दल

'नयाँ पुस्ता तयार भइसक्यो, उहाँहरूलाई सरकार चलाउने बाध्यता छैन'

देउवासहित सबैलाई भन्छु- अब सरकार चलाउने जिद्दी नगर्नुस्, ढुक्क भएर बस्‍नुस् : गगन थापा

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २२:४४ बजे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पनि कांग्रेस नेतृत्वमा सरकार बन्दा पूरानै नेताले नेतृत्व गर्नुपर्ने बाध्यता नरहेको बताएका छन् । काठमाडौँ-४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्यसमेत रहेका थापाले अब दोस्रो पुस्ता तयार भइसकेकोले पूरानालाई सरकारको नेतृत्वमा बसिरहने बाध्यता नरहेको बताए । 

धन्यवाद र्‍याली गरिरहेका थापाले शुक्रबार निर्वाचन क्षेत्रमा सन्चारकर्मीसँगको कुराकानीमा पूराना नेताहरूले विश्राम गर्नुपर्ने बताए । 'सभापतिजीलाई पनि घरमै भेटैर भन्ने योजना बनाएको छु । अब कांग्रेसले सरकारको नेतृत्व गर्दा उहाँहरूले नै सरकार चलाउनुपर्ने बाध्यता छैन । किनकि अब हामी तयार भइसक्यौँ,' उनले भने, 'हामी तयार नभएको भए अभिभावकलाई चलाउनु पर्ने बाध्यता हुन्छ । कान्छो सदस्य तयार भइसक्दा ढुक्क भएर बस्दा हुन्छ ।  म भन्छु अब तपाईहरू विश्राम गर्दिनुस् । पार्टीको जिम्मेवारीमा हुनुहुन्छ । पार्टी चलाउनुस् । ​देउवासहित सबैलाई भन्छु सरकार चलाउने जिद्दी नगर्नुस्।'


कांग्रेसले अब पनि नयाँ सोच र शैलीमा काम नगरे पार्टीले ठूलो क्षति व्यहोर्ने उनले बताए । आफू अगाडि बढिसकेकोले अब पछाडि फर्किने ठाउँ नरहेको उनको भनाइ छ । 'कांग्रेसले अब पनि नयाँ सरकार दिँदै गर्दा नयाँ सोच र शैली दिए भने पार्टीले ठूलो क्षति व्यहोर्नुपर्छ भन्ने सन्देश मतपरिणामले दिएको छ । अब पनि सरकारमा नयाँ अनुहार र शैली दिन सकेन भने कांग्रेसले मतदातालाई आकर्षित गरिरहन सक्छ ? मेरो लडाइँ म लडिहाल्छु । अगाडि बढिसकेँ । पछाडि फर्किने कुरै छैन,' उनले भने, 'सबैको आशिर्वाद खोज्छू नै । शेखर कोइरालासँग पनि कुरा गर्छु । उहाँको साथ सहयोग रहन्छ । कांग्रेसको भविष्यका निम्ति पनि यो लडाइँ अनिवार्य भयो ।'


Author

थप समाचार
x