दल

संघीय निर्वाचन

कञ्‍चनपुर-३ मा लेखक कि पाल ?

दीपक उपाध्याय |
कात्तिक २५, २०७९ शुक्रबार १२:१९ बजे

कैलाली - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका रमेश लेखक र नेकपा एमालेका निरुदेवी पालबीच कसले बाजी मार्ला भन्ने विषयमा व्यापक चर्चा चुलिएको छ । लेखकले २०५६ र २०७० सालमा प्रत्यक्ष निर्वाचन जितेका थिए भने २०६४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा र यसै क्षेत्रबाट चुनाव लड्ने भएपछि लेखक समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

तर २०७४ सालको संसदीय निर्वाचनमा भने उनलाई एमालेका डा. दीपक प्रकाश भट्टले झिनो मतान्तरले पराजित गरे । भट्टले २६ हजार ३६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार १०१ मतमात्रै ल्याएका थिए । 


कञ्चनपुर–३ मा भीमदत्त नगरपालिकाका १९ वटै वडा, महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका १० वडा र भीमदत्तसँग जोडिएको बेदकोट नगरपालिकाको एक वडा गरी ३० वडा छन् ।

२०६४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरा र कञ्चनपुर ४ बाट चुनाव लडेका थिए। त्यसबेला देउवाले जिते पनि । आफू प्रत्यक्ष चुनाव लडने भएपछि देउवाले लेखकलाई समानुपातिकमा लगेका थिए । तर देउवाले कञ्चनपुर ३ छोडेपछि त्यहाँ उपचुनाव भयो । उपचुनावमा भने नेकपा माओवादी केन्द्रका हरिश ठकुल्लाले निरुदेवी पाललाई पराजित गरेका थिए ।  

२०४८ सालको निर्वाचनयता यस क्षेत्रमा तीनपटक कांग्रेस, दुई पटक एमाले र एक पटक माओवालीले जितेको थियो । २०५१ सालको निर्वाचनमा एनपी साउदलाई पराजित गरी एमालेका उर्वादत्त पन्तले कञ्चनपुर ३ जितेका थिए । त्यसको २३ वर्षपछि २०७४ सालमा एमालेका डाक्टर दीपक प्रकाश भट्टले इतिहास दोहोर्‍याएका हुन् । निरुदेवी पाल, अहिले त्यो विरासत जोगाउन कसिएकी छिन् भने कांग्रेसका लेखक साख जोगाउने ध्याउन्नमा छन् ।

पालले समानुपातिक सांसद हुँदा कञ्चनपुर ३ मा आफूले धेरै काम गरेकी र केही अधुरा कामहरु समेत पुरा गर्नुपर्ने भएकोले यसपटक जनताले आफूलाई मत दिई विजयी गराउने कुरामा ढुक्क रहेको बताइन् । 

दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, त्यहाँसम्मको साढे ७ किलोमिटर चार लेनको सडक, महाकालीमा चार लेनको पक्की पुलहरु सबै एमालेको पालामा बजेट आएर निर्माण भइरहेको यहाँका जनतामा जगजाहेर रहेको बताउँदै पालले विकास निर्माणमा एमालेले सधैँ अग्र स्थानमा रहने जनताले बुझिसकेको बताइन् ।

सत्ता गठबन्धनका उम्मेदवार लेखक गठबन्धनका ८ हजार मत बढी हुनु, गठबन्धनले संघीयता र लोकतन्त्र जोगाउन खेलेको भूमिका नै आफ्नो जित्ने आधार रहेको बताउँछन् । उनले यहाँका मतदातालाई गठबन्धनले मात्रै देश विकास र समृद्धितर्फ अगाडि बढ्ने कुरा राम्रोसँग थाहा भएका कारण आफूलाई जित्न कुनै समस्या नरहेको बताए ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x