दल

रवि लामिछानेको राहदानीमाथि सुरु भयो छानबिन

इकागज |
माघ २६, २०७९ बिहिवार १५:३२ बजे

फाइल फोटो

काठमाडौँ - जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको दोहोरो राहदानी लिएको भन्ने विषयमाथि छानबिन सुरु गरेको छ । 

युवराज पौडेल (सफल) ले मंगलबार दिएको उजुरीका आधारमा सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीको विषयमा छानबिन थालेको हो । लामिछानेको राहदानीका विषयमा छानबिन गर्न कार्यालयले अध्यागमन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र राहदानी विभागबाट कागजात मगाइएको छ ।


लामिछानेले झुटो विवरण दिई राहदानी लिएको भन्दै पौडेलले पाँच वर्ष कैदको माग गर्दै उजुरी दिएपछि कार्यालयले तीन वटै निकायलाई पत्राचार गरेर कागजात मगाएको हो । ती कार्यालयबाट आएको जवाफका आधारमा सरकारी वकिलको कार्यालयले थप प्रक्रिया अघि बढाउनेछ । 

नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि १३ माघमा लामिछानेले प्रतिनिधिसभा सदस्य, उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुपरेको थियो । 

अमेरिकाको राहदानी र नागरिकता हुँदाको बखत नै नेपाली राहदानी लिएको भन्दै पौडेलले लामिछानेमाथि कारबाही गर्न माग गर्दै दिएको निवेदन प्रहरीले दर्ता गर्न नमानेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा पेस गरेका हुन् ।

कागजातको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले  लामिछानेमाथि मुद्दा चलाउनु पर्ने नपर्ने निर्क्योल गर्नेछ । यदि मुद्दा चलाउनु पर्ने भएमा प्रहरीलाई दर्ता गरी आवश्यक अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले निर्देशन दिनेछ । 


Author

थप समाचार
x