दल

नयाँ सरकार गठनका दश दाउ : कांग्रेस-एमालेसँग नौ विकल्प

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १०:३ बजे

काठमाडौँ - निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनको दौडधुप सुरु भएको छ । खासगरी प्रमुख राजनीतिक दलहरू आफ्नो नेतृत्वमा बहुमत जुटाउन हिसाब–किताबमा जुटेका छन् । उनीहरूले बहुमत पुर्‍याउन भेटघाट, छलफल र वार्ता बढाएका छन् ।

यसपाली संसद्‍मा सात राष्ट्रियसिहत १२ राजनीतिक दलहरूको प्रतिनिधित्व भएको छ । पाँच जना स्वतन्त्र सांसदहरूले पनि चुनाव जितेका छन् ।


अब नयाँ सरकार गठन गर्ने अंकगणितीय अवसरलाई हेरौँ

संसद्‍मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) पाटी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी १२ वटा राजनीतिक दलको प्रतिनिधित्व भएको छ । ५ जना स्वतन्त्र सांसदहरूले जितेका छन् ।

समानुपातिकको सिट बाँडफाँटलाई हेर्दा प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ३२ सिट ल्याएको छ । कांग्रेसको कुल सांसद ८९ हुनेछन् । त्यस्तै नेकपा (एमाले)ले प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ गरी ७८ सिट जितेको छ । नेकपा (माओवादी केन्द्र) को १८ सिट प्रत्यक्ष र १४ सिट समानुपातिक गरी ३२ जना छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट हात पारेको छ । उसले समानुपातिकमा १३ थपेर २० सिट प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सिट, जसपाले प्रत्यक्षमा ७ र समानुपातिक ५ गरी १२ सिट र जनमतले प्रत्यक्षमा १ र समानुपातिकमा ५ गरी जम्मा ६ सिट हात पारेको छ । यिनै सात पार्टीले थ्रेस होल्ड कटाएका छन् र राष्ट्रिय पार्टीको मान्यता पनि पाएका छन् । अन्य ५ पार्टीले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । समानुपातिकबाट सिट नपाए पनि नेकपा (एकीकृत समाजवादी) को १० सिट, नागरिक उन्मुक्ति पार्टी ३ सिट, लोकतान्त्रिक समाजवादी पार्टी ४ सिट, राष्ट्रिय जनमोर्चा १ सिट, नेपाल मजदुर किसान पार्टी १ सिट र स्वतन्त्र सांसदहरू पाँच सिटको संख्यामा छन् ।

संसद्को अंक गणित हेर्दा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । स्वाभाविक रूपमा ठूलो दलले सरकारको दाबी गर्नेछ र आफ्नो नेतृत्वमा सरकार बनाउन पहलकदमी लिनेछ । त्यसो त विगतमा सत्तारूढ गठबन्धनमा आवद्ध दलहरू गठबन्धन बनाएर नै निर्वाचनमा गएका हुन् र निर्वाचनपछि पनि गठबन्धनकै सरकार बनाउने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । सोमबार मात्र बैठक बसेर गठबन्धनलाई निरन्तरता दिने सहमतिसमेत भइसकेकोमा पुनः सरकार गठन गठबन्धनकै हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यि गठबन्धनले चुनावमा बुहमत ल्याएको छैन ।

नेपाली कांग्रेसको नेतृत्वमा पहिलो विकल्प

नेपाली कांग्रेसको ८९ सिट, नेकपा (माओवादी केन्द्र) को ३२, नेकपा (एकीकृत समाजवादी) को १० सिट, लोकतान्त्रिक समाजवादी पार्टीको ४ सिट र राष्ट्रिय जनमोर्चाको १ सिट गरी जम्मा १३६ सिट पुग्छ । सरकार गठनका लागि चाहिने बहुमत संख्या १३८ हो । यो गठबन्धन बनाउँदा २ सिटको अपुग देखिन्छ । यसमा स्वतन्त्रबाट निर्वाचित दुई सांसदलाई समावेश गराउन सकियो भने बहुमत पुग्छ र सरकार बनाउन सकिन्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा दोश्रो विकल्प

त्यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी मिलेको खण्डमा १६५ सिट संख्या पुग्छ । यसो हुँदा बहुमतको सरकार बन्नसक्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा तेश्रो विकल्प

अर्को, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी) मिलाउँदा १५२ सिट पुग्छ । सरकारको गठनको यो अर्को सम्भावना हो ।

नेपाली कांग्रेसको नेतृत्वमा चौथो विकल्प

नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरेर १४३ सिट पुग्छ । यसो हुँदा नेकपा (माओवादी केन्द्र) लाई बाहिर राखेर कांग्रेसले सरकार बनाउन सक्छ ।

नेपाली कांग्रेसको नेतृत्वमा पाँचौं विकल्प

अर्कोतर्फ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको १४३ सिट पुग्छ । यसलाई पनि नयाँ सरकार गठनको अर्को सम्भावनाको रुपमा लिन सकिन्छ । माथि उल्लेख गरिएका गठबन्धनहरूमा स्वतन्त्र सांसदहरूको पनि संलग्नता हुनसक्ने सम्भावना पनि रहन्छ ।

नेकपा (एमाले) को नेतृत्वमा पहिलो विकल्प

दोस्रो दल बनेको नेकपा (एमाले) ले पनि सरकार गठनको लागि अंक गणित जुटाउन कस्सिएको छ । कतिपय नेताहरूले आफ्नो पार्टीको सरकारमा दाबी रहेको पनि सार्वजनिक अभिव्यक्ति दिएका छन् । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी गर्दा १३४ सिट पुग्छ । सरकार गठनका लागि ४ सिट अपुग हुँदा स्वतन्त्रहरूको सहयोग लिनुपर्ने हुन्छ ।

नेकपा (एमाले) को नेतृत्वमा दोस्रो विकल्प

त्यस्तै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी मिल्दा १४६ संख्या पुग्छ । जुन संख्याले सहजै सरकार गठन गर्न सकिन्छ ।

नेकपा (एमाले) को नेतृत्वमा तेस्रो विकल्प

अर्को, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी मिलाउँदा १३४ सिट पुग्छ जहाँ फेरि ५ सिट स्वतन्त्र सांसदहरूको सहयोग अनिवार्य हुन्छ ।

नेकपा (एमाले) को नेतृत्वमा चौथो विकल्प

त्यस्तै नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन गर्दा १४५ सिट संख्या पुग्छ र सरकार गठन गर्न सकिन्छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरकारको विकल्प

अर्को अत्यन्तै सहज विकल्पको रुपमा नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार बनाउँदा १६७ सिट पुग्छ । सहजै सरकार बनाउन सकिन्छ ।

यद्यपि संघीय सरकार बनाउँदै गर्दा शक्तिशाली पदहरू राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र राष्ट्रिय सभा उपाध्यक्ष जस्ता पदहरूमा पनि भागबण्डा मिलाउनुपर्ने चुनौतीमा दलहरू हुनेछन् । उता सातै प्रदेश सरकार गठन गर्न सहज हुनेगरी पनि संघीय गठबन्धन गर्न दलहरू अग्रसर हुन्छन् । न्युज एजेन्सी नेपालको सहयोगमा


Author

थप समाचार
x