दल

एमालेका यी पदाधिकारी जो प्रारम्भिक मतगणनामा पछाडि छन्

इकागज |
मंसिर ५, २०७९ सोमवार १८:१८ बजे

काठमाडौं– अहिले देशका थुप्रै स्थानमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना जारी छ । प्रारम्भिक मतगणनामा नेकपा एमालेका छ पदाधिकारीहरू पछाडि परेका छन् । पछाडि पर्नेमा महासचिव शंकर पोखरेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव लेखराज भट्ट, उपाध्यक्षहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ रहेका छन् । 

दाङ–२ मा शंकर पोखरेल पछाडि परेका छन् । उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले उछिनिरहेकी छन् । शर्माले १४५० मत पाउँदा पोखरेलले ८४६ मत पाएका छन् ।


कैलाली–४ बाट उम्मेदवारी दिएका लेखराज भट्टलाई नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले उछिनेका छन् । भट्टले ३९४ मत पाउँदा बलायरले ७२६ मत पाएका छन् । 

त्यस्तै, सुवासचन्द्र नेम्वाङ पनि इलाम–२ मा पछि परेका छन् । उनलाई कांग्रेसका डम्बरबहादुर खड्काले पछाडि पारेका हुन् । नेम्वाङले २७६ मत पाउँदा खड्काले ३४२ मत पाएका छन् ।  

रूपन्देही–२ बाट उम्मेदवार बनेका अर्का पदाधिकारी विष्णुप्रसाद पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले पछाडि पारेका छन् । पौडेलले ८३ मत पाउँदा गणेशले १२६ मत पाएका छन् । 

यता संघीय राजधानी काठमाडौंमा ईश्वर पोखरेल पछाडि परेका छन् । काठमाडौं– ५ बाट उम्मेदवारी दिएका ईश्वर पोखरेल दोस्रो स्थानमा छन् । पोखरेल नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलसँग पछाडि परेका हुन् । पौडेलले ५७८ मत पाउँदा पोखरेलले ४५८ मत प्राप्त गरेका छन् ।

अर्का पदाधिकारी सुरेन्द्र पाण्डे चितवन– १ मा उछिनिएका छन् । पाण्डे तेस्रो स्थानमा छन् । अहिलेसम्म ३ हजार ४ सय ३८ मत गनिएकोमा उनले ७ सय ३४ मत पाएका छन् । कांग्रेसका विश्वनाथ पौडेल १हजार १२१ मतसहित पहिलो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल १ हजार ९१ मतसहित दोस्रो स्थानमा छन् ।


Author

थप समाचार
x