दल

अन्तरघात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ : कांग्रेस मकवानपुर

इकागज |
मंसिर १८, २०७९ आइतवार २०:८ बजे

मकवानपुर- नेपाली कांग्रेस मकवानपुरले गत मंसिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारमाथि अन्तरघात नभएको बताएकाे छ । पार्टीले निर्वाचनमा अन्तरघात भएकाे प्रमाण भेटिए कारबाही गरिने समेत बताएको छ ।

पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै गठबन्धनका उम्मेदवारलाई अन्तरघात भएको सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रकाशित भएकाे समाचार आधारहीन कुरामा विश्वास नगर्न पार्टी र गठबन्धनका नेता कार्यकर्तामा आग्रह गरेको हो । विशेषगरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीमाथि गठबन्धन दल र पार्टीबाटै अन्तरघात भएको भनी आधारहीन प्रचार गरिएको पार्टीले जनाएको छ ।


‘हामी सबै पार्टी र गठबन्धनका उम्मेदवार जिताउन प्रतिबद्ध भएर लागेका थियौं । सबैको प्रयास हुँदा हुँदै पनि उहाँहरूको पराजय भयो, हामी दुखित छौं,’ पार्टी जिल्ला सभापति बुद्ध लामाले भने ।

‘केही माध्यमबाट पार्टीका जिम्मेवार व्यक्तिहरूकै नाम लिएर अन्तरघात गरियो भनेर कुप्रचार भएकाे छ,’ लामाले भने, 'पार्टी र गठबन्धनभित्र निर्वाचनको समीक्षा हुनै बाँकी छ, यदि कतै कसैले कमजोरी गरेको रहेछ भने हामी त्यसपछि के गर्नुपर्छ हामी गर्छौं ।’

पार्टीका उम्मेदवारहरूको पराजयका सम्बन्धमा भएको प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुर एवम् नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति, बागमती प्रदेश सभापति लगायत जिल्ला तहका नेताहरू गठबन्धनको मर्म/भावना अनुसारका क्रियाकलापहरूमा संलग्न भएको पार्टी जिल्ला प्रवक्ता अर्जुन चौलागाईंले प्रष्ट पारे ।


Author

थप समाचार
x