दल

'युवाको नेतृत्व देशलाई आवश्यक, अग्रजको आशीर्वाद आउँछ, देश हामीले चलाउँछौं'

इकागज |
मंसिर १३, २०७९ मंगलबार १९:५० बजे

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्नका लागि आफ्नो आवश्यक्ता रहेको बताएका छन् ।

उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरूको नेतृत्व देशलाई आवश्यक भएको बताएका हुन् । उनले नेपाली काँग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको जिकिर गरे ।


मंगलबार संसदीय नेताका लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली काँग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्नेकुरा पार्टीका लागि पनि आवश्यक रहेको बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले पार्टीका अन्य नेताहरूले प्रधानमन्त्रीका लागि दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गरे ।

महामन्त्री थापाले कुनै समय आफूले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता प्रकाशमान सिंहलाई संसदीय दलको नेताका रूपमा खुलेर भोट हालेको भन्दै अहिलेको बेलामा युवा पुस्ताको नेतृत्व आवश्यक भएकाले अग्रज नेताहरूले आफूलाई पुरानो गुण लगाउनेमा विश्वस्त रहेको भनाइ राखेका छन् ।

महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरूको साथ आफूलाई रहेको पनि बताए । अधिकांश काँग्रेस सांसदहरूसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरूलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरूले सहयोगको वाचा गरेको सुनाए । महामन्त्री थापाले अबको देशको नेतृत्व नेपाली काँग्रेसले नै गर्ने र काँग्रेसले नेतृत्व गर्दा नयाँ नेतृत्व दिनसके मात्रै नागरिकहरूलाई आश्वस्त बनाउन सकिने धारणा राखे । उनले नयाँ कुरा दिन नसके प्रारम्भबाट नै विश्वासको कडी टुट्ने बताए । महामन्त्री थापाले नयाँ नेतृत्वको बारेमा पार्टी सभापति, वरिष्ठ नेता र अग्रज नेताहरूसँग कुरा गर्न बाँकी रहेको र अग्रज नेताहरूकै समर्थन र आशीर्वादमा आफूले काँग्रेसबाट देशको अबको नेतृत्व गर्ने दाबी गरे ।

महामन्त्री थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित छन् । निर्वाचन अघिबाट नै अबको नेतृत्व आफूले गर्ने बताउँदै आएका महामन्त्री थापाले निर्वाचित भएको दिन नै संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका थिए । पार्टीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, नेता शेखर कोइराला लगायतले प्रधानमन्त्रीमा दाबी गरिरहँदा महामन्त्री थापालाई संसदीय दलको नेता चुनिन त्यत्ति सहज भने छैन । 
 


Author

थप समाचार
x