दल

दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत : देव गुरुङ

इकागज |
फागुन ८, २०७९ सोमबार १७:५२ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधानविपरीत भएको टिप्पणी गरेका छन् ।

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताएका हुन् । उनले एमाले पार्टी विशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधानविपरीत नै रहेको जिकिर गरे ।


राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वाभाविक भए पनि कुनै दल विशेषलाई नै राष्ट्रपति बनाउने भन्ने विषय फरक रहेको उनकाे भनाइ छ । गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रूपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रपति गठबन्धनसँग जोडिएको विषय नभएको समेत उल्लेख गरे ।

यसअघि भएको कटुवाल प्रकरण, संसद् विघटन प्रकरण, सरकारको सिफारिस कार्यान्वयन नभएको विषय लगायतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उनकाे तर्क छ ।


Author

थप समाचार
x