दल

पाण्डेले अझै फिर्ता गरेनन् सरकारी सवारी

इकागज |
माघ २८, २०७९ शनिबार ८:५४ बजे

मकवानपुर - बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारी साधन अझै फिर्ता गरेका छैनन् । नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डे मङ्सिर ४ गतेको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नम्बर -१ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । 

प्रतिनिधिसभामा सपथ लिएपछि उनले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीबाट राजीनामा दिएको सात दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भए पनि निवर्तमान मुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गरेका छैनन् । 


उनले प्रयोग गर्दै आएको बागमती प्रदेश ०३-००१-०११३ नम्बरको सवारी फिर्ता गर्न अटेरी गरिरहेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका जिन्सी शाखाका सुदिप सुवेदीले मुख्यमन्त्री पाण्डेले अझै उक्त सवारीसाधन फिर्ता नगरेको बताए । 

उनले प्रदेशका प्रमुख सचिवमार्फत् सवारी साधनफिर्ता ल्याउन पहल भैइरहेको जानकारी दिए । 

२०७८ साल कात्तिक ११ गते वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले  संघीय सासंदमा निर्वाचित भएपछि २०७९ साल पुस ८ गते पदबाट राजीनामा दिएका थिए ।


Author

थप समाचार
x