दल

गगनको आक्रोश : लौ न त देश बदलौँ भन्दा बाबुहरूको उमेर कति छ भनेर साेध्ने ?

बाबुराम भण्डारी |
मंसिर २०, २०७९ मगलवार १८:० बजे

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाएर देशको अवस्था बदलौँ भन्दै हिँड्दा तिमीहरूको उमेर कति छ ? भन्दै प्रश्न आउन थालेको बताएका छन् ।

उनले 'अब कांग्रेसको कुन दाइ रिसाउनु हुन्छ' भनेर भन्न छाड्न कांग्रेसको पछिल्लो पंक्तिलाई आग्रह गरेका छन् । कांग्रेसका युवा नेता गुरुराज घिमिरेले लेखेको बाटो बिराएको मान्छे नामक विचार संग्रह विमोचन कार्यक्रममा विराटनगर पुगेका महामन्त्री थापाले कांग्रेसको नयाँ पुस्ताले एक थान सरकार मात्रै नचाहेको बताए ।


'सरकार केका लागि भन्ने कुरा भन्दै भन्दैनन्, व्यक्ति वा विचार नबदलिकन नयाँ काम हुन्छ भन्ने अपेक्षा कसरी गर्न सकिन्छ ?’ थापाले भने, ‘गुरु घिमिरे बाटो बिराएको राजनीति भनेर लेखेको लेख्यै गर्ने, हामी तलबाट ताली बजाएको बजाई गर्ने ? लौ न त देश पनि बिग्रियो, बर्बाद पो पनि भन्ने, अनि लौ न त बदलौँ हामी बदल्छौँ भन्दा बाबुहरूको उमेर कति छ भनेर पनि सोध्ने, यो त मिल्दैन नि त ।’

उनले मुलुकको अर्थतन्त्र सम्हाल्नै नसक्ने अवस्थामा डामाडोल भएको बताए । ठूलादेखि सानो-सानो व्यापार पनि अस्तव्यस्त भएकाले अहिलेको अवस्थालाई सम्हाल्न सक्ने क्षमता राखिकन अहिलेकै व्यवस्थाबाट समाधान खोज्नुपर्ने उनकाे भनाइ छ ।

महामन्त्री थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै अहिले पनि सरकार गठबन्धनकै सरकार भएको तर यो सरकार केका लागि भन्ने कुराको जवाफ दिन नसक्ने उनले उल्लेख गरे । उनले अरू सरकारभन्दा के फरक छ भन्ने कुरा देखाउन नसक्ने व्यक्तिबाट फेरि नयाँ काम गर्छौं भन्ने अपेक्षा पूरा नहुने बताए ।

घिमिरेले हालसम्म विभिन्न संचार माध्यममा प्रकाशित भएका ५० वटा विचारलाई संग्रह गरेर प्रकाशन गरेको पुस्तकको विमोचन महामन्त्री थापासहित नेता डा.शेखर कोइराला लगायतले गरेका थिए । नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा नेता कोइरालाले कांग्रेसले अब बाटो नबिराउने र कांग्रेसको साख गिर्न नदिने दाबी गरे ।

उनले महामन्त्री थापाप्रति संकेत गर्दै भने, ‘युवाहरू सही ट्रयाकमा हिँड्नुस्, हामी बाटो देखाइदिन्छौं, तर सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा कम्प्रमाइज गर्दैनौँ ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x