दल

'राष्ट्रपतिमा कांग्रेसलाई सघाए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री'

इकागज |
फागुन ५, २०७९ शुक्रबार १५:५ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरे कांग्रेसले पाँच वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 'त्यस बेलामा संविधानको रक्षाको विषय नै प्रमुख विषय बनाएर नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन बनेको हो । उहाँहरूले नै त्यो कुरा अघि सार्नुभएको हो,' उनले भने, 'अहिले पनि त्यो विषय हाम्रा लागि प्रमुख विषय हो भनेर प्रचण्डजीले भन्नुभएको छ । त्यसै आधारमा नेपाली कांग्रेसले विश्वासको मत दिएको हो । खास गरेर प्रधानमन्त्रीज्युले गर्नुपर्छ । त्यस्तो अवस्था आयो भने उहाँ त्यसको लागि तयार हुनुपर्छ । राष्ट्रपतिमा कांग्रेसतर्फको उम्मेदवारलाई समर्थन गर्दा नेपाली कांग्रेसले दिएको विश्वासको मतलाई निरन्तरता दिनुपर्छ ।’  

अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुने उनले बताए । संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उल्लेख गर्दै राष्ट्रपतिको पद महत्वपूर्ण भएको उनको भनाइ छ । राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि राष्ट्रिय सहमतिका लागि सत्तारूढ दल नेकपा एमाले नमाने संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपति पदमा निर्वाचित गर्न उनले आग्रह गरे । 


प्रवक्ता महतले राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्दा कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मतलाई पूर्ण कालका लागि निरन्तरता दिनुपर्ने बताए ।राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गरेको आरोप लगाउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिन नहुने  प्रवक्ता महतले बताए । ‘नेपाली कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक हुन्छ । संविधान रक्षाको कोणबाट हेर्दा पनि त्यो उपयुक्त हुन्छ,' उनले भने, 'वर्तमान राष्ट्रपतिले जसरी संवैधानिक व्यवस्थाको बर्खिलापमा काम गर्नुभयो, त्यो आगामी दिनमा दोहोरिनु हुँदैन । राष्ट्रिय सहमति बन्नु सबैभन्दा उपयुक्त हुन्छ, बन्न नसके यो संविधानको रक्षाको पक्षधर पार्टीहरू छन् ती एक ठाउँमा उभिएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनु पर्छ ।'

प्रवक्ता महतले सबैभन्दा ठूलो दल बनेर सत्ता बाहिर बस्नु काँग्रेसका लागि बिडम्वनाको विषय भएको उल्लेख गर्दै अहिलेको सत्ता गठबन्धन स्वार्थ केन्द्रित रहेको उल्लेख गरे । न्युज एजेन्सी नेपालले गरेको कुराकानीमा आधारित


Author

थप समाचार
x