दल

'सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक समितिमा पठाएर छलफल हुनुपर्छ'

इकागज |
चैत ४, २०७९ शनिवार १७:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख सचेतक गिरीले संसद्‍मा पेस भइसकेपछि संसद्‍मा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए ।


उनले यसलाई टुंगोमा पुर्‍याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यकता औंल्याए । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसद्‍बाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।

प्रमुख सचेतक गिरीले आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको उल्लेख गरे । उनले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षका रूपमा आफूहरूको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । उनले सो विषयमा आइतबार साढे १० बजे कांग्रेसले बैठक बसेर यसबारेमा आफ्नो धारणा राख्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा बताएको जानकारी गराए ।

प्रमुख सचेतक गिरीले प्रतिनिधि सभा नियमावली अहिलेसम्म संसद्‍मा पेस हुन नसक्दा संसदीय समितिहरू र अन्य काम कारबाहीहरू अघि बढ्न नसकेको बारेमा पनि बैठकमा छलफल भएको बताए । उनले संसदीय गतिविधिलाई मध्यनजर गरी आइतबारको संसद बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए ।


Author

थप समाचार
x