दल

विवेकशील साझामा नयाँ नेतृत्व

वैकल्पिक राजनीतिको मियो जोगाइराख्‍ने समीक्षाको चुनौती

इकागज |
माघ २९, २०७९ आइतबार १३:१२ बजे

काठमाडौँ - नेपालमा वैकल्पिक राजनीतिको जग बसालेको भनिएको विवेकशील साझा पार्टीले नयाँ नेतृत्व पाएको छ । शान्तिपूर्ण रूपमा विरोध जनाएर पनि राजनीति गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको विवेकशील साझाले शनिबार काठमाडौँमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा समीक्षा बाँस्कोटालाई चयन गरेको हो ।

दिवंगत उज्ज्वल थापाले खोलेको विवेकशील नेपाली पार्टी र रवीन्द्र मिश्रले खोलेको साझा पार्टी दोस्रोपटक एकीकृत भएर बनेको विवेकशील साझा पार्टी पछिल्लो दुई वर्ष आन्तरिक टुटफूटले थलिएको थियो । रवीन्द्र मिश्रको महत्वाकांक्षाले उग्र रुप लिँदा र नेपालमा वैकल्पिक राजनीतिको जग हालेका उज्ज्वल थापाको मृत्युपछि कोमामै पुगेको विवेकशील साझा पार्टी पहिलो महाधिवेशन गरेर राजनीतिको मूलबाटोमा फर्किएको हो ।


‘विचारभन्दा माथि देश’ नामको राजतन्त्रात्मक प्रतिवेदन ल्याएर आलोचित तथा विवादित बनेपछि अध्यक्ष पदबाट मिश्रले राजीनामा दिएका थिए । त्यसपछि समीक्षाले संयोजकको जिम्मेवारी सम्हालेकी थिइन् ।

शनिबार काठमाडौँको कमलादीमा भएको विवेकशील साझाको पहिलो महाधिवेशनले उनै समीक्षालाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्दै रञ्जु दर्शनालाई महासचिवको जिम्मेवारी दिएको छ ।

मिश्र धारकी समीक्षा अध्यक्ष र विवेकशीलबाट मिलन पाण्डेय धारकी रञ्जु दर्शना महासचिव चुनिएर दुई पार्टीको कार्यविभाजन पनि टुंगिएको बुझाइ विवेकशील साझाका तल्लो तहका नेता कार्यकर्ताको बुझाइ छ ।

नयाँ नेतृत्व चयन भएपछि अब विवेकशील साझालाई वैकल्पिक राजनीतिको मियो जोगाइराख्नुपर्ने चुनौती छ । उज्ज्वल थापाको विरासत बोकेका मिलन पाण्डेय र रन्जु दर्शना नेतृत्वमा रहनुले उनीहरू निर्णायक हुने अपेक्षा छ ।

पाण्डेसँगै प्रकाशचन्द्र परियार उपाध्यक्ष छन् । युवा र सक्षम नेतृत्व ठानिए पनि विवेकशील साझा पछिल्ला वर्ष लगातार आन्तरिक इगोको राजनीतिमा रुमल्लिएको छ । विवेकशील साझा रुमल्लिदा त्यसको सोझो फाइदा स्वतन्त्र उम्मेदवार र अहिले स्वतन्त्र पार्टीले उठाएका छन् ।

केवल ६ महिनामा उदाएको स्वतन्त्र पार्टी अहिले २० सिटसहित संघीय सरकारमा निर्णायक शक्तिका रुपमा छ । आँधीसरी उदाएको रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीभित्र पनि असन्तुष्टि सुरु भएकाले त्यसले दिगो राजनीति गर्ने सम्भावनामाथि प्रश्न उठिसकेको छ ।

यस्तो अवस्थामा अनुभवले खारिएको, जिम्मेवारीले पिल्सिएको र उतारचढाव राम्ररी खेपेको विवेकशील साझा पार्टीलाई परिपक्व राजनीति गर्ने अवसर छ । त्यसका लागि अध्यक्ष समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझालाई आगामी एजेन्डा र स्पष्ट कार्यक्रम आवश्यक छ ।

नेतृत्व फेरिए पनि प्रवृत्ति पुरानै हुने नेपाली राजनीतिमा केही फरक अभ्यास र त्यसको अनुकरण गर्ने क्षमता निकै नेतृत्वमा देखिने गरेको छ । अध्यक्ष र महासचिव नै नेतृत्वमा रहेकाले पनि यो पार्टी धेरै हदसम्म महिला र अल्पसंख्यक समुदायका लागि कठोर भएर राजनीति गर्ने अनुमान लगाउन सकिन्छ ।

त्यसका लागि विवेकशील साझाले पार्टी पुनर्जागरण, सुदृढ र सक्षम नेतृत्व स्थापित गर्नुका साथै आगामी दिनमा स्पष्ट कार्यदिशा बोकेर अगाडि बढ्नुपर्ने आवश्यकता छ । स–साना इगो र रिस राखेर पार्टीलाई बन्धक राख्ने पुरानै प्रवृत्ति त्यागेर केही नयाँ र फरक गर्नुपर्ने चुनौती अध्यक्ष समीक्षालाई छ ।

युवाहरूको ध्यान तानेर उनीहरूको भावनालाई समेट्दै दिगो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्ने बाध्यतालाई समीक्षा बाँस्कोटाजस्ता नेतृत्वले अवसर सम्झिनुपर्ने आवश्यकता पनि छ । अहिलेको राजनीतिमा पुँजीलाई केन्द्रमा राखेर गरिने खराब कर्मलाई काम र कर्तव्यबाट जवाफ दिनुपर्ने अर्को आवश्यकता पनि विवेकशील साझाका कार्यकर्ताले महसुस गरेका छन् ।

युवाहरूको पार्टीका रुपमा चिनिएको विवेकशील साझा अब आशा र भविष्यको पार्टीका रुपमा स्थापित गर्नु अर्को चुनौती छ । ‘जो जोगी आए पनि कानै चिरिएका’ उखानबाट दिक्दार भएका नेपाली नागरिकलाई आशा सञ्चार गरिराख्न पनि विवेकशील साझाका नेताहरूलाई हेक्का हुन जरुरी छ ।

उग्रता र उदण्डता राखेर राजनीति गर्ने नेपाली नेताहरूको बानी चिर्दै धैर्य राखेर शान्त भएर दीर्घकालीन लक्ष्य हासिल गर्न केवल जनताका एजेन्डालाई मात्रै बोक्ने रणनीति विवेकशील साझाको नेतृत्वले अख्तियार गर्नुपर्ने परिस्थिति छ । 

चर्को स्वर गर्नेभन्दा निरन्तर प्रयास गरेर नागरिकका समस्यालाई समाधान गर्न प्रयासरत हुने पार्टीको खोजी भइरहेका बेला त्यसको उपस्थिति र अभाव पूर्ति गर्नुपर्ने अवसर तथा जिम्मेवारी पनि विवेकशील साझालाई छ । त्यसमा कत्तिको खरो भएर समीक्षाको विवेकशील साझा उत्रिन सक्छ ? आम नागरिकको प्रतिक्षा छ ।


Author

थप समाचार
x