दल

पुरानो गठबन्धन ब्युताउन माओवादी, जसपा र एकीकृत समाजवादीको निर्णायक बैठक बस्दै

कमल विष्ट |
फागुन ११, २०७९ बिहिवार १५:२ बजे

काठमाडौं– पुस १० अघिको पाँच दलीय गठबन्धन ब्युताउने विषयमा छलफल गर्न माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक बस्ने भएको छ । तीन दलको संयुक्त बैठक बेलुका ५ बजे बस्दै छ ।

माओवादी स्रोतका अनुसार वर्तमान सात दलीय गठबन्धनको औचित्य सकिएकाले नयाँ समीकरणको प्रयास भइरहेको हो । माओवादीका एक पदाधिकारीले उक्त बैठकलगत्तै कांग्रेसका सभापति शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच वार्ता हुने बताए । ‘बुधबार बेलुकाको सम्झौताअनुसार पुरानो गठबन्धन आजै ब्युतिने सम्भावना छ,’ ती नेताले भने, ‘हेर्दै जाऔँ ।’


पुरानो समीकरण ब्युताउने विषयमा केन्द्रित भएर बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेट भएको थियो । उक्त भेटपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणको प्रयास भइरहेको बताएका थिए । पुरानै गठबन्धन ब्युतिन लागेको हो भन्ने एक पत्रकारको प्रश्नमा उनले भनेका थिए, ‘फाइनल भइसकेको छैन ।’

नेपालले पनि वार्ता सकारात्मक भइरहेको संकेत दिएका थिए । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘हामीसँग विभिन्न विकल्प छन् । त्यसमध्ये हामी उत्तम विकल्प चुन्छौँ ।’

छलफलमा एकीकृतका नेता धनश्याम भुसाल र माओवादी केन्द्रका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । 

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सात दलीय सत्ता गठबन्धनमा खटपट भएको संकेत दिएका छन् । सिंहदरवारमा प्रचण्ड र नेपालबीच छलफल चलिरहेका बेला आफ्नै निवास बालकोटमा ‘विश्वशान्ति’ पुस्तक विमोचन गर्दै ओलीले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने सरकारको निर्णयको विरोध गरे । 

'हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई अबदेखि राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्ने समेत दुःखद् निर्णय गर्‍‍याे । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ,’ ओलीले भने ।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेट भएको थियो । उक्त भेटमा पुस १० अघिको पाँच दलीय ब्युताउने अनौपचारिक सहमति भएको थियो । 

राष्ट्रपति निर्वाचनका विषयमा सहमति नहुँदा ओली-प्रचण्डबीच अविश्वास बढ्दै गएको थियो । ओली पूर्व सहमतिअनुसार नै राष्ट्रपति पदको उम्मेदवार एमालेबाटै हुनुपर्ने अडानमा छन् भने प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । पुस १० गते सभामुख तथा राष्ट्रपति एमालेले र प्रधानमन्त्रीमा ओली-प्रचण्डले आलोपालो गर्ने सहमति भएको थियो । 

प्रचण्ड र देउवाबीच पहिला को प्रधानमन्त्री बन्ने विषयमा सहमति हुन नसक्दा पुस १० गते तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको थियो । त्यसपछि प्रचण्डले एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएका थिए ।

वर्तमान सात दलीय सत्तारूढ गठबन्धनमा एमाले, माओवादी, राप्रपासहित जसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी सहभागी छन् । पुरानो गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, जसपा सहभागी थिए । पुरानो समीकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वकाे नेपाल समाजवादी पार्टी पनि सहभागी थियो ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x