दल

गण्डकीबाट विजयी राष्ट्रिय राजनीतिका 'हेभिवेट'हरू

धनबहादुर गुरुङ |
मंसिर ९, २०७९ शुक्रबार २१:४५ बजे

पोखरा - चुनावअघि नै गण्डकीमा केही 'हेविवेट' हार्ने निश्चित थियो । कारण केही हेविवेट भनिएका नेता एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका थिए । एउटाले जित्दा अर्कोले हार्ने निश्चित नै थियो । 

गण्डकीको मतपरिणामले केही हेभिवेटको वेट कायमै राखिदिएको छ । प्रदेशबाट यसपालि राष्ट्रिय राजनीतिमै प्रभावशाली केही ‘हेभिवेट’उम्मेदवार निर्वाचित भएका छन् । गोरखाबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, तनहुँबाट कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, बागलुङबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, लमजुङबाट एमाले उपमहासचिव पृथ्वीशुब्बा गुरुङ, नवलपुरबाट कांग्रेसकै पूर्वमहामन्त्री शशांक कोइराला, बागलुङबाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेललाई गण्डकी प्रदेशवासीले जिताएर पठाएका हुन् ।


हेभिवेटमध्ये पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले निर्वाचित भए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीलाई १३ हजार बढी फराकिलो मतान्तरले हराएका हुन् । बुर्लाकोटीले १२ हजार ६ सय ३७ ल्याए भने तेस्रो स्थानमा रहेको एमालेका तर्फबाट उम्मेदवार अब्दुस सलाम मियाँले ७ हजार ३ सय ९३ मतमा खुम्चिए । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ बाट विजयी भए । यसअघि नेकपा एमालेका उम्मेदवारसँग पराजित उनले यो पटक एमालेकै एकबहादुर रानामगरलाई पराजित गरे । उनका सामु नेपाली कांग्रेसकै प्रभावशाली नेता गोविन्दराज जोशीको पन्छ्याउनुपर्ने चुनौती थियो ।  पौडेलले यसपालि २५ हजार ३ सय १३ मत प्राप्त गर्दा एकबहादुरले १९ हजार ९ सय २५ मत ल्याए । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएर तेस्रो भए । 

यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बागलुङबाट निर्वाचित हुन सफल भए । बागलुङ-१ बाट केसीले २१ हजार ४ सय ५१ र पाठकले १८ हजार ८ सय २५ मत प्राप्त गरेका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठक यसपालि उपविजेतामा सीमित भए । 

गण्डकीका संस्थापक मुख्यमन्त्री समेत रहेका एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरे । दुवै जना हेभिवेट उम्मेदवारका रुपमा थिए । यहाँ एउटाले जित्दा अर्का प्रभावशाली नेताले हार्ने निश्चित थियो । पृथ्वीसुव्वाले ३४ हजार ९ सय ६९ मत प्राप्त गर्दा देवले ३१ हजार ७ सय ८१ मत ल्याए । 

नवलपुर क्षेत्र १ बाट कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले जीत दोहोर्‍याए । कांग्रेसमा हाल केन्द्रीय सदस्य रहेको डा.कोइरालाको यो चौंथो जित हो । उनले एमालेका कृष्ण पौडललाई हराएका हुन् । कोइरालाले २७ हजार ६७ मत प्राप्त गर्दा पौडेलको पक्षमा २५ हजार ४७ मत परेको छ । 

बागलुङ-२ बाट माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित हुन सफल भए । बहालवाला शिक्षामन्त्री समेत रहेका उनले २४ हजार ७ सय ७९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मञ्जु शर्माले २० हजार १ सय ८० प्राप्त गरिन् । 

अर्को हेभिवेट क्षेत्र स्याङ्जा २ को मतगणना हुन सकेको छैन । त्यहाँ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेकी उपमहासचिव पद्‍मा अर्याल चुनावी मैदानमा छन् । यहाँ पनि एकले हार्दा अर्कोले संसद् भवनको बाटो खुल्ला गर्नेछन् । उनीहरू २ मध्ये जसले जिते पनि राष्ट्रिय राजनीतिमा राम्रै प्रभाव छोड्न सक्छन् । 

यस्तै मनाङका टेकबहादुर गुरुङ, स्याङ्जा १ का राजु थापा, तनहुँ २ का शंकर भण्डारी, पर्वतका पदम गिरी, कास्की २ कि विद्या भट्टराई, मुस्ताङका २९ वर्षिय युवा प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली राष्ट्रिय राजनीतिमा गण्डकीबाट प्रभाव छाड्न सक्ने क्षमता छ ।

म्याग्दीका खम्बिर गर्बुजा, नवलपुर २ का विष्णु कार्की, गोर्खा १ का राजेन्द्र बजगाई, कास्की १ का मनबहादुर गुरुङ, कास्की ३ का दामोदर पौडेल बैरागी पनि गण्डकीबाट निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा अघि बढेका नेता छन् । 
 


Author

थप समाचार
x