दल

राप्रपामा मन्त्री बन्‍न रस्साकस्सी : अध्यक्ष लिङ्देन पक्का, अरू को-को छानिँदै ?

कमल विष्ट |
माघ २, २०७९ सोमवार १२:४९ बजे

काठमाडौं– मन्त्रिपरिषद् विस्तारका विषयमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बैठक जारी छ । बैठक ओली निवास बालकोटमा सोमबार बिहानैदेखि सुरु भएको हो । 

एमाले प्रचारप्रसार विभागका उपप्रमुख विष्णु रिजालले क्याबिनेट विस्तार गर्ने विषयमा आजै सहमति जुट्ने सम्भावना अधिक रहेको इकाजगलाई जानकारी दिए । ‘अहिले प्रधानमन्त्री र अध्यक्षबीच छलफल चलिरहेको छ । आजै क्याबिनेटले पूर्णता पाउने सम्भावना छ,’ उनले भने । 


यता, प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल चलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीबाट मन्त्रीहरूको टुंगो लगाउन संसदीय दलको बैठक डाकेको छ । बैठक दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

भागबण्डाअनुसार राप्रपाले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । मन्त्री हुन पार्टीमा नेताहरूले लबिइङ सुरु गरेका छन् । राप्रपा स्रोतका अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा मन्त्री बन्ने पक्का भइसकेको छ । बाँकी दुई मन्त्रालयका लागि पार्टीमा विक्रम पाण्डे, ज्ञानेन्द्र शाही, धवलशमशेर राणा, ध्रुवबहादुर प्रधान र दीपक सिंहले आकांक्षा व्यक्त गरेका छन् । 

राप्रपाका एक पदाधिकारीका अनुसार जुम्लाबाट निर्वाचित शाहीको सम्भावना न्यून रहेको छ । ‘उहाँ नयाँ हुनुहुन्छ, त्यसैले यसपालि उहाँको मन्त्री बन्ने सम्भावना कम छ,’ ती पदाधिकारीले भने । 

पार्टीले निर्वाचनबाट प्रत्यक्ष जितेर आउनेलाई मन्त्री बनाउने नीति लिएको छ । रूपन्देही–३ निर्वाचित दीपक बोहोराले अस्वस्थ भएकाले मन्त्रीमा चाहना व्यक्त गरेका छैनन् । यसो हुँदा चितवन–२ बाट चुनिएका पाण्डे, बाँके–२ बाट निर्वाचित राणा, मकवानपुर–१ बाट जितेका सिंह र नवलपरासी–२ बाट विजयी प्रधानमध्ये दुई जना सांसद बन्ने ती पदाधिकारीको भनाइ छ । 

ती पदाधिकारीका अनुसार प्रधान र विक्रम मन्त्री बन्ने सम्भावना बढी छ । ‘अध्यक्षज्यूको चासो प्रधान र विक्रम पाण्डेमा रहेको देखिन्छ,’ उनले भने । 

प्रचण्ड नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री चयन भइसकेका छन् । माओवादी स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड उपप्रधानमन्त्रीको संख्या बढाउने ‘मुड’मा छैनन् । उप्रधानको संख्या बढाउँदा चौतर्फी आलोचना हुने भएकाले प्रचण्ड संख्या नबढाउने ‘मुड’मा देखिएका हुन् । 

लामो अन्योलतापछि सरकारमा सहभागी हुने निर्णय गरेको राप्रपा पनि आफूले उपप्रधान मागेपछि हुने आलोचनाप्रति सचेत छ । ‘नागरिकहरूले यसै पनि हामीलाई सरकारमा सहभागी भएको कुरा मन पराएको छैनन् । यस्तो बेला हामीले फेरि उपप्रधानको संख्या बढाएर सरकारमा सरिक हुन राम्रो हुँदैन,’ नाम खुलाउन नचाहेका ती पदाधिकारीले भने, ‘अध्यक्षज्यू यो कुराप्रति पूर्ण रूपमा सचेत हुनुहुन्छ ।’

अध्यक्ष लिङ्देनले आफू मन्त्री नभएर अरू कसैलाई बनाउन सक्ने सम्भावना रहेको ती नेताले बताए ।

प्रधानमन्त्री नियुक्त भएकाे ३ साता बितिसक्दा पनि दाहाल नेतृत्वको सरकारले मन्त्रिमण्डललाई विस्तार गर्न सकेको छैन । पुस २६ गते संसद्मा विश्वासको मत लिएपछि प्रचण्ड यथाशीघ्र मन्त्रिमण्डल विस्तार गर्न गृहकार्यमा जुटेका छन् । त्यसका लागि उनी गठबन्धनको प्रमुख घटक एमाले अध्यक्ष ओलीसहित अन्य साझेदार दलहरुसँग निरन्तर वार्ता गरिरहेका छन् ।

अहिलेको क्याबिनेट ३ उपप्रधानमन्त्री र ४ मन्त्री गरी ८ सदस्यीय छ । उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने रहेका छन् । लामिछानेले गृह, पौडेलले अर्थ र श्रेष्ठले भौतिक पूर्वाधार मन्त्रालय सम्हालिरहेका छन् ।

चार मन्त्री भने बिनाविभागीय मन्त्रीका रुपमा रहेका छन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानको भूमिका पछि तोकिने छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x