दल

माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा : प्रधानमन्त्री दाहाल

इकागज |
माघ २८, २०७९ शनिबार १५:४९ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन् । उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, 'निर्वाचनपछि हामीले सरकारको नेतृत्व गर्ने अवसर पाएका छौँ । यो हाम्रा लागि चुनौतीपूर्ण छ । यसको भरपुर सदुपयोग गरेर देश र जनताका निम्ति राम्रो परिणाम दिनैपर्दछ । एक्लो प्रधानमन्त्रीले मात्रै गरेर सबै चीज हुँदैन, केन्द्र, प्रदेश र स्थानीय तहका सरकार सबैले राम्रो गर्दा देशमा राम्रो परिणाम आउँछ । पार्टीका पनि सबै नेता–कार्यकर्ताले जनताको हितअनुसार काम गरेर देशलाई परिणाम दिनैपर्छ ।'


सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उनले उक्त लक्ष्य हासिल गर्न सिङ्गो देशलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले भने, 'स्थायी समिति बैठकले सरकारलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट भूमिका खेल्ने निर्णय गरेको छ । पार्टीको दुईमहिने सङ्गठनात्मक अभियान चलाउँदैछौँ ।' 

पार्टी एकता र समाजवादी मोर्चाको तयारी गरिरहेको उल्लेख गर्दै उहाँले सम्भव हुने पार्टीसँग तत्काल एकता गर्ने तथा तत्काल एकता सम्भव नहुने पार्टीसँग समाजवादी मोर्चा बनाएर एकताको आधार तयार पार्ने बताए । 

प्रधानमन्त्री दाहालले भने, 'अहिले पनि अप्ठ्यारा छन्, चुनौती छन् । ती सबैलाई हामी छिचोल्छौँ र अगाडि बढ्छौँ । अर्को निर्वाचनसम्म जाँदा हाम्रो पार्टी फेरि शक्तिशाली भएर आउँछ । देशको वैकल्पिक शक्ति हामी नै हौँ भन्ने तथ्य परिणामबाट  स्थापित हुन्छ । त्यसरी हेर्दा मैले माओवादी पार्टीको भविष्य उज्ज्वल नै देखिरहेको छु, हामी फेरि उचाइका साथ अघि बढ्छौँ ।' रासस


Author

थप समाचार
x