दल

संसदीय निर्वाचनमा गगनको ह्याट्रिक जित

इकागज |
मंसिर ६, २०७९ मंगलबार १२:५२ बजे

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापा तेस्रो पटक विजयी भएका छन् । उनी पहिलो पटक  २०६४ सालको संविधानसभामा समानुपातिक संसद् छिरेका थिए ।  २०७० को दोस्रो संविधानसभामा उनी काठमाडौं–४ बाट निर्वाचित भएका थिए ।

यस्तै २०७४ मा भएको संसदीय निर्वाचनमा पनि थापा प्रतिनिधिसभामा काठमाडौँ–४ क्षेत्रबाट निर्वाचित भएका थिए । यसपटकको उनको जितसँगै उनको ह्याट्रिक जित भएको छ ।


थापा नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४ सय ५७ मतान्तरले हराउँदै विजयी भएका छन् । थापाले २१ हजार ३ सय ३ मत पाउँदा भट्टराईले  १३ हजार ८ सय ४६ मत पाएका छन् । 

अघिल्लो निर्वाचनमा पनि थापाका प्रतिद्वन्द्वी भट्टराई नै थिए । त्यसबेला थापाले ३ हजार ४ सय ११ मतको फरकले हराएका थिए । त्यो बेला थापाले २१ हजार ५ सय ५१ मत ल्याउँदा भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए । 

२०३३ सालमा काठमाडौँमा जन्मिएका थापा २०४६ सालको जनआन्दोलनबाट राजनीतिमा आएका हुन् । २०५१ सालमा नेविसंघबाट त्रिचन्द्र कलेजको स्ववियु सदस्य भएका थापा २०५३ मा सचिव भएका थिए ।  २०५५ मा उनी सभापति निर्वाचित भए । पछि २०५७ मा नेविसंघको केन्द्रीय उपाध्यक्ष भएका थिए ।  २०५९ नेविसंघको महामन्त्री हुँदै २०६८ मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । पार्टीको १३ औं महाधिवेशनमा महामन्त्रीमा उठेका उनले पराजित हुनुपरेको थियो । 
१४औं महाधिवेशनबाट पार्टीको महामन्त्री भएका थापा आफूलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिहेका छन् । यसपटक कांग्रेसको संसदीय दलमा प्रतिस्पर्धा गरेर प्रधानमन्त्रीमा हस्पक्षेप गर्ने उनले बताउँदै आएका छन् ।


 


Author

थप समाचार
x