दल

राष्ट्रपतिको सवालमा सहमतिकै पक्षमा छौं : पूर्वप्रधानमन्त्री नेपाल

इकागज |
माघ २९, २०७९ आइतबार १४:३४ बजे

फाइल तस्बिर

अत्तरिया- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिको सवालमा आफ्नो पार्टी सहमतिकै पक्षमा रहेको बताएका छन् । पार्टीको प्रदेश कमिटीको बैठकमा सहभागी हुन धनगढी आइपुगेका उनले आज आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । 

'सबै पार्टीलाई समेटेर अगाडि बढ्नुपर्छ,' उनले भने, 'हाम्रो पार्टीको धारणा पनि विचार मिल्नेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने नै हो । मुलुकलाई निकास दिनका लागि सहमतिमा अगाडि बढ्न सके सबैभन्दा राम्रो हुन्छ ।'


संविधान, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि प्रधानमन्त्रीले सहमतिमै अगाडि बढ्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री नेपालले राजनीतिक प्रकृतिका मुद्दा थन्क्याएर राख्नुभन्दा  छिटो टुङ्ग्याउनु राम्रो हुने बताए । 

प्रदेशको हकमा सुदूरपश्चिममा अहिलेको सरकारलाई विश्वासको मत दिलाउनुपर्ने र सबैलाई समेटेर जानुपर्नेमा सुझाव दिँदै उनले मध्यावधि निर्वाचनतर्फ जान नहुने र यसलाई  मुलुकले आर्थिक हिसाबले पनि धान्न नसक्ने उल्लेख गरे ।

सुदूरपश्चिममा नेकपा एमाले नेतृत्वको बनेको सरकार विश्वासको मत पाउन नसकेपछि एक महिनामै ढलेको र फेरि अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएको छ । कांग्रेस नेतृत्वको सरकारले पनि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।


Author

थप समाचार
x