दल

रुपन्देहीमा कांग्रेसले हारेपछि जिल्ला नेतृत्वको राजीनामा माग

इकागज |
मंसिर १४, २०७९ बुधवार २१:४ बजे

फाइल फोटो

रुपन्देही - रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिनुपर्ने माग भएको छ ।  देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधिसभातर्फ पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शुन्यमा झर्नुलाई पार्टी नेतृत्वको अक्षमता भएको भन्दै एक समूहले नेतृत्वको कमजोरी भएको ठहर गरेको हो । 

काँग्रेसका विभिन्न समितिमा आबद्ध  नेताहरूले एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु परेकोले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । 


यसरी विज्ञप्ति जारी गर्नेमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिका सदस्यहरू रामबहादुर कार्की, विष्णु पोखरेल, रमेश खनाल, हरिध्वज मल्ल, पूर्व लुम्बिनी प्रदेश समिति सदस्य रमा अर्याल, पूर्व महाधिवेशन प्रतिनिधि जसवन्त कुँवर, नेविसंघ पूर्व केन्द्रीय सदस्य हरि न्यौपाने, नेपाली काँग्रेस पूर्व क्षेत्रीय सचिव जोगबहादुर क्षेत्री, क्षेत्रीय प्रतिनिधिहरू खगेन्द्र रिजाल, रत्नबहादुर पौडेल, पोषराज चापागाईँ रहेका छन् । 

पार्टीभित्र अन्तर्घात गरिएको भन्दै केही सञ्चारमाध्यममा आफूहरूमाथि लगाइएको आरोपप्रति पनि उनीहरूले आपत्ति जनाएका छन्। गृहमन्त्री समेत रहेका रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाणसमेत निर्वाचनमा पराजित भएका थिए ।


Author

थप समाचार
x