छ’ उनको घोषणापत्रमा भनिएको छ ।

पहिलो कार्यकालमा लम्सालले के गरे 
प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि लम्सालले जिल्लामा अभाव देखिएका ठाउँलाई प्राथमिकतामा राखे । सडक पूर्वाधार, सिंचाई, नदी नियन्त्रण तथा भूसंरक्षण, खेलकुद, स्वास्थ्य, शिक्षा, खानेपानी, पर्यटन प्रवरद्धन तथा सम्पदा विकासमा काम गरे । जसकारण पाँच वर्षअघि अभाव झेलेका गाउँवासी लावान्वित भएका छन् ।

उनले धुलिखेल नगरपालिका, भुम्लु गाउँपालिका, मन्डन देउपुर नगरपालिका, पाँचखाल नगरपालिकालगायतका स्थानमा समान काम गरेका छन् ।

धुलिखेल–देवीटार हुँदै अनैकोट मण्डन जोड्ने सडक निर्माण, चंखुबेसी नयाँबस्तीबाट रवि हुँदै पाँचखाल जोड्ने सडक निर्माण कार्य आरम्भ भएको छ । 

धुलिखेल २ नारेगौडा टटले कृषि सडक, नारेगौडा छांगे देवीटार सडक, धुलिखेल ७ हुर्खामार्ग धुलिखेल वडा ६ प्लानिङ क्षेत्र प्रवेश गर्ने सडक निर्माण सम्पन्न भइसकेको छ । भने त्यस्तै दोलालघाट भुम्लुटार–सल्ले चौबास सडक कालोपत्रे गर्ने काम भएको र सिलामेभिर, सापिङ, सिम्थली, बेखसिम्ले सडक कालोपत्रे र विस्तारको काम जारी छ । 

मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसी–ढाईटार सडक र नयाँगाउँ सडकको केही खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएका उनले बताए । कुन्ताबेसी, दोलालघाट सडकमा पिचको कार्य अघि बढाउनुका साथै कुन्ताबेसी–नर्सरी–पौवाटार जैमाने सडक कालोपत्रे र बिस्तारको काम भइरहेको छ । ४८ किलो राम्चे सडक स्तोरन्नति भइरहेकोसमेत उनले जानकारी दिए । 

पाँचखाल नगरपालिकामा पलाञ्चोक–कोसीदेखा हुँदै कालिन्जोरसम्म सडक कालोपत्रे सम्पन्न भएको छ । खावा गणेश मा.वि. हुदै हनुमानगढी सडक अधिकांश कालोपत्रे, तामाघाट–बोहोरेदोभान, बेला–रानीपानी, समाज कल्याणदेखि अनैकोट जाने सडक, तीनपिप्ले बालुवा शेरासम्म कालोपत्रे काम अघि बढेको, साथै पाँचखालका अन्य सहायक सडकहरूको स्तरोन्नति भइरहेको छ। 

बर्षेनि बाढीका कारण चाखोला र झिकु खोलाले कटान गर्दै आएको किसानको खेतबारी जोगाउन विभिन्न समयमा बजेट विनियोजन उनले गरेका थिइ । जसले किसानलाई खेतबारी कटान हुने चिन्ता हटेको थियो । पाँचखाल, धुलिखेल, भुम्लुमा खानेपानी आयोजनासमेत सुरु गरिएको छ । 

पाँचखाल नगरपालिकामा सघन शहरी विकास कार्यक्रम अन्तर्गत ५० करोड रुपैयाँ एउटै प्याकेज कार्यक्रम पाँचखाल नगरपालिकामा प्रारम्भ उनले गरेका छन् । मण्डन देउपुरमा औद्योगिक ग्राम निर्माण आरम्भ भएको जनले जानकारी दिए ।

यस्तो छ लम्सालको राजनीतिक जीवन
२०४७ सालमा माध्यामिकतहमा अध्ययन गर्दैगर्दा उनी विद्यार्थी संगठनमा सदस्य बनेका थिए । कक्षा ६ मा अध्ययन गर्दा उनले अनेरास्ववियूको सदस्यता लिएका हुन् ।

उच्च शिक्षा अध्ययनका लागि २०५३ सालमा काठमाडौं छिरेका उनी विद्यार्थी राजनीतिकै क्रममा बानेश्वर क्याम्पस कमिटीको सहसचिव बने । क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष हुँदै २०५७ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमास्ववियु सभापतिमा निर्वाचित भए । 

समाजसेवा र राजनीतिमा सक्रिय लम्साल अखिलको क्याम्पस जिल्ला कमिटी सदस्य, बाग्मती अञ्चल समन्वय कमिटीको सदस्य हुँदै १७ औँ राष्ट्रिय सम्मेलनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेका हुन् । अनेरास्ववियुको १८ औं राष्ट्रिय सम्मेलनबाट पूर्ण केन्द्रीय सदस्य भएपछि बागमती अञ्चलको संयोजकको जिम्मेवारीमा रहेर काम गरे ।

अनेरास्ववियुको १९औँ राष्ट्रिय सम्मेलनबाट सचिवालय सदस्य हुँदै लम्सालले संगठन विभागको प्रमुख भए । अनेरास्ववियु २० औँ राष्ट्रिय सम्मेलनबाट लम्साल केन्द्रीय उपाध्यक्षमा निर्वाचित भए । २१ औं सम्मेलनमा उनी अध्यक्षको प्रत्यासी थिए। लम्साल हाल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटीको सचिवको भूमिकामा छन् ।

यस्तो छ स्थानीय तह निर्वाचनको परिणाम

काभ्रे जिल्लाका १ सय ३५ वडामध्ये प्रतिनिधि सभा क्षेत्र नं १ मा ६९ वडा यस क्षेत्रमा छन् । त्यसमा चौरीदेउराली, महाभारत, खानीखोला, रोशी, तेमाल गाउँपालिका र नमोबुद्ध नगरपालिका सबै वडासँगै  बेथानचोक गापाको ६ नं वटा वडा मात्र, पनौती नपाको ७ वटा वडा (४,५,६,७,८,९,१०) र धुलिखेल नपाको ५ वटा वडा (८,९,१०,११,१२) यस क्षेत्रमा पर्छ । 

यो क्षेत्रमा पर्ने धुलिखेलबाहेक सबै स्थानीय तहमा गठबन्धन दलकै नेतृत्व छ । धुलिखेलमा पनि उपप्रमुख गठबन्धनको तर्फवाट छ । ६९ वडा मध्ये ५२ वटा वडा गठबन्धनदलको वडा अध्यक्ष निर्वाचित भएका छन् भने बाँकी १८ वटा वडामा नेकपा एमालेका वडा अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै स्थानीय तहमा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं १ मा वडा अध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने गठबन्धन दलको मत ९६ हजार ३ सय ४७ छ भने नेकपा एमालेका अध्यक्षहरूले पाएको मत ५५ हजार ५ सय १७ छ । स्थानीय निर्वाचनको मत परिणामलाई हेर्दा यस क्षेत्रमा गठबन्धन दल एमाले भन्दा ४० हजार ८ सय ३० मतले अघि छ । यो क्षेत्रमा स्थानीय तहको निर्वाचन पछि थपिएका समेत गरेर १ लाख ५२ हजार ६ सय २१ मतदाता छन् ।

प्रतिनिधि सभा क्षेत्र नं २ मा यस पटक माओवादीसहित एमालेबाट फुटेर बनेको नेकपा एसको समेत समर्थनमा नेपाली काँग्रेसका शिवप्रसाद हुमागाईं प्र्रतिष्पर्धामा छन् । उनीसँग गोकुल बाँस्कोटा चुनावी मैदानमा छन् । स्थानीय तह निर्वाचन २०७९ को मतपरिणामले लोकतान्त्रिक–बाम गठबन्धनलाई बलियो देखाउँछ । 

काभ्रे–२ अन्तर्गतपर्ने बनेपा मण्डनदेउपुर, पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाका सम्पूर्ण वडा, धुलिखेल नगरपालिकाका ७ वटा वडा (१,२,३,४,५,६ र ७) पनौती नगरपालिकाका ५ वटा वडा (१,२,३,११ र १२)  बेथानचोक गाउँपालिकाका ५ वटा वडा (१,२,३,४ र ५) क्षेत्र नं २ मा पर्छ। यो क्षेत्रमा पर्ने ६६ वडा मध्ये ३९ वटामा गठबन्धन दल र २५ वटामा एमाले र १ वडामा राप्रपाका उम्मेदवार विजयी भएका छन्। 

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने मण्डनदेउपुर, पाँचखाल, बनेपा र पनौती, बेथानचोक, भुम्लुमा गठबन्धन आबद्ध दल विजयी भएका थिए भने धुलिखेल नगरपालिकामा मात्रै एमालेका प्रमुख निर्वाचित भएका छन् । बनेपा, पनौती र पाँचखालमा भने एमालेका उपप्रमुखले जितेका थिए। स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षहरूको मतलाई हेर्ने हो भने गठबन्धन दलको मत ६० हजार ६ सय २ छ । एमालेको ४५ हजार ५ सय १४ मत तथा राप्रपाको २ हजार ३ सय ५४ मत छ ।


Author

थप समाचार
x