दल

छिट्टै समाजवादी मोर्चा निर्माणमा हुने विश्वास

माओवादी आन्दोलनका सबै धारलाई एकतामा आउन प्रचण्डको अपिल

इकागज |
फागुन १, २०७९ सोमबार ९:५३ बजे

काठमाडौँ - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी धारका सबै नेतालाई एकतामा आउन अपिल गरेका छन् ।

सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा जनयुद्ध दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमाओवादी धारका सबै नेतालाई एकतामा आउन आग्रह गरेका हुन् । 'विभिन्न धाराका समूहहरूलाई एकतावद्ध भएर सामाजिक न्यायमा अघि बढ्न अपिल गर्न चाहन्छु,' उनले भने, 'हामीले अब फेरि एक पटक नयाँ संकल्पसहित अघि जानुछ । माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई पनि अब एकतावद्ध भएर सामाजिक न्याय र रूपान्तरणको निम्ति अघि बढ्न अपिल गर्न चाहन्छु ।'


माओवादी आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै छिट्टै एउटा समाजवादी मोर्चा निर्माणमा आउने उनको विश्वास छ । 'केही समयदेखि आन्दोलनलाई एकतावद्ध गर्ने प्रक्रिया अघि बढिसकेका छन् । मैले पनि धेरै समूहसँग छलफल गरेको छु, मलाई विश्वास छ छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि आउनेछ,' उनले भने, 'त्यसले आम माओवादी नेता कार्यकर्ता मात्र नभइ आम जनतालाई पनि एक पटक उत्साहित गर्नेछ । कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरूसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति बनेको छ । छिट्टै एउटा समाजवादी मोर्चा नेपालको भोलिको नेतृत्व निर्माणमा आउने विश्वास लिएको छु ।’


Author

थप समाचार
x