दल

प्रचण्डले पाउन सक्‍छन् १७३ सांसदको मत, को-कसले दिँदैछन् ?

इकागज |
चैत ६, २०७९ सोमबार ९:१७ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हुन् ।


विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरेका छन्, आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने जनाएपछि दलको संख्या ११ पुगेको छ ।

जसअनुसार १० दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी, स्वतन्त्र सांसद अमरेश सिंहलगायतले विश्वासको मत दिने जनाएका हुन् । उता, गठबन्धन बाहिरको रास्वपाले पनि विश्वासको मत दिने आइतबार निर्णय गरिसकेको छ । 

यसैगरी नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारेमा कुनै निर्णय लिएको छैन ।

संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले यसअघि २६ पुसमा संसद्को विश्वास लिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पाउन सक्ने मत
प्रचण्डलाई विश्‍वासको मत दिने निर्णय गरेका ११ दलका सबै सांसदले मत दिए भने १७३ मत पाउनेछन् । जसअनुसार नेपाली कांग्रेसका ८९ मध्ये ८६ मत पाउनेछन् । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित, चन्द्र भण्डारी उपचारका लागि भारतमा रहेको र टेकबहादुर गुरुङमा निलम्बनमा परेपछि कांग्रेससँग ८६ सांसद मात्रै छन् । 

त्यस्तै माओवादीका ३२ मतमध्ये प्रचण्डले ३१ मत पाउनेछन् । माओवादीको ३२ सांसदमध्ये वर्षमान पुन उपचारका लागि चीनमा छन् । त्यसैगरी जनता समाजवादी पार्टी (जसपा)का १२ सांसदमध्ये १० मत मात्रै पाउनेछन् । जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् भने शहनाज रहमानको निधन भएकाले जसपासँग १० सांसद मात्रै छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २० मध्ये १९ मत प्रचण्डले पाउनेछन् । रास्वपा सभापति रवि लामिछाने नागरिकता मुद्धापछि उनको सांसद पद खारेज भएको छ ।  

एकीकृत समाजवादीबाट १०, जनमत पार्टीबाट ६, लोसपाबाट ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४, राष्ट्रिय जनमोर्चाबाट १, स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहबाट २ मत प्रचण्डले पाउँछन् ।

प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद्‌ बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए । विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ ।

र, यो पनि


Author

थप समाचार
x