दल

मतदाताको 'आशा पत्र' सुदनको इमेलमा : भन्छन्- पत्रले भावुक भएँ, फोहोरी ठाउँबाट मैले बेदागी फर्किनुछ

इकागज |
पुस २५, २०७९ सोमवार १३:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा भोजपुर निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद सुदन किरातीलाई एक मतदाताले आशा र खबरदारीसहित इमेल पठाएका छन् । देशले खोजेको परिवर्तन र भोजपुरका जनताले खोजेको विकास किरातीमा सम्भव भएकाले आफूले मतदान गरेको र त्यसबाट पछि नहट्‌न भन्दै भोजपुरकै आम्चोक गाउँपालिका-१ का सत्तिस कार्कीले इमेल गरेका हुन् ।

परिवर्तन र विकासका लागि  विचलित नहुनु भन्दै कार्कीले आफु जस्ता हजारौँ युवाको तातो जोस किरातीको साथमा रहेको उल्लेख गरेका छन् । 'तपाईं नडगमगाउनुस्, पछि नहट्नुस् विचलित त कत्ति पनि नहुनुस् तपाईंको पछाडि म जस्ता हजारौँ युवाको तातो जोस छ । तपाईंलाई शुभकामना छ तपाईं देशले खोजेको महत्वपुर्ण जिम्मेवारि पुरा गर्नुस् । तपाईं त्यसको लायक हुनुहुन्छ तर जिम्मेवारीमा पुगेर त्यसको दुरुपयोग गर्ने कुनै छुट छैन्' कार्कीले इमेलमा लेखेका छन् 'तपाईंको विचार र ऊर्जाले मलाई परिवर्तन खोज्‍न सिकायो । तपाईंको आत्मियता र देश प्रेमले मलाई देशभक्ति चिनायो गाउँ प्रेम सिकायो र अझै बाँकी छ धेरै कुरा सिकिरहन त्यो आशा भरोशालाई जीवित जताईदिनुस् साधुवाद ।'


'समाज, संस्कृति र समग्र विकास विम्बहरूको संवाहक बन्नुहुन्छ भन्ने आशाका साथ यो चोटीको अमुल्य मत हजुरलाई समर्पण गरेको छु । त्यो मतभित्र तपाईंको जित मात्र छैन त्यो मतभित्र मेरो र समग्र युवा जमातको आशा छ, भरोशा छ । देशको, समाजको समग्र सम्वाहक बन्न सक्नुहोला' कार्कीले इमेलमा लेखेका छन् 'तपाईभित्र भोजपुरे जनताले खोजेको विकास छ,भोजपुरेले खोजेको परिवर्तन छ र छ समग्र देशले खोजेको अविचलित क्रान्ति ।' 

कार्कीले इमेल किरातीले पढेपछि त्यसको जवाफ फर्काएका छन् । कार्कीको इमेलले झन्‌ जिम्मेवारी बोध गराउनुका साथै यात्रामा उर्जा थपेको किरातीले बताएका छन् । उनले उक्त पत्र पढेपछि भावुक पनि बनेको पत्रको जवाफमा उल्लेख गरेका छन् । 'म सेतो वस्त्रधारी मान्छे हुँ । तपाईंहरूले पठाएको यो कालो र फोहोरी ठाउँबाट मैले बेदाग फर्किनु छ' किरातीले भनेका छन् 'आशा छ तपाईं र तपाईंको सपरिवार आराम हुनुहुन्छ स्वास्थ्य रहनुहोस र सधैँ प्रगतिको पथमा लम्किँ रहनुहोस् ।'


Author

थप समाचार
x