दल

एकीकृत समाजवादीले बोलायाे पोलिट्ब्यूरो बैठक

इकागज |
पुस १७, २०७९ आइतबार १९:४ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल गर्न पोलिट्ब्यूरो बैठक बोलाएको छ ।

पार्टी कार्यालय तीनकुनेमा आइतबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले सोमबार पोलिट्ब्यूरो बैठक बोलाउने निर्णय गरेको हो । बैठकपछि समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान परिस्थितिका विषयमा गहन रूपमा बैठकमा छलफल भएको जानकारी दिए ।


नयाँ गठबन्धन खिचडीजस्तो भएको र नीति तथा कार्यक्रमका बारेमा केही थाहा नभएको अवस्थामा सरकारमा जाने वा नजाने विषयका कुनै निर्णय नभएको र पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । उनले पोलिट्ब्यूरो बैठकमा पनि सरकारका बारेमा छलफल हुने र आवश्यक निर्णय गर्ने जिकिर गरे । आफूहरू पहिलेदेखि नै वामपन्थी एकताको विषयमा रहे पनि टाउको जोडेर हुने कुरा नभएको र एजेण्डा मुख्य भएको उनको भनाइ छ ।

त्यस्तै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले सोमबार पार्टीको पोलिट्ब्यूरो बैठक बस्ने र पोलिट्ब्यूरोले निष्कर्ष निकालेपछि समसामयिक राजनीतिक परिस्थितिमा धारणा सार्वजनिक गर्ने बताए । उनले पार्टी एकता बजार हल्लामात्रै भएको र दुवै तर्फबाट कुनै छलफल नभएको जिकिर गरे ।

बैठकमा पार्टी निर्माण, सुदृढीकरण विस्तार लगायतका विषयमा गहन छलफल भएको प्रवक्ता खतिवडाले बताए । 


Author

थप समाचार
x