दल

उपप्रधानमन्त्री श्रेष्ठले भने - बीआरआई परियोजना सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ छ

इकागज |
चैत २, २०७९ बिहीबार १४:५८ बजे

फाइल फोटो

काठमाडौँ - उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकार चीनको बेल्ट एण्ड रोड (बीआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन दृढ रहेको बताएका छन् । 

सो परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्विकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन नेपाल सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट रे । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो परियोजनाको सफल र शीघ्र कार्यान्वयनमा नेपालको हितमा रहेको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना अन्तरगत नेपालले ठूला पूर्वाधारको विकासमा सहयोग र सहकार्यको अपेक्षा गरेको पनि स्पष्ट पारे । यसका लागि विभिन्न मोडालिटीका विषयमा दुई मुलुकबीच छलफल भईरहेको स्मरण गराउँदै उनले नेपालले त्यसलाईं ठोस निष्कर्षमा पुर्‍याउन चाहेको समेत बताए । 


उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘नेपाल एक चीन नीतिप्रति पूर्ण रुपमा प्रतिवद्ध रहेको कुरा दोहार्‍याउन चाहन्छु । पछिल्लो समयमा विश्व राजनीतिमा भईरहेको अभूतपूर्व परिघटनाहरुलाई हामीले नजिकबाट अध्ययन गरिरहेका छौं । नयाँ विश्व व्यवस्थातर्फ उन्मुख अहिलेको समय अति नै गम्भिर रहेको मैले ठानेको छु । नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले नेपाल–चीन सम्बन्ध पारस्पारिक, मैंत्रीपूर्ण र सुमधुर रहेको पुष्टि गर्दछ । जहाँसम्म आजको कार्यक्रमको विषयसँग सम्बन्धित पक्ष छ । नेपाल विआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिवद्ध रहेको छ । र, हालसम्म केही ढिलाई भएको भएपनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बिआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुनेछ भन्नेमा हामी आशावादी छौं । नेपाल सरकार विआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ । र, अझ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको नेतृत्वको हिसावले विआरआईको सफल र शिघ्र कार्यान्वयन नेपालको हितमा रहेको आत्मासात गर्दै त्यस अन्तरगतको कार्यक्रम र परियोजनाहरुलाई सरकारको तर्फबाट सहयोग र सहजीकरण गरिने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु । ठूला पूर्वाधारको विकासमा विआरआई अन्तरगत सहयोग र सहकार्यको अपेक्षा पनि नेपाल सरकारले गरेको छ । यसका विभिन्न मोडालिटीमा छलफल गर्न हामी तयार छौं । र, विभिन्न तहमा, चरणमा यस अघि छलफल पनि भएका छन । र, अव ठोस निष्कर्षमा हामी पुग्न चाहन्छौं ।’

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टिकरण दिए । उनले चीनबाट नेपालको ठूला पूर्वाधार निर्माणमा देखिएको आर्थिक अभाव पूरा हुने अपेक्षा गरिएको बताए । मुलुकको विकासमा प्रतिकूल असर पर्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा नेपाल नपर्ने उपप्रधानमन्त्री श्रेष्ठको स्पष्टिकरण थियो । 

उनले भने, ‘पूर्वाधार निर्माणमा नेपालमा अहिले रहेका फाईनान्सियल ग्याप पूरा गर्न छिमेकी चीनको भूमिकाप्रति हामी आशावादी छौं । चिनियाँ ऋणको पासोमा पर्न लागेको भन्ने चर्चाका सन्दर्भमा पनि हामी स्पष्ट नै छौं । हामी  नेपालको विकासलाई प्रतिकूल असर पार्ने वा आर्थिक संकट बढाउने कुनै पनि ऋणको पासोमा पर्न चाहने छैनौं, पर्ने छैनौं । र, साथसाथै यस प्रकारको कुनै भ्रमात्मक प्रचारबाट पनि हामी प्रभावित हुने छैनौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध पारस्पारिक, मैंत्रीपूर्ण र सुमधुर रहेको पनि दोहोर्‍याए । नेपालप्रति चीनले व्यक्त गरेको सदभाव र हाम्रो भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताप्रति चीनले गरेको सम्मानले सो दुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको पुष्टि गरेको उनको भनाई थियो । 


Author

थप समाचार
x