दल

कांग्रेस संसदीय दलमा देउवाकाे चौथो इन्ट्री, यसअघि काे-काेसँग थियाे प्रतिस्पर्धामा ?

उपेन्द्र अर्याल |
पुस ६, २०७९ बुधवार ११:१३ बजे

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवा चौथो पटक संसदीय दलको नेता चुनिएका छन् । उनी महामन्त्री गगन थापालाई ३९ मतले हराउँदै कांग्रेसको संसदीय दलको नेतामा चुनिएका हुन् । ८९ जना सांसदहरूले गरेको मतदानमा देउवाले ६४ मत पाए भने महमन्त्री थापाले २५ मत मात्रै पाए । 

२०५१ पछि दुई पटकबाहेक देउवा निरन्तर दलको नेताको प्रतिस्पर्धामा छन् । कांग्रेसका ७ संसदीय दलको निर्वाचनमा भाग लिएका देउवा एकपटक सर्वसम्मत भएका थिए भने तीन पटक  प्रतिस्पर्धाबाट विजयी भएका छन् ।


उनी २०५१ मंसिर १६ मा  पहिलाे पटकसंसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका थिए ।  त्यतिखेर  देउवा एक्लो आकांक्षी थिएनन्, उनीसँग प्रतिस्पर्धा गर्न कांग्रेसभित्र आठ आकांक्षी थिए । ती आठ जनाले ‘अनेकन् कारण’ले नाम फिर्ता लिएपछि देउवा सर्वसम्मत भएका हुन् । 

एमालेले अल्पमतको सरकार बनाइसकेको हुँदा तत्कालै प्रधानमन्त्री सम्भावना नरहेको देउवा सर्वसम्मत नेता चुनिएका थिए । कालक्रमले एमालेको अल्पमत सरकार ढल्यो । कांग्रेस संसदीय दलको नेताका हैसियतमा देउवा २०५२ भदौ २६ का दिन सहजै प्रधानमन्त्री भए । तर, २०५३ फागुनमा उनको सरकार ढल्यो । त्यसपछि देउवालाई कार्यवाहक सभापतिको लोभ देखाउँदै गिरिजाप्रसाद कोइराला नै संसदीय दलको नेतामा भएका थिए  । 

२०५६ को निर्वाचनमा कृष्णप्रसाद भट्टराईकै नाममा कांग्रेसले मत मागेपछि भट्टराई प्रतिस्पर्धाबिनै दलका नेता बनेका थिए । तर, गिरिजाप्रसाद कोइराला समूहले प्रधानमन्त्रीमा टिक्न नदिएपछि २०५६ चैतमा कृष्णप्रसाद भट्टराईले राजीनामा दिए । 

उक्त राजीनामासँगै गिरिजाप्रसाद कोइरालासँग शेरबहादुर देउवा पुस्तान्तरणको अभियानसहित भिड्न पुगेका थिए । संसदीय दलको नेतामा प्रतिस्पर्धामा हुँदा कोइरालाले ६९ मत पाएका थिए भने देउवाले ४३ मत मात्रै पाएका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिएपछि २०५८ साउनमा संसदीय दल नेताका निम्ति दोस्रो पुस्ताकै नेता शेरबहादुर देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त चुनावमा कांग्रेसका प्रतिनिधि सभाका ११३ मध्ये देउवाले ४२ पाएका थिए भने प्रतिद्वन्द्वीले ४० मत पाएका थिए । उक्त प्रतिस्पर्धामा एक मत तटस्थ थियो । २०६४ चैत २८ मा संविधानसभाको निर्वाचनसँगै कांग्रेस खुम्चियो । अनौठो त कांग्रेसले अस्वाभाविक हार बेहोरेसँगै संसदीय नेताको चुनाव गर्ने उत्साह समेत देखाएन । निर्वाचनको चौध महिनापछि २०६५ असार ६ गते मात्रै संसदीय दलको चुनाव भयो ।

उक्त प्रतिस्पर्धा देउवा र रामचन्द्र पौडेलबीच भएको थियो । उक्त प्रतिस्पर्धामा गिरिजाप्रसाद कोइरालाको खुला समर्थन कतैतिर थिएन । तर कोइराला नजिकका पात्रहरूको सहयोग चाहिँ पौडेललाई नै थियो । उक्त निर्वाचनमा पौडेलले ६१ मत पाएका थिए भने देउवाले ४९ मत मात्रै पाए  । 

संसदीय दलका नेताको प्रतिस्पर्धामा देउवा कहिल्यै पछि हटेनन् ।  संविधानसभाको दोस्रो चुनावपछि संसदीय दलको नेताको प्रतिस्पर्धा हुँदा देउवाले पार्टी सभापति सुशील कोइरालासँग प्रतिस्पर्धा गरे । त्यसमा पनि देउवाले पराजय बेहोरेका थिए ।

२०७० माघ १२ मा दलमा कोइरालासँगको प्रतिस्पर्धामा देउवाले १६ मतको अन्तरमा पराजित भए । त्यसबेला कांग्रेस संसदीय दलमा १९४ सदस्य थिए, जसमा कोइरालाले १ सय ५ मत पाए भने देउवाले ८९ मत ।

२०७४ को चुनावपछि संसदीय दलको नेतामा देउवा र प्रकाशमान सिंह प्रतिस्पर्धामा  भएको थियो । तर, उक्त निर्वाचनमा सिंहलाई हराउँदै देउवा नै नेता चुनिएका थिए ।  २०७४ फागुन २१ मा मतदान हुँदा देउवाले ४४ मत र सिंहले १९ मत पाएका थिए । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x