दल

पाँच वर्ष प्रतिपक्षमा !

ओलीको दम्भले दण्डित एमाले

इकागज |
मंसिर २१, २०७९ बुधबार ६:४१ बजे

काठमाडौँ - चुनावअघिसम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभामा आफ्नो पार्टीले कम्तीमा एक सय सिट जित्ने दाबी गरिरहेका थिए । उनलाई पार्टी फूटेको, संसद् विघटन गरेको, आफ्नै नेतृत्वको झण्डै दुईतिहाइ सरकार ढलेर बालुवाटारबाट बालकोट बार्दली पुगेको हेक्का थिएन ।

केवल एमाले फेरि पनि पहिलो पार्टी बन्ने, स्पष्ट बहुमत ल्याउने र अरुले भन्दा दोब्बर सिट जित्ने प्रक्षेपण गरिरहेका थिए । तर उनको त्यो प्रक्षेपण चुनावी परिणामसँगै पतन भएको छ ।


यसरी आफ्नै वाणको पतनमा सबैभन्दा ठूलो जिम्मेवार कोही छ भने त्यो नाम केपी शर्मा ओली हो । पाँच वर्षअघि प्रचण्ड बहुमत हासिल गरेको एमालेले यसपटकको चुनावमा प्रत्यक्षमा ४५ अंकमा टेक्न सकेन । जबकि ओलीले चुनावको २४ घण्टाअघिसम्म एमालेले १०० सिट जित्ने दाबी गरिरहेका थिए ।

समानुपातिकमा एमाले पहिलो भए पनि प्रत्यक्षमा दोस्रो पार्टी बनेको छ । यद्यपि भारी परेको संसद् विघटन, एकीकृत पार्टी नेकपा फुट्नु, एमाले चोइटिँदै एकीकृत समाजवादी बन्नु कारण देखिएका छन् । यद्यपि संगठन भने अझै मजबूत रहे/भएको देखाउँछ ।

पाँच वर्षअघि माओवादीसँग सहकार्य गरेर पहिलो बनेको एमाले यसपटक दोस्रो बनेपनि बाँकी पाँच वर्ष कम्तीमा एक्लो प्रतिपक्ष बन्ने सम्भावना बढेर गएको छ । सोमबार मात्रै बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावमा सफलता हासिल भएको भन्दै सरकार गठनमा अरु दललाई पनि समावेश गराउने पहल थाल्ने निर्णय गरेको छ ।

यसले चुनावमा एमालेसँग सहकार्य गरेका राप्रपा र जसपा पनि सरकारमा हुने बाटो खुला देखिएको छ । सत्ता भागबण्डामा स्वार्थ मिलेको खण्डमा राप्रपा र जसपा सरकारमा जाने सम्भावना यथावत् छ । 

जसकारण एमाले चुनावको परिणामले लगभग एक्लिएको छ । पाँच वर्षअघिको रापतापलाई सन्तुलन मिलाउन नसकेको ओली प्रवृत्ति यसपटकको चुनावमा उनकै लागि घातक देखियो । त्यसबाहेक अरु कारण पनि छन्, जसकारण जनमतले एमालेलाई पाँच वर्षअघिको बहुमतको सत्ताबाट निकालेर सडकमा राखिदिएको छ ।

ओली दम्भ

पाँच वर्षअघि एमाले र माओवादी मिलेर ल्याएको झण्डै दुई–तिहाइको जनमतलाई धेरैले स्थिरताको संज्ञा दिएका थिए । त्यतिबेला पहिलो संसद् बैठकमा बोल्दै प्रतिपक्षी सिटबाट कांग्रेस नेता गगन थापाले झण्डै दुई–तिहाइको बहुमतले देशलाई स्थिरता र समृद्धि दिने आशा रहेको बताएका थिए ।

जुन सम्भव पनि थियो । एमाले र माओवादीसँगै केही मधेशकेन्द्रित दल मिलेर सरकार बनाउँदा झण्डै दुईतिहाइ बहुमतको सरकार बनेको थियो । तर त्यो सरकार टिकाउने हैसियत ओलीले राखेनन् । बरु माओवादीसँग मिलेर नै प्रचण्ड बहुमत आएको समेत ओलीले बिर्सिदिए ।

जसको मूल्य उनैलाई महंगो परिदियो । ओलीको दम्भ त्यतिमात्रै थिएन, पत्रकार सम्मेलन गरेरै दोस्रोपटक संसद विघटन गर्ने कुचेष्टा पनि ओलीले गरेका थिए ।
पहिलोपटक संसद् विघटन गर्दा ओलीले चुनावको घोषणा गरेका थिए । तर उनले चुनावको मिति घोषणा गर्दा कोरोना महामारीको संक्रमण उच्च बिन्दुमा पुगेको थियो । दोस्रोपटक संसद् विघटन गर्दा ओलीले त्यसको मूल्य निकै महंगोसँग चुकाउनुपर्यो । नेकपा नफुट्दै माओवादी र एमालेबाट पनि असन्तुष्ट माधव नेपाल सडक आन्दोलनमा होमिए ।

सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेको रिटको सुनुवाइ गर्दै ओलीलाई बालुवाटारबाट बालकोट पुर्याउँदै प्रधानमन्त्रीको कुर्सीमा शेरबहादुर देउवालाई बसालेको थियो । 

एक अर्काको असाध्यै उछितो काट्ने ओली प्रवृत्तिका कारण पनि नागरिकले यतिबेला एमालेलाई उसले सोचेको र अनुमान गरेभन्दा आधा साइजमा मत दिएर पठाएका छन् । यो ओलीका लागि मात्रै एमाले पार्टीका लागि दण्डित विषय हो । जसको मूल्य ओली नेतृत्वको एमालेले पाँच वर्षसम्म चुकाउनु परिरहनेछ ।

पार्टीकै नेताहरूमाथि बदलाको भाव

यसपटकको चुनावमा ओलीको लोकप्रियताले हावा खाएजस्तै भयो । त्यसका पछाडि उनकै नेता कार्यकर्तामाथि पार्टी नेतृत्वका हिसाबले उनले गरेको खराब व्यवहार नै हो ।

विगतमा एमालेको आन्तरिक संघर्षको बेलामा माधव नेपालको पक्षमा रहेका नेताहरूलाई ओलीले छानी छानी बदलाको भाव राखेर पक्षपाती गरे । आफूसँग दशौँ महाधिवेशनमा चुनाव लडेको भन्दै ओलीले भीम रावललाई टिकट नै दिएनन् । भीम रावलले टिकट नपाउँदा एमाले सुदूरपश्चिममा अलोकप्रिय बन्यो ।

भीम रावलको कब्जामा रहेको जस्तै सुदूरपश्चिम ओलीको बलमिच्याईका कारण यसपटक नराम्ररी धक्का खायो । कर्णालीमा एमाले शून्य भयो । प्रतिनिधिसभामा एमालेले कर्णालीबाट एक सिट पनि जित्न सकेन । प्रदेशसभामा पनि पाँच वर्षअघि दुईतिहाइ बहुमत पाएको एमाले यसपटक भने प्रत्यक्षमा पाँच सिटमा खुम्चिएको छ । 

संघीय सरकारमा प्रतिपक्षी दल बन्ने एमाले प्रदेशमा पनि स्पष्ट बहुमतका साथ सरकार बनाउन सक्षम देखिँदैन । यद्यपि सबै प्रदेशमा अर्को दलको सहयोगमा सरकार बनाउने सम्भावना कायमै छ । 

तर यसअघि चार वटा प्रदेशमा एमालेकै नेतृत्वमा सरकार हुँदा वाम गठबन्धन टुटेसँगै एमालेका मुख्यमन्त्री धमाधम बर्खास्त भएका थिए । यसपटक सत्ता गठबन्धनको सातै प्रदेशमा स्पष्ट बहुमत हुँदा एमालेका लागि प्रतिकूल छ । 

पार्टीका महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पनि चुनाव हारेका छन् । एकातिर युवा र स्वतन्त्रको लहर आउँदा अर्कोतिर ओलीको लोकप्रिय छवि अलोकप्रिय बन्दा मतदाताले यसपटक मत फेरेका छन् ।

समानुपातिकमा लोकप्रिय मत ल्याएको एमाले यसपटक प्रतिपक्षमा खुम्चिदा उसकै नेता कार्यकर्तालाई गम्भीर धक्का लाग्ने निश्चित छ । नेतृत्वमै गम्भीर विचलन आउँदा राष्ट्रपतिलाई समेत विवादमा तान्ने ओली प्रवृत्ति विस्तारै घातक रहेको समयक्रमले देखाउँछ ।

यसपटक कांग्रेसबाट गगन थापा र स्वतन्त्र पार्टीबाट रवि लामिछाने लगायतका युवा नेताहरूको वर्चश्व जम्दा ओली प्रवृत्तिकै नेताहरू बिस्तारै मूलधारको राजनीतिबाट पाखा लाग्ने सम्भावना पनि धेरै छ ।

त्यसका लागि कम्तीमा अर्को चुनावसम्म ओली जस्ता नेताहरूले आफूलाई सुधार्छन् वा अहिलेकै जसरी दम्भ पालिरहन्छन् ? त्यो समयले नै देखाउनेछ ।


 


Author

थप समाचार
x