दल

कोइलीदेवीको राजनीतिक यात्रा

कमैयादेखि उपसभामुखसम्म

दीपक उपाध्याय |
माघ ६, २०७९ शुक्रबार १३:२ बजे

कैलाली - भनिन्छ, 'साधना गरेपछि कुनै दिन अवश्य फल प्राप्त हुन्छ ।' संकटहरू आउँछन्-जान्छन् । दु:ख-सुख पनि त्यस्तै हो । संघर्ष र सफलताका कथा पनि उस्तै हुन् । कोइलीदेवी चौधरी (५५) जीवनका जीवनमा निकै कहालीलाग्दा दिनहरू पार गर्दै सुदूरपश्चिम प्रदेश सभा उपसभामुख पदमा पुगेकी छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१६ जलघुस्राकी चौधरी मुक्तकमैया परिवार हुँदै उपसभामुखको जिम्मेवारीमा पुगेकी हुन् ।

माघ ४ गते प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा सभामुख भीम भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । जिम्मेवारीप्रति भावुक देखिएकी उनी सुदूरपश्चिम प्रदेश र यहाँका जनताको उत्थानको निम्ति सक्दो सहयोग गर्ने बताउँछिन् । 


उपसभामुख चौधरीले उत्पीडित वर्ग, जाति समुदायको पीडा, दुःखको बारेमा स्वयं आफै भुक्तभोगी रहेको स्मरण गर्दे कमैया, कमलरी, हलियालगायत भौगोलिक उत्पीडिनमा परेका वर्गको उत्थानको लागि सदैव लागिरहने बताइन् । 

को हुन् कोइलीदेवी ?
जन्मजात कमैया रहेका बुवा सुकलाल डंगौरा थारू र आमा लक्ष्मी डंगौरा थरुनीको कोखबाट दाङको देउखुरीमा जन्मिएकी उनी जन्मदै कम्लहरी भइन् । उनी सानै छँदा उनको परिवार बसाइ सरेर कञ्चनपुरको कृष्णपुर नगरपालिकाको देखतभुलीमा आएको हो । देखतभुली आउँदा पनि उनको परिवार दुई छाककै लागि जमिनदार कहाँ कमैया बस्यो ।

उनी ती दिन सम्झँदै भन्छिन –‘दुई छाक टार्न धौ–धौ थियो । जसको लागि मेरो बाबा कमैया बन्नुभयो । आमा बुक्रही (घरेलु कामदार) । माघ आउनेवित्तिकै ती कमैया प्रथा र ती सामाजिक प्रणालीले दिने सामाजिक र मानसिक यातनाको झल्झली याद आउँछ ।’

उनको पीडा कमैया जीवनमा मात्रै सीमित रहेन । उनी १३ वर्षकै हुँदा उनको विवाह कैलालीको साविक उर्मा गाविसको जलघुस्राका बुद्धिराम चौधरीसँग भयो । स्वाध्यायनमा रुची राख्ने उनी लुथरन विश्व फेडेरेसनसँग आवद्ध भइन् । उनको बढ्दै गएको सामाजिक चेतनासँगै राजनीतिमा आइन् ।

२०५४ सालमा नेकपा एमालेको साधारण सदस्यता लिएकी उनी एमालेबाटै उर्मा गाविसको भएको निर्वाचनमा महिला वडा सदस्यमा निर्वाचित भइन् । 

नेकपा एमाले निकट अखिल नेपाल किसान संघ जिल्ला समिति सदस्य हुँदै जिल्ला कोषाध्यक्ष र केन्द्रीय सदस्य भएकी उनी २०५६ सालमा एमाले जिल्ला सदस्य भइन् ।

नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा अखिल महिला संघका जिल्ला अध्यक्ष रहेकी उनी एमालेबाटै समानुपातिक प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन् । 

उनको श्रीमानसहित दुई छोरा, बुहारी, दुई नातिनी छन् ।
 


Author

दीपक उपाध्याय

उपाध्याय इकागजका सुदूरपश्‍चिम प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x