दल

माओवादीले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव जितेका सरुल पुन भन्छन्

'अब हसियाँ हथौंडा बोक्दिनँ, बल्बकै सहाराले गाउँ उज्यालो बनाउँछु'

अतिन आचार्य |
मंसिर २८, २०७९ बुधवार ९:३४ बजे

काठमाडौँ- 'अध्यक्ष प्रचण्डसँग आज भेटघाट तथा एक आपसमा बधाइ आदान-प्रदान गरियो,' मंगलबार बिहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगकाे भेटपछि रुकुम पूर्व १ (१) बाट निर्वाचित सरुल पुनले ​ फेसबुकमा स्टाटस लेखे ।

पार्टीकै कामको सिलसिलामा उनले यसअघि पनि प्रचण्डलाई भेट्थे । तर, यसपटक भने उनी आफैँ  बधाइ दिन-लिन बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनले आफूले मात्र बधाइ लिएनन् प्रचण्डलाई पनि बधाइ दिए ।


उनी माओवादी केन्द्रले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर अनि  विजयी पनि भएका हुन् । गत मङ्सिर ४ गते भएको चुनावमा उनी ‘बल्ब’ चिह्न लिएर होमिएका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर ओलीलाई हराए पुन ४ हजार ४६५ मत प्राप्त गरी विजयी भएका थिए । 

आखिर दुई वर्षपछि प्रचण्डलाई भेट गर्ने सरुल को हुन् ? उनलाई बुझ्न किशोरावस्थामा फर्कनु पर्छ । उनले भोगेको अभावलाई बुझ्नुपर्छ । उनले देखेको गरिबीलाई सुन्नुपर्छ । गरिबी र अभावले गिजोलेको सरुलको परिवारमा  उनलाई माओवादी आन्दोलनप्रति झुकाव जाग्यो । झुकावले माओवादी आन्दोलनसँग नजिक्यायो ।

उनी युवावस्थामा माओवादी आन्दोलनमा होमिए । माओवादी पार्टी हो भन्ने उनलाई थाहा थियो । तर उनले यसको  विचार, आन्दोलनको दिशा कता जाने, र कहिलेसम्म चलिरहने त्यसको मेसो पाउन सकेका थिएनन् ।

सुरुवातमा राजनीति र युद्ध नबुझेका सरुलले पार्टीको सांस्कृतिक विभागमा रही कलाकारिता पनि गरे । उनले मादल र बाँसुरीलाई माओवादी आन्दोलनको सारथि बनाए । जब आन्दोलनले युद्धको रुप लिन थाल्यो तब उनले संगीत साधनालाई बिसाए । उनको हातबाट मादल बज्न छाडे । मादल बोक्ने हातले बिस्तारै हतियार बोक्न थाल्यो ।

आन्दोलनले लय समाउँदै थियो । आन्दोलन फैलँदै गयो र आन्दोलनको उचाई बढ्दै गएपछि उनले १७ वर्षमै हतियार बोके । उनलाई मादलको कर्णप्रिय धुनभन्दा गोली बारुदको आवाज प्रिय लाग्न थालेको थियो ।

पहिलोपटक युद्धमा हतियार सरुल नेतृत्त्वमा लुटिएको थियो । हतियारले मानिसलाई तर्साउने मात्र काम गर्ने उनलाई लागेको छ । विगतमा हतियार बोके पनि उनलाई अहिले कुनै पश्चाताप छैन । निर्वाचनमा विजय हासिल गर्नु पनि माओवादी आन्दोलनको हात रहेको उनी स्वीकार्छन् । आन्दोलनले विचार पैदा गर्न सहयोग गरेकाले जनताको घरदैलोमा पुग्न सहज भएको उनले बताए । सरुल अहिले हतियारलाई भन्दा जनताको मतपत्रलाई बलियो सम्झन्छन् ।

‘माओवादी आन्दोलनको राजनीतिमा तीन दशक बढी बिताएँ,’ उनले भने,’ आफ्नो गाउँ र राष्ट्रको सेवा गर्ने समयमा पार्टीले टिकट दिएन । आफ्नो ठाउँको विकास गर्नलाई पार्टीमा रही रहनुपर्छ मान्यतालाई त्यागी स्वतन्त्र उम्मेदवारी दर्ता गराए ।‘

सरुललाई ७ वर्षीय कान्छा छोराको उपचार गर्न काठमाडौँ आएका बेला अध्यक्ष प्रचण्डसँग भेट जुर्‍यो । कुनै समय प्रचण्डलाई उनी सुप्रिमो मान्थे । अहिले पनि उनी अध्यक्ष प्रचण्डलाई सम्मान गर्छन् ।

स्वतन्त्र उम्मेदवारमा बल्ब चिह्न लिएर विजेता बनेका उनले पाँच वर्ष विकास गर्न गाउँ-गाउँमा बल्ब बालेर हिड्ने बताए । 'हसियाँ हथौडा बोक्दिनँ । बल्बकै सहाराले गाउँलाई उज्यालो बनाउने छु,' उनी सुनाउँछन् ।

प्रचण्डसँगको भेटघाटमा उनले टिकट वितरणमा कमीकमजोरी भएको गुनासो राखेका थिए । ‘केन्द्रले जिल्ला तहदेखि गाउँसम्म हेर्न नसक्दा पार्टीले पराजय भोग्दै गएको भनेर हामीले अध्यक्ष प्रचण्डलाई कुरा राखिम,’ उनले भने,’ हाम्रो पार्टीका प्रतिनिधिले तपाइलाई चिन्न नसक्नु र स्थानीयको कुरा नसुन्दा भुल भयो । पार्टीका उम्मेदवारले पनि पराजय भोगे ।'

प्रचण्डलाई अहिले पनि उनी मान्छन् । सरुलले विगतलाई सम्झँदै प्रचण्डसँग भेटघाट गरे । उमेरले ४५ वर्ष टेक्न लागेका उनी जनताबाट टाढा जान नसक्ने बताउँछन् । निर्वाचनले पुनः जनताको सेवा गर्ने अवसर पाएको उनको बुझाइ छ ।

माओवादीले टिकट नदिएर आफ्नै विश्वासले विजयी भएका सरुल पार्टीको आदर्शलाई पछयाएर काम गर्ने उनले बताए । माओवादीले राजनीति र जनताको भावना बुझ्ने बनाइदिएको उनले सुनाए ।

‘स्वतन्त्र उम्मेदवार बनेर विजयी भए पनि विकास गर्नलाई इच्छाशक्ति भए केहीले पनि अवरोध गर्दैन,’ उनको प्रस्ट विचार सुनाउँदै भन्छन् ,’ पाँच वर्षका लागि जनताले पठाएका छन् । दलबाट मुक्त भएको छु ।  जनताको काम गर्नेछु ।‘

लुम्बिनी प्रदेशसभामा विजयी भएदेखि उनले मतदाताको घरदैलोमा पुग्ने क्रम रोकेका छैनन् । मतदातालाई धन्यवाद दिँदै गुनासो सुन्ने कामलाई निरन्तरता दिइरहेका छन् । रुकुममा बाटो, स्वास्थ्य तथा शिक्षा जस्ता समस्या रहेकाले त्यसलाई प्रदेशसभामा र स्थानीय तहमा जनताको आवाज लिएर जाने उनले बताए ।

माओवादी आन्दोलनमा लागेका साथीहरूले पार्टीको अनुशासन तोड्दै गएकाले पार्टीमा क्षयीकरणतर्फ लागेको उनी बताउँछन् । संसदीय व्यवस्थाको बाटो अपनाउँदा पार्टीले मुख्य धार बदलेको उनको बुझाइ छ ।

‘नेतृत्वको महत्त्वकांक्षा बढ्दा, क्रियाशील कार्यकर्तालाई पहिचान नगर्दा र जनताको मन जित्न भन्दा आफ्ना लागि धन कमाउन लाग्दा पार्टी खुम्चिँदै गएको हो,’ उनले पार्टीले हार व्यहोर्नुको कारण सुनाउँदै भने,’ जनताको स्वार्थभन्दा पनि नेताहरू आफ्नो व्यक्तिगत स्वार्थमा लाग्दा माओवादी लोप हुँदै गएको हो ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x