दल

डाक्टर तोसिमाको संसदीय यात्रा : शरीर चिरफार गर्नेले बेथिति चिरफार गर्लिन् ?

सदिक्षा आचार्य |
मंसिर ८, २०७९ बिहीबार ९:१७ बजे

काठमाडौं– डा. तोसिमा कार्कीको उम्मेदवारी रात दुगुना, दिन चौगुना फैलिँदै गयो । तोसिमाकै शब्दमा उनलाई निर्वाचन आयोगले देशैभर चिनायो । शरीर चिरफार गर्ने डा. तोसिमा कार्की अब संसद् छिरेकी छन् ।

आफ्नो उम्मेदवारीको विषयलाई लिएर सर्वोच्च अदालतको ढोकासम्म धाउनुपरेकी डा. कार्की भारी मतान्तरले विजयी हुँदै संसद्‍मा प्रवेश गरेकी छन् । तोसिमाले ३१ हजार १३६ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत मात्रै प्राप्त गरे । तोसिमा १८ हजार १७३ मतान्तरले विजयी भएकी हुन् । माओवादी केन्द्रकी पम्फा भुसालले ८ हजार ७६९  मतमात्र ल्याइन् । 


यसरी निर्वाचित भएकी नवनेतृ कार्कीबारे चर्चा चुलिएको छ । उनी को हुन् ? उनको अहिलेसम्मको यात्रा के हो भन्ने विषयमा जनचासो बढेको छ । 

तोसिमा कार्की आदिनाथ गाउँ, नख्खु खोला मार्ग, ललितपुर वडा नं १८ की स्थायी बासिन्दा हुन् । शहिद धर्मभक्त स्कुल, नख्खुमा कक्षा १० सम्म पढेकी उनले मोडर्न इन्डियन स्कुल, चोभारबाट कक्षा ११ र १२ सकेकी हुन् । किष्ट मेडिकल कलेज, ललितपुरबाट एमबिबिएस गरेकी उनले काठमाडौं विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स गरिन् । 

डा. तोसिमा कार्कीे विगत ११ वर्षदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा अभियानको नेतृत्व साथै नागरिकका जायज मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गरेकी छिन् । २०७१/७२ मा मेडिकल कलेजहरूमा हुने बेथिति विरूद्ध इन्टर्न डाक्टर तथा मेडिकल विद्यार्थी आन्दोलनको नेतृत्व गरेर अस्पताल तथा स्वास्थ्यकर्मीहरू माथि हुने भौतिक आक्रमणलाई न्यूनीकरण गरेर सुरक्षाको प्रत्याभूतिका लागि विगत सात वर्षदेखि विभिन्न चरणमा ‘सेभ मेडिकल फ्रयार्टनिटी मुभमेन्ट’को नेतृत्व गर्दै स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी ऐनमा ‘जेल विथआउट बेल’को अवधारण समेटी संशोधन गराउन उनी सफल भएकी छिन् ।

भूकम्पको बेला सिन्धुपाल्चोक, बतासे, रामेछाप, नुवाकोट, साल्मे, ललितपुरको दुर्गम ठूलो दुर्लुङ लगायत ठाउँहरूमा स्वास्थ्य तथा राहत शिविरको समेत उनले नेतृत्व गरेकी थिइन् ।

त्यस्तै गरी शीतलहरको बेला सुनसरी, इनरुवा, रौतहटमा ‘जाडोमा न्यानो’ अभियानको नेतृत्व गरेकी तोसिमा बाढी पहिरोले घर खेत बगाएको बेला तराईको सप्तरी, सुस्ता, इनरुवा जस्ता बस्तीहरूमा ‘राहत तथा उद्धार’ कार्यक्रमका साथै स्वास्थ्य शिविर सञ्चालनसमेत गरेकी थिइन् । 

वि.सं. २०७४/७५मा त्रिवि मेडिकल कलेजहरूमा एमडी/एमएस/बिडिएस भर्नामा हुने भ्रष्टाचार र बेथितिविरुद्ध सर्वोच्च अदालतमा मुद्दाको नेतृत्च लिई मेरिट सूचीअनुसार भर्ना स्थापित गर्न समेत सफल भएकी छिन् ।

२०७५/७६ सालमा पुनः सर्वोच्च अदालतमा मुद्दाको नेतृत्व लिई त्रि.वि. मेडिकल कलेजहरूमा हुने स्नातकोत्तर भर्नाको भर्ना शुल्क निर्धारण गरी लागू गराउन सफल भएकी थिइन् ।

सबैभन्दा बढी त उनी डा.गोविन्द के.सी.को स्वास्थ्य क्षेत्रतर्फको २० पटकसम्मको सत्याग्रहको आन्दोलन, व्यवस्थापनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन् । 

कोभिड–१९ को महामारीमा निरन्तर ड्युटीमा खटिएको अवस्थामा स्वास्थ्यकर्मीहरूलाई सुरक्षा सामग्री व्यवस्थापन गर्नुका साथै आम जनमानसका लागि जनचेतना, स्वास्थ्य सामग्री, अक्सिजन सिलिन्डर तथा होम आइसोलेसनलगायतको सहजीकरणमा भूमिका निभाएकी थिइन् ।

देशभरका चिकित्सकहरूबाट समर्थन पाएर २०७८ सालको नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेपाल मेडिकल काउन्सिलको केन्द्रीय सदस्यको रूपमा निर्वाचित भएकी उनी मेडिकल काउन्सिलमा रहेर चिकित्सकहरू र चिकित्सकीय अभ्यासलाई प्रभावकारी बनाउन नीतिगत भूमिका निभाउँदै आएकी थिइन् ।

सामाजिक न्याय र भ्रष्टाचारविरूद्ध आन्दोलनहरूमा सक्रिय सहभागिता थियो ।

विगतमा  कुनै पनि राजनीतिक दलमा आबद्ध नभएकी तोसिमा प्रथम पटक बीबीसीको साझा सवालमा  प्रधानमन्त्री शेरबहादुर देउवालाई डा. गोविन्द केसीको अनसन र मुद्दामा कहिले सहमति हुन्छ भनेर प्रश्न सोधेकी थिइन् ।


Author

थप समाचार
x