दल

बालबालिकालाई परीक्षाका नाममा तनाव दिनु हुँदैन : महामन्त्री थापा

इकागज |
चैत १०, २०७९ शुक्रवार २०:५१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा तनाव दिन नहुने बताएका छन् ।
    
साई शिक्षा निकेतन माध्यमिक विद्यालयको वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले बालबालिकालाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुने बताएका हुन् । 

'बालबालिकालाई बाँच्न, नाच्न र हास्न सिकाऔँ, बढी तनाव दिने काम नगरौँ, मेहनत गर्न सिकाऔँ,' उनले भने, 'बालबालिकालाई डर दिने गरी शैक्षिक वातावरण बनाउन हुँदैन ।'


महामन्त्री थापाले बालबालिकालाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने बताए । एक पटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उनको भनाइ छ । 

'साना–साना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हो, बालबालिकालाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्छ,' उनले भने ।


Author

थप समाचार
x