दल

पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा राप्रपाको केन्द्रीय निर्देशन समिति गठन

इकागज |
माघ २५, २०७९ बुधवार २०:११ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्रीय निर्देशन समिति गठन गरेको छ ।

पार्टीको विधानबमोजिम र केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार सो समितिलाई पूर्णता दिएको हो । पार्टीका सबै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महामन्त्रीहरू रहेको समितिमा विधानबमोजिमका सबै पदेन सदस्यहरूलाई समावेश गरिएको प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 


पार्टीका वरिष्ठ नेता दीपक बोहरा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा,  केन्द्रीय नेताहरू रामकुमार सुब्बा, जयन्त चन्द र उद्धव पौडेल सदस्यमा छन् भने आमन्त्रित सदस्यमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले र नेता ऋषिबाबु परियार छन् । 

पार्टीको नीति तथा कार्यक्रम प्रभावकारी बनाएर जनमुखी कार्य सञ्चालन गर्न केन्द्रीय नेतृत्वका साथै पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका नेतालाई समन्वय तथा आवश्यक सुझाव र निर्देशन समितिले दिनेछ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई विधान समितिको संयोजकको जिम्मेवारी दिएको थियो । पार्टीले आगामी फागुनको तेस्रो सातामा केन्द्रीय समितिको बैठक काठमाडौँमा बोलाएको छ ।
 


Author

थप समाचार
x