दल

मधेश प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

इकागज |
मंसिर ९, २०७९ शुक्रबार २३:१७ बजे

धनुषा - मधेश प्रदेश सभामा यस पटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले  जनप्रतिनिधिका रुपमा चयन गरेका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व यस पटक मधेश प्रदेशसभा देखिने भएको छ।

प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ गरी जम्मा एक सय सात प्रदेशसभा सदस्य चुनिने छन् । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनः दोहोरिएका छन् । पहिलो अनुभव लिनेको सङ्ख्या पनि उल्लेख्य छ । मुख्यमन्त्री लालबाबु राउत फेरि दोहोरिएका छन् । जनता समाजवादी पार्टी (जसपा) का राउत पर्सा–१ को प्रदेशसभा (२) बाट निर्वाचित भएका छन् । 


कांग्रेस नेता रामसरोज यादव धनुषा–३ को प्रदेशसभा (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसकेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि  बारा–४ प्रदेशसभा (२) बाट दोस्रो पटक निर्वाचित भएका छन् । सोनल मधेश प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री  भइसकेका व्यक्ति हुन्।

पर्सा–२ को प्रदेशसभा (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित भएका छन् । विसं २०७४ को निर्वाचनमा कुर्मी तत्कालीन राजपाबाट निर्वाचित भएका थिए । पर्साकै अर्को क्षेत्र–४ प्रदेशसभा (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । रौतहट–४ प्रदेशसभा (२) बाट जसपाका शेषअबुल कलाम आजाद पनि दोस्रो पटक निर्वाचित भएका छन्

यसैगरी, सर्लाहीबाट चारजना प्रदेशसभा सदस्य दोस्रो पटक निर्वाचित भएका छन् । सर्लाही–१ प्रदेशसभा (१) बाट लोसपाका उपेन्द्र महतो, १ प्रदेशसभा (२) बाट वेंची लुङेली, ३ प्रदेशसभा (२) बाट जसपाका सञ्जयकुमार यादव र ४ प्रदेशसभा (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भएका छन् । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्रीसमेत भइसकेका छन् ।

त्यस्तै महोत्तरी–३ प्रदेशसभा (१) मा लोसपाबाट उम्मेदवार बनेका अभिराम शर्मा र ३ को प्रदेशसभा (२) बाट रानी शर्मा पुनः निर्वाचित भएका छन् । धनुषा–२ प्रदेशसभा (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । सप्तरी–३ प्रदेशसभा (१) मा कांग्रेसका मोहमद समिम पनि दोस्रो पटक निर्वाचित भएका छन् । 
    
नयाँ अनुहार

पर्सा–१ प्रदेशसभा (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा–२ प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल र पर्सा–३ प्रदेशसभा (२) बाट जित्नुभएका कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो।

यस्तै, बारा–३ प्रदेशसभा (१) बाट निर्वाचित एमालेका रवीन्द्रदास श्रेष्ठ र बाराकै क्षेत्र–४ प्रदेशसभा (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुन्। रौतहटमा प्रदेशसभामा निर्वाचित सातजनामध्ये ६ नयाँ छन् । क्षेत्र–१ प्रदेशसभा (१) बाट नागेन्द्र साह र १ प्रदेशसभा (२) बाट कृष्णप्रसाद यादव निर्वाचित भएका छन् । कांग्रेसका दुवै नेताको प्रदेशसभाको पहिलो यात्रा हो। कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुन् । 

यसैगरी, क्षेत्र–२ प्रदेशसभा (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र–२ प्रदेशसभा (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र–३ प्रदेशसभा (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र–४ प्रदेशसभा (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुन् । सर्लाही–४ प्रदेशसभा (२) मा माओवादीका फकिरा महतो र धनुषा–२ प्रदेशसभा (१) मा एमालेका लखनदास तत्मा निर्वाचित हुँदै पहिलो पटक प्रदेशसभा सदस्य बनेका छन्। 

सप्तरीका ६ स्थानको नतिजा आउँदा प्रदेशसभा पुग्ने पाँचजना नयाँ हुन् । यसमध्ये चारजना नयाँ पार्टी ‘जनमत पार्टी’ को छन् । जसमा क्षेत्र–३ प्रदेशसभा (२) मा शम्भुकुमार साह, क्षेत्र–२ प्रदेशसभा (१) मा शतिशकुमार सिंह, क्षेत्र–२ प्रदेशसभा (२) मा महेशप्रसाद यादव र क्षेत्र–१ प्रदेशसभा (२) मा सकिल मियाँ निर्वाचित हुनुभएको छ । क्षेत्र–१ प्रदेशसभा (१) मा जितेका एमालेका राजकुमार लेखी पनि नयाँ हुन् ।

मन्त्री जो पराजित भए

विसं २०७४ मा निर्वाचित भई प्रदेशका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका केही मन्त्रीहरू भने यसपटक पराजित भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हुँदै हाल अर्थमन्त्री रहेका शैलेन्द्र साह सप्तरी–२ प्रदेशसभा (१) बाट पराजित भए ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रहेका योगेन्द्र राय यादव पनि पराजित भएका छन् । उनी रौतहट–१ प्रदेशसभा (२) मा उम्मेदवार थिए । प्रदेश मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर निर्वाचनमा होमिएका दीपेन्द्र झाले पनि पराजय व्यहोर्नु परेको छ । रासस
 


Author

थप समाचार
x