दल

सुनसरी-३

संसदीय यात्रामा गच्छदारको पहिलो हार : एमालेकी भगवती चौधरी ५ हजार बढी मतान्तरले विजयी

बाबुराम भण्डारी |
मंसिर १४, २०७९ बुधवार ६:५१ बजे

विराटनगर - आफ्नो चुनावी क्षेत्रमा प्रभावशाली उपस्थिति जनाउँदै आएका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अन्ततः नेकपा एमालेकी नेतृ भगवती चौधरीसँग पराजित भएका छन् । अहिलेसम्मको संसदीय निर्वाचनमा नहार्ने सूचीमा रहेका गच्छदार यसपटक भने हारेका हुन् ।

सुनसरीको क्षेत्र नम्बर ३ बाट आफ्नो जीवनको सातौं चुनाव लडेका गच्छदारले यो चुनावलाई ‘अन्तिम पटक’ भन्दै भोट मागेका थिए । मंगलबार सकिएको मतगणनाको अन्तिम मत परिणाम अनुसार एमाले केन्द्रीय सदस्य चौधरीले पाँच हजार बढीको मतान्तरले कांग्रेसका उपसभापति गच्छदारलाई पराजित गरेकी छन् ।


चुनावका खेलाडी मानिंदै आएका गच्छदारले मतगणनाको आठौं दिन सार्वजनिक मतपरिणाम अनुसार ५ हजार १८८ मनान्तरले पराजित भएका छन् । एमालेकी चौधरी ४० हजार ७८८ मतका साथ निर्वाचित भइन् ।

नेपाली कांग्रेसका उपसभापति समेत रहेका गच्छदारलाई उनले तेस्रो प्रयासमा पराजित गरेकी हुन् । गच्छदारले ३५ हजार ६०० मत पाएका छन् । टिकटका लागि सर्वसम्मत सिफारिस भएका गच्छदार एक्लै चुनाव लड्ने र जित्ने व्यक्तिमा गनिन्थे ।

यसपटक सत्ता गठबन्धनका थप चार दलको समेत समर्थनमा मैदानमा उत्रिएका गच्छदारलले निकै खराब परिणाम सहनु परेको हो । तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री गच्छदारको यो पराजय पछाडिको मुख्यकारण बालुवाटार जग्गा घोटला प्रकरण नै हो भन्ने बुझाइ व्याप्त छ । त्यसको फाइदा भगवति चौधरीले उठाउन सफल भएकी हुन् ।

मतगणनाका क्रममा सुरुवाती अग्रता कायम गरेकी चौधरीले गणनाका क्रममा एकपटक पनि पछि पर्नु परेन । निरन्तर अग्रता कायम गरेकी उनले गच्छदारसँगको तेस्रो भेटमा जित चाख्न सफल भइन् ।

नेपाली कांग्रेस छाडेर तत्कालिन मधेसी जनअधिकार फोरम र त्यसपछि फोरम लोकतान्त्रिकको नेतृत्व गर्दै पुनः कांग्रेस बनेका गच्छदारको संसदीय यात्राका अनेकौं रोचक पक्षमा यो हार भने नमिठो पक्षका रुपमा दर्ज भएको छ । गच्छदार र चौधरीबीचको पहिलो चुनावी भेट २०७० को दोस्रो संविधानसभा निर्वाचन थियो ।

त्यो निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष रहेका गच्छदारले चौधरीलाई ३६२ मतले पराजित गरेका थिए । पुनः २०७४ को आम निर्वाचनमा पनि चौधरी गच्छदारसँग ३२१ मतले पराजित बनिन् ।

दुई पटक पराजित भएकी चौधरीले भने आफ्नो पराजयको मुख्य कारण गच्छदारले गर्ने ‘धाँदली’ हो भन्ने आरोप लगाउँदै आएकी थिइन् । उनीहरुबीचको दुईवटा चुनाव र त्यसको मतगणना कार्य विवादित बन्न सकेन ।

यसपटक पनि मतगणनाका क्रममा गच्छदार र चौधरी पक्षबीच सामान्य विवाद भने उत्पन्न भएको थियो । तर कडा सुरक्षा व्यवस्थाका बीच भएको गणनाका कारण विवादले उग्र रुप लिन पाएन ।

२०४८ यता छ वटा चुनावका अपराजित पात्र गच्छदार यो पटक एमालेकी चौधरीले लगाइदिएको ‘चुनावी ब्रेक’ स्वीकार्न बाध्य बने । उनले २०४८, २०५१, २०५६ र २०७४ मा नेपाली कांग्रेसबाटै चुनाव जितेका थिए ।

गच्छदारविरुद्ध मैदान नछोडेकी भगवती भने पूर्वको राम्रो नाफा कमाइरहेको फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्सकी संस्थापक र संचालक रहेकी छन् । अखिल नेपाल महिला संघको राजनीतिबाट नेकपा एमालेको राजनीतिमा उदाएकी चौधरीले अहिले केन्द्रीय सदस्य तथा सुनसरी जिल्लाको सह–इन्चार्ज समेत रहेकी छन् ।

उनी २०६४ सालको पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य बन्दै वन तथा भू–संरक्षण राज्यमन्त्री पनि भएकी थिइन् ।

सुनसरी–३ गठबन्धन ‘क्लिन स्वीप’

यसपटक भगवतीले आफ्नो विजयको स्वादमात्रै चाखिनन्, सुनसरी–३ मा गठबन्धनलाई नै ‘क्लिन स्वीप’ गराइदिइन् । गच्छदारसँगै सुनसरी–३ को दुईवटै प्रदेशसभामा सत्ता गठबन्धन क्लिन स्वीप भएको हो । प्रदेशसभा (१) मा एमालेका रोहित बहादुर कार्कीले गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार तथा पूर्वउपसभामुख सरस्वती पोखरेललाई पराजित गरे ।

प्रदेशसभा (२) मा २०७४ मा पराजित भएका एमालेकै रामदेव यादव यसपटक निर्वाचित भए । यादवले कांग्रेसका विन्देश्वर यादवलाई ५७९ मतान्तरले पराजित गरेका हुन् । एमालेका रामदेवले १९ हजार ४७० मत प्राप्त गरेका छन् । पराजित बनेका कांग्रेसका विन्देश्वरले १८ हजार ८९१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x