दल

कांग्रेसका नेता/कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ : सहमहामन्त्री राठौर

इकागज |
फागुन ४, २०७९ बिहीबार २१:५४ बजे

फाइल तस्बिर

नेपालगञ्ज- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले नेपाली कांग्रेसका नेता/कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।

कांग्रेस बाँकेको खजुरा गाउँपालिका स्तरीय वार्षिक सम्मेलनको आज उद्घाटन गर्दै सहमहामन्त्री राठौरले कांग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पुर्‍याउनु पर्ने बताए । उनले कांग्रेसको नीति र सिद्धान्त सही भए पनि तद्अनुरूप व्यवहार हुन नसकेको कुरा उठिरहेकोतर्फ कांग्रेसका सबै तह र तप्काका नेता/कार्यकर्ता गम्भीर हुनु पर्ने जिकिर गरे ।


उनले राजनीति जनताको हित र भलाइका लागि गरिनु पर्ने भए पनि पछिल्लो समयमा स्वार्थ प्रेरित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । जनसेवा र हितका पक्षमा राजनीति गर्न उनले कार्यकर्तालाई निर्देशन समेत दिए ।

सहमहामन्त्री राठौरले स्थापित दलहरूसँग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचारविहीनहरूले राजनीतिमा हस्तक्षेप गर्न थालेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य आशा विक, प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाली काँग्रेस बाँकेका सभापति नारायण गौडेलले कांग्रेस अरु दलभन्दा फरक छ र जनताका पक्षमा निरन्तर काम गर्दै आएको छ भन्ने कुरा जनसमक्ष पुर्‍याउनु नेता/कार्यकर्ताको काम भएको उल्लेख गरे ।

कार्यक्रममा संगठन सुदृढीकरणमा योगदान गरेको भन्दै नेपाली कांग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित ७ जना नेताहरूलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरूमा हरिप्रसाद ढुंगाना, रामबहादुर थापा, धनबहादुर आचार्य, नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङ्ग थिए ।

कार्यक्रम खजुरा पालिका सभापति रमेश सिंजालीको सभापतित्वमा सम्पन्न भएको थियो ।


Author

थप समाचार
x