दल

मैले जिते गुल्मीलाई नमुना जिल्ला बनाउँछु : नेता भण्डारी

इकागज |
कात्तिक २४, २०७९ बिहिवार १४:४८ बजे

काठमाडौँ- नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् ।​

बिहीबार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौँमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको जिकिर गरे ।


नेता भण्डारीले नेताहरूले लुटेको सम्पत्तिलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको उल्लेख गरे । उनले राजनीतिक दलहरूले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरूलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरूलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको बताए ।

नेपालले अहिले ७ खर्ब विदेशी ऋणको ब्याज तिरिरहेको र २२ खर्ब व्यापार घाटा रहेकाले देशको अर्थतन्त्रलाई सुधार गरी बलियो बनाउने शक्तिलाई जनताले निर्वाचनबाट चुन्नुपर्ने आवश्यक्ता भएको नेता भण्डारीकाे भनाइ छ । उनले नेपाली राजनीतिमा बेइमान नेताहरू भएको बताए । बेइमान नेताहरूका कारण देश र देशको सौन्दर्यलाई चिन्न नसकेको उनकाे आराेप छ । उनले खरको छाना हालेर बस्नेहरूलाई गरिब भनेर विस्थापित गर्ने र अहिले सहरमा खरकै छाना बनाएर करोडौं कमाइरहेको बताए ।

नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पुर्‍याउने नेताहरूलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने भनाइ राखेका छन् । उनले आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमुना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।


Author

थप समाचार
x