दल

राष्ट्रपतिका दुई उम्मेदवारले मतदानपछि के भने ?

इकागज |
फागुन २५, २०७९ बिहिवार १२:२० बजे

काठमाडौँ - नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार बनेका रामचन्द्र पौडेलले राष्ट्रपति बनेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताएका छन् । बिहीबार मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफू समर्पित हुने प्रतिवद्धता जनाए । गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा आफू सचेत रहेकाले सोही अनुसारको व्यवहार हुने उनले बताए । आफू सबैको माया पाएर राष्ट्रपति बन्ने उनको भनाइ छ  । ‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने मेरो उद्देश्य हो । संविधानको अक्षरशः भावनालाई इमान्दारितापूर्वक पालना गर्नेकुरामा आफूलाई समर्पित गर्छु,' उनले भने, 'गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरा म सचेत छु । सबैले माया गरेका छन्, सबैको विश्वासमा रहनेछु ।’ 

यस्तै, नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र जनताको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 
मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू राष्ट्रपतिमा निर्वाचित भए जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने प्रतिवद्धता व्यक्त गरे । 


राष्ट्रपतिको सवारी हुँदा जनताले आफ्नो परिवारको सदस्य आयो भन्ने अनुभुति दिलाउने उनले बताए  । देशको परिस्थिति कठिन रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचनको लागि म एकदमै उत्साहीत छु । विगतको अनुभवलाई ध्यानमा राखेर नयाँ परिपाटी, नयाँ प्रणाली स्थापित गर्नुपर्छ । नयाँ व्यवस्थाअनुसार जनताको छोरा वा छोरी राष्ट्रपति हुन्छ,' उनले भने, 'त्यसैले अब जनताको छोराछोरी राष्ट्रपति भएर हामीले काम गर्नुपर्छ । त्यसैले म सफल रुपमा राष्ट्रपति भएपछि जनताको राष्ट्रपतिको रुपमा काम गर्नेछु । जनताको राष्ट्रपति बनेर जनताको काम गर्ने मेरो कुरा हो । जनताले आफ्नो परिवारको सदस्य आयो भनेजस्तो सहज महसुस हुने सवारी हुनेछु । म सबै दल र सारा नेपालीहरूको साझा उम्मेदवार भएर राष्ट्रपतिको उम्मेदवार बनेको छु । यो देशका सम्पूर्ण राजनीतिक दलहरू एक ठाउँमा उभिनपर्छ ।’
 


Author

थप समाचार
x