दल

एकीकृत समाजवादी : एमालेसँग एकता गर्ने विषयमा दुई धार

कमल विष्ट |
पुस १७, २०७९ आइतबार १३:२२ बजे

काठमाडौं– नेकपा एकीकृत समाजवादी (एस)को स्थायी कमिटी बैठक सुरु भएको छ । शनिबारको बैठकमा सम्पूर्ण नेताहरूले विभिन्न विषयउपर आ-आफ्नो मत राख्न नभ्याएपछि बैठक आइतबार फेरि बसेको हो ।

शनिबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनमा पार्टीको संगठन सुदृढीकरण रणनीति तथा संगठन निर्माण, सरकारमा सहभागी हुने या नहुने, नेकपा एमालेसँग एकतालगायत विभिन्न विषयउपर छलफल भएको थियो ।


करिब ७ घण्टा चलेको बैठकको सुरुमा पार्टी अध्यक्ष माधव कुमार नेपालले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाबारे जानकारी गराएका थिए । त्यसपछि उनले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा सबैलाई आ-आफ्नो विचार राख्न अनुरोध गरे ।

बिहान साढे ११ बजेदेखि सुरु भएको बैठकमा १८ जना नेताले विचार राख्न भ्याए । बैठकमा वाम एकता र सरकारमा सहभागी हुने–नहुने यी दुई विषय पेचिला बने । दुवै विषयमा नेताहरूको बाझियो ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी हुने विषयमा राम्रा/नराम्रा पक्षहरूबारे चर्चा भएको बताए । उनले बैठकमा पुरानो गठनबन्धन सफल हुन नसक्नुका कारणबारे सबै नेताले आ-आफ्नो ढंगले विचार राखिरहेका जानकारी गराए ।

‘सरकार गठन गर्दा पुरानो गठबन्धन क–कसका कारण तोडियो र नयाँ सरकारबारे हाम्रो धारणा के हुनुपर्छ भनेर धारणा आइरहेको छ । सरकारमा जाने वा नजाने विषयमा पोलिटब्यूरोमा पुगेर टुंगो गर्ने स्थिति पनि हुनसक्छ,’ बैठक जारी रहँदा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता खतिवडाले बताए ।

उनले आफूहरूले एमालेसँग एकताको प्रस्ताव नगरेको र त्यसमा रुचि नभएको बताए । त्यो विशुद्ध हल्ला मात्र भएको उनको जिकिर थियो । तपाईंहरूका अध्यक्ष नेपाललाई राष्ट्रपति दिएर पार्टी नेकपा एमालेसँग विलिन गराउने चर्चा छ नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘औपचारिक वा अनौपचारिक दुवै कोणबाट यस्तो कुरा भएको छैन’ जवाफमा खतिवडाले भने, ‘पार्टी विलय वा एकीकरण गर्ने गरी हामीले काम गरेका पनि छैनौं । त्यसमा हाम्रो रुचि छैन ।’

प्रवक्ता खतिवडाले यस्तो जिकिर गरे पनि पार्टीमा एमालेसँग एकताको सन्दर्भमा मत विभाजित भएको छ । एक्लै अगाडि बढ्दा पार्टी थप कमजोर हुने भएकाले एमालेसँग एकता गर्नुपर्ने मत थुप्रै नेताको थियो । ‘पार्टीमा थुप्रै नेताले एक्लै हिँड्दा पार्टीलाई फाइदा नहुने र एमालेसँग एकता गर्नुपर्छ भन्ने विचार राख्नुभएको थियो,’ बैठकमा उपस्थित एक नेताले इकागजसँग भने ।

शुभचिन्तक तथा नागरिकहरू पनि नेकपा एस र एमाले मिल्नुपर्छ भन्ने धारणा राखिरहेका दुवैले मिल्नुको विकल्प नहुने ती नेताले बताए । ‘हामीलाई निर्वाचनको ताजा जनादेशले पनि त्यही भनेको छ,’ उनले भने, ‘एकीकृत समाजवादीले एकता प्रक्रिया छिट्टै अगाडि बढाउनुपर्छ ।’

नेकपा एसका अर्का नेताले पनि एमालेसँग ढिलोचाँडो मिल्नुको विकल्प नभएको बताए । पार्टी विभाजनकै कारण निर्वाचनमा पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेको ती नेताको मत छ । ‘ढिलोचाँडोको कुरा मात्र हो, तर एक दिन एमालेसँग मिल्नुको विकल्प छैन । एक्लै कतै पुगिँदैन,’ उनले भने ।

गुल्मी-२ मा पराजित रामकुमारी झाँक्रीलगायत केही अन्य प्रभावशाली नेताहरू पनि एमालेमै फर्किनुपर्ने मत जोडदार रुपमा राखिरहेका छन् । पार्टीकी सचिवसमेत रहेकी झाँक्री आफ्नो अनुरोध पार्टीले नमानेको खण्डमा एक्लै भए पनि एमाले प्रवेश गर्ने दौडमा रहेको नेकपा एस स्रोतले बतायो । झाँक्री तिनै नेतृ हुन्, जसको एमालेबाट अलग्गिएर नेकपा एस गठन गर्न ठूलो भूमिका थियो ।

यद्यपि पार्टी अध्यक्ष नेपाल एमालेसँग एकताको पक्षमा छैनन् । उनी एमाले नेता भीम रावल, पूर्व एमाले नेता घनश्याम लगायतलाई नेकपा एसलाई ल्याएर पार्टीलाई अझ मजबुत बनाउनुपर्छ भन्ने मत राखिरहेका छन् ।

नेकपा एसका सम्मानित नेता झलनाथ पनि तत्काल एमालेसँग एकताको पक्षमा देखिँदैनन् । यद्यपि उनले वाम एकता आजको आवश्यकता भएको मत राखेका छन् । नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता भए त्यसले सबैलाई लाभ हुने खनालले विचार छ । उनले बैठकमा आफ्नो लिखित प्रतिवेदन पेस गरेका छन् ।

‘हामी कहिल्यै कसैसँग पनि एकता गर्दै गर्दैनौँ भन्दैनौँ । कम्युनिष्ट आन्दोलनको एकता, पार्टी एकता, एउटै एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने आवश्यकता आजको युगको आवश्यकता हो । नेपालको समाजवादी क्रान्तिको आवश्यकता हो । हामी सधै कम्युनिष्ट एकताका पक्षमा छौं । तर कम्युनिष्टहरू बीच एकता टाउको जोडेर हुँदैन, अङ्कमाल गरेर पनि हुँदैन, हात मिलाएर मात्र पनि हुँदैन, कुनै खास खास नेताहरूले चाहेर मात्र पनि हुँदैन । हामीले इतिहासमा धेरै तिता नमीठा अनुभवहरु भोगिसकेका छौं । कम्यूनिष्टहरूको बीचको एकता भनेको नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता हो । यो निस्वार्थ एकता हो । नीति, सिद्धान्त र विधिमा एकरुपता छ वा हुन्छ भने फेरि पार्टी एकतालाई कसैले रोकेर रोक्न सक्दैन । नेकपा माले र नेकपा एमालेका अधिकांश कालमा हामीले यस्तै एकता कायम गरेका थियौं । ती एकताले पार्टी र आन्दोलनलाई सधैँ अग्रगतितिर लगेका थिए,’ खनालको प्रतिवेदनमा उल्लेख छ ।

यद्यपि सरकारमा सहभागी हुने विषयमा उनी सकारात्मक देखिएका छन् । सत्ता गठबन्धनमा सहभागी दलहरूले ससम्मान पत्र लेखेर पठाए आफूहरु सरकारमा सहभागी हुने बताएका छन् । ‘सरकार वा सरकारमा सहभागी दलहरुले हाम्रो पार्टीलाई  सहभागी गराउने इच्छा भएमा ससम्मान औपचारिक पत्र पठाउनुपर्छ । त्यो पत्रको सारतत्वलाई हेरेर हाम्रो पार्टीको आधिकारिक निकायले के गर्ने भन्ने सम्बन्धमा संस्थागत रुपले छलफल गरी निर्णय गर्नुपर्दछ,’ प्रतिवेदनमा उल्लेख छ । 

गत मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीले अनपेक्षित नतिजा पाएपछि नेकपा एसमा एमालेसँग एकता गर्नुपर्ने मत दिनप्रतिदिन बढिरहेको छ । नेकपा एसले निर्वाचनमा १० सिट जिते पनि राष्ट्रिय दलको मान्यता समेत पाउन सकेन ।

सम्भवतः आजको बैठकले नेकपा एस एमालेसँग विलय हुन्छ वा हुँदैन भन्ने निर्क्यौल गर्नेछ । यस्तै, सरकारमा सहभागी हुने नहुने विषयमा पनि पार्टीले निर्णय हुनेछ ।

यता, नेकपा एस र माओवादी केन्द्रबीच पनि एकताका लागि विभिन्न चरणमा छलफल भइरहेको छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x