दल

राष्ट्रपतिका विषयमा सत्तारूढ दलबीच कुनै विमति छैनः मन्त्री लिङदेन

इकागज |
माघ २९, २०७९ आइतबार १२:१४ बजे

काठमाडौँ - सत्तारूढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले जानकारी दिए । आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने  र  अहिलेसम्म गरेका कामका विषयमा समीक्षा भएको उनले बताए । 

राष्ट्रपतिको बारेमा सत्तारूढ दलबीच कुनै विमति नरहेको उनको दाबी छ । उनले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताए । मन्त्री लिङदेनले सत्ता साझेदार दलहरूबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आएपनि त्यसमा सत्यता नभएको जिकिर गर्नुभयो । 


‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरूको बारेमा समीक्षाहरू भए । आगामी दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ,' उनले भने, 'यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ । हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरूमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन । रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । 


Author

थप समाचार
x